close

टेलिकमका शेयरधनीलाई बोनस र लाभांश वितरण गर्ने प्रस्ताव पारित

टेकपाना टेकपाना

चैत २४, २०७८ १७:३६

टेलिकमका शेयरधनीलाई बोनस र लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहीबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरुलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर रु. २० का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७।७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड अकाउन्टेड महेश गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्तहरु निर्धारण गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको चौधौं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले शेयरधनी महानुभावहरूको अटुट विश्‍वास, उपभोक्ताको भरोसा एवं सद्‍भाव, कम्पनीमा कार्यरत कर्मचारीहरूको अथक परिश्रम र अन्य सरोकारवालाहरूको सहयोगका कारण देशकै अग्रणी दूरसञ्‍चार सेवा प्रदायकको रूपमा कम्पनी स्थापित भएको बताए ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीबाट गरिएका विभिन्न कार्यलाई राष्ट्र निर्माणमा योगदान, सामाजिक क्षेत्रमा योगदान, संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन, व्यावसायिक सफलता, सेवा विस्तार तथा गुणस्तर सुधार, व्यावसायिक रणनीति र संस्थागत सुधार जस्ता विभिन्न शीर्षकमा विभाजन गरी उहाँले विस्तृत रुपमा जानकारी प्रदान गरे ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले कर तथा गैर कर वापत आफ्नो कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम अर्थात् रु.२७ अर्ब ७३ करोड राजस्व दाखिला गरेको छ । यस अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा नेपाल सरकारद्वारा सम्मानित भएको थियाे ।

इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुको साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गरिएको छ ।

स्याटलाइट प्रविधिको समेत प्रयोगद्वारा टेलिकमले विकट हिमाली जिल्लाहरूमा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराएको छ ।

मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरणहरू जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटीई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको छ ।

नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पुर्याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

नेपाल सरकारको नीतिअनुरूप स्थानीय तहको केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक क्याम्पसमा इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिनुका साथै स्थानीय तहहरूमा फोरजी सेवा विस्तार गरिएको छ ।’

यस आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको छ । कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ ।

साथै, कम्पनीको डेटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको छ । यस आर्थिक वर्षमा कम्पनीले डेटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि गरेको छ ।

कम्पनीको ब्रोडब्याण्ड डेटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको छ । यसरी भ्वाइस र डाटा दुवै सेवामा यस कम्पनी नेपाल टेलिकम नेपालको ठूलाे कम्पनी बनेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५