close

मोबाइलमा वायरलेस चार्जरले कसरी गर्छ काम ? यस्तो छ जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

चैत २३, २०७८ १०:३३

मोबाइलमा वायरलेस चार्जरले कसरी गर्छ काम ? यस्तो छ जान्नैपर्ने कुरा

काठमाडाैं । मोबाइल अहिले मानिसको जीवनको अभिन्न अङ्ग बनिसकेको छ । बिहान उठेदेखि बेलुका नसुतेसम्म धेरै प्रयाेग हुने चिजमध्ये मोबाइल पनि एक हो ।

मोबाइल जति सजिलो छ, यसको चार्जिङ त्यति नै झन्झटिलो अनि समय लाग्ने खालको छ । त्यसैले मोबाइलमा चार्ज सकिँदा सबैलाई दिक्क लाग्छ ।

हुन त अहिले धेरै मोबाइलमा फास्ट चार्जिङ सपोर्ट आइसकेको छ । तैपनि मानिसलाई अझ सहज चार्जिङ प्रविधि चाहिरहेको छ । यो अवस्थामा अहिले मोबाइलमा प्रयोग हुन थालेको वायरलेस चार्जिङ टेक्नोलोजीले सहजता ल्याउन सक्छ ।

वायरलेस चार्जिङ टेक्नोलोजी अहिलेको प्रविधि होइन । यो प्रविधि सय वर्षभन्दा पुरानो हो । तर यो प्रविधि व्यवहारमा आउन लागेको भने केही वर्ष मात्र भयो ।

यो प्रविधि प्रयोग गरी विभिन्न विद्युतीय सवारीसाधन, मोबाइल तथा अन्य चार्ज गरेर चल्ने डिभाइसहरु चार्ज गर्न सकिन्छ । यो प्रविधि कन्डक्सन तथा इन्डक्सनको सिद्धान्तमा आधारित छ ।

अहिले विशेषगरी इन्डक्सनलाई आधारित बनाएर मोबाइलका लागि वायरल‍ेस चार्जर बनाइएको छ । वायरलेस चार्जिङ टेक्नोलोजीमा चार्जिङ प्याडभित्र इन्डक्सन कोइल दिइएको हुन्छ, जसलाई पावर सप्लाई दिएपछि यसले इलेक्ट्रो म्याग्नेटिक फिल्ड बनाउँछ ।

जसले मद्दतले चार्जिङ प्याडभित्र भएको कोइलले ब्याट्रीसँग जोडिएको कोइलमा पावर ट्रान्सफर गर्छ । यो प्रक्रिया ब्याट्री फुल चार्ज नभएसम्म कायम रहन्छ ।

ब्याट्री कति छिटो चार्ज हुन्छ भन्ने कुरा मोबाइल र चार्जिङ प्याडको दूरीले पनि निर्धारण गर्छ । यदि दूरी कम छ भने मोबाइल अलि छिटो चार्ज हुन्छ । तर दूरी टाढा हुँदा भने मोबाइल चार्ज हुन समय लाग्छ ।

अहिले बजारमा उपलब्ध फोनमध्ये सामसङका एस २१ सिरिजका फोन, सामसङकै नोट २० सिरिजका फोन तथा वनप्लसका वनप्लस ९ सिरिजका फोनले वायरलेस चार्जिङ सपाेर्ट गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५