close

अब सिमकार्ड लिन नागरिकता र फोटो बोक्नु नपर्ने, लागू हुँदै डिजिटल केवाईसी

टेकपाना टेकपाना

चैत २३, २०७८ १७:५९

अब सिमकार्ड लिन नागरिकता र फोटो बोक्नु नपर्ने, लागू हुँदै डिजिटल केवाईसी

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसीको प्रक्रिया अघि बढाएको छ । दूरसञ्चार सेवा प्रदायकले दिने सेवाका लागि आवश्यक केवाईसी (नो योर कस्टमर) लाई डिजिटाइज्ड गर्ने योजनाका साथ प्राधिकरणले यो प्रक्रिया अघि बढाएको हो ।

त्यसका लागि प्राधिकरणले बुधबार सिस्टम खरिदका लागि अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरेको छ । सिस्टमको डिजाइन, निर्माण, सिस्टममा आवद्ध गराउने, लागू गर्ने, सिस्टम सञ्चालन तथा मर्मत सहितका लागि बोलपत्र आह्वान गरिएको हो ।

दूरसञ्चार सेवा प्रदायकबाट सिमकार्ड खरिद गर्दा प्रयोगकर्ताले झेल्नुपर्ने कागजी झन्झटलाई अन्त्य गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको प्राधिकरणले जनाएकाे छ ।

यो सिस्टम लागू भएसँगै नागरिकता बोकेर सेवा प्रदायकको कार्यालयमा सिमकार्ड लिएर जानुपर्ने व्यवस्थाको अन्त्य हुनेछ ।

त्योभन्दा पनि बायोमेट्रिकमा आधारित केन्द्रीकृत केवाईसी सिस्टम निमार्ण गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको हो । जसमार्फत सिम दर्ता तथा त्यसको प्रमाणीकरणको काम गरिनेछ ।

यो सिस्टम प्राधिकरणमा निर्माण गरिने जनाइएकाे छ । सिस्टममा दूरसञ्चार सेवा प्रदायकको सिस्टम समेत जोडिएको हुनेछ । जसमार्फत सेवा प्रदायकले प्राधिकरणलाई उक्त जानकारी सिस्टमार्फत नै उपलब्ध गराउने छन् ।

यो परियोजना अन्तर्गत सेवा प्रदायक अनुसार छुट्टाछुट्टै रजिस्टर सिस्टम निमार्ण समेत गर्नुपर्ने जनाइएको छ । त्यतिमात्रै नभएर यो सिस्टमले सिमकार्ड सब्स्क्राइबर, पुनः दर्ता,  सिम परिवर्तन, स्वामित्व परिवर्तन, थप सिमकार्ड रजिस्ट्रेसन लगायतका जानकारीलाई समेत सपोर्ट गर्नुपर्ने जनाइएको छ ।

प्राधिकरणको माग अनुसार सिस्टम उपलब्ध गराउन सक्षम कम्पनीले यही अप्रिल २२ तारिखसम्म आवदेन दिन सक्नेछन् । त्यसरी आएको आवेदनका आधारमा कम्पनी छनोट गरी सिस्टम निर्माण तथा जडानको काम हुने उनले प्राधिकरणले जनाएको छ ।

उक्त सिस्टम प्राधिकरणमा जडान हुनेछ भने दूरसञ्चार सेवाप्रदायकको केवाईसी सिस्टमलाई इन्ट्रिगेट गरी एउटै सिस्टममार्फत उपलब्ध हुनेछ । जसको पहुँच सेवाप्रदायकका साथै प्राधिकरणसँग रहनेछ ।

त्यसैका आधारमा ग्राहकले एकपटक आफ्नो केवाईसी भेरिफाई गरेपछि पुनः नागरिकता, फोटो बोकेर केवाईसी भरिराख्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । त्यतिमात्रै नभएर राष्ट्रिय परिचयपत्रसँग जोड्ने गरी यो सिस्टम लागू गर्न तयारी प्राधिकरणले गरेको छ ।

त्यो हुँदा ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बर बुझाएको भरमा कुनै पनि सेवा लिन सक्नेछन् । साथै यसैबाट दूरसञ्चार सेवाप्रदायकको ग्राहक पहिचान गर्न, ग्राहकले लिएका विभिन्न सेवाको पहिचान गर्नसमेत मद्धत पुग्नेछ ।

यसका लागि प्राधिकरणले चालू आर्थिक वर्षको बजेटमा ४० करोड छुट्याएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५