close

नेपाली युवाले बनाए सुपर च्याटसहितको ‘स्ट्रिमर्स ल्यान्ड’, लाइभमा ईसेवा-खल्तीबाटै सहयोग लिन सकिने

हिक्मत आचार्य हिक्मत आचार्य

चैत २५, २०७८ १९:३७

नेपाली युवाले बनाए सुपर च्याटसहितको ‘स्ट्रिमर्स ल्यान्ड’, लाइभमा ईसेवा-खल्तीबाटै सहयोग लिन सकिने

काठमाडौं । नेपाली लाइभ स्ट्रिमरहरूलाई दर्शकले अब ‘सुपर च्याट’को रुपमा नेपालबाटै रकम सहयोग गर्न सक्ने भएका छन् । १९ वर्षीय नेपाली युवा वैवभ आनन्द झाले विकास गरेको साइट स्ट्रिमर्स ल्यान्ड प्रयोग गर्दा नेपाली स्ट्रिमरले दर्शकबाट सोझै सहयोग प्राप्त गर्न सक्नेछन् ।

स्ट्रिमर्स ल्यान्डका संस्थापक झा हाल कम्प्युटर साइन्सका विद्यार्थी हुन् । केही समयअघि ‘बग हन्टिङ’ (आईटी सिस्टममा भएको कमजोरी पत्ता लगाउने तरिका) मा सक्रिय झाले विभिन्न सङ्घसंस्थाबाट पुरस्कृत समेत भइसकेका छन् ।

उनै झाले बनाएको स्ट्रिमर्स ल्यान्ड नेपाली स्ट्रिमरहरू (युट्युव, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट लाइभ गर्नेहरू) का लागि एक उपयुक्त टुल (यन्त्र तथा उपकरण) हुन सक्छ । लाइभ स्ट्रिमरहरूलाई दर्शकले ‘स्ट्रिम ल्याब्स’ वा युट्युवबाटै सुपर च्याटको माध्यमबाट रकम सहयोग गर्न सक्छन् ।

‘सुपर च्याट’ लाइभ स्ट्रिमिङ गर्ने वा हेर्नेहरूमा निकै परिचित शब्द हो । सुपर च्याट वा सुपर स्टिकर त्यस्तो माध्यम हो, जसले क्रियटर र फ्यानलाई लाइभ च्याटका क्रममा जोड्ने काम गर्दछ । दर्शकहरूले कुनै माध्यमबाट सुपरच्याट खरिद गर्न सक्छन् ।

जसको सहयोगमा लाइभ चलिरहेको अवस्थामा क्रियटरको स्क्रिनमा आफूले चाहेको मेसेज हाइलाइटका रूपमा देखाउन सकिन्छ । त्यस्तै लाइभ च्याट फिडमा डिजिटल अथवा एनिमेटेड तस्वीर हेर्नका लागि दर्शकले सुपर स्टिकर खरिद गर्न सक्छन् । स्ट्रिमर्स ल्यान्डले यही सुपर च्याटको काम गर्ने झाको भनाई छ । 

नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली नहुँदा नेपाली स्ट्रिमरहरू ई-सेवा, खल्ती, आईएमई पे जस्ता वालेटबाट रकम प्राप्त गरिरहेका हुन्छन् । तर यसरी रकम सङ्कलन गर्दा दर्शकले सहयोग गरेको रकम सम्बन्धित दर्शक र स्ट्रिमर बाहेक अरूलाई थाहै हुँदैन ।

सहयोग गर्न चाहने दर्शकले कुनै स्ट्रिमरले प्रसारण गरेको लाइभमा आफ्नो नाम र आफूले दिन चाहेको सन्देश देखियोस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा स्ट्रिमर्स ल्यान्ड प्रयोग गर्न सकिन्छ ।

स्ट्रिमर्स ल्यान्ड विशेष गरी स्ट्रिमरहरूका लागि तयार पारिएको झाले बताए । टेकपानासँग कुरा गर्दै उनले भने, ‘अब नेपाली स्ट्रिमरहरूले स्टिमर्स ल्यान्डको सहयोगमा स्थानीय वालेट प्रयोग गरी सुपर च्याटको सुविधा पाउन सक्ने छन् ।’

स्ट्रिमर्स ल्यान्ड प्रयोग गरि सुपर च्याट सङ्कलन गर्न चाहने स्ट्रिमरहरूले सबैभन्दा पहिले स्टिमर्स ल्यान्डको वेब साइटमा गएर साइनअप गर्नुपर्ने हुन्छ । साइनअप गरिसकेपछि उक्त क्रियटर वा स्ट्रिमरको प्रोफाइल तयार हुन्छ । क्रियटरको ड्याशबोर्ड निकै सरल र प्रयोग गर्न सहज रहेको झाले बताए । 

ड्याशबोर्डको तलपट्टि विभिन्न मेनुहरू राखिएका छन् । जसमा सबैभन्दा पहिले होम आइकन, त्यसपछि क्रमशः नोटिफिकेसन, स्ट्रिम, मेम्बरशिप, सेटिङ, एनालिटिक्स र अन्तिममा लग आउट आइकन देख्न सकिन्छ ।

सेटिङमा गएर स्ट्रिमरहरूले आफ्नो नाम, युजरनेम र बायो परिवर्तन गर्न सक्छन् । त्यसैगरी आफ्नो प्रोफाइल फोटो समेत फेर्न सकिन्छ । वेब पेजको तल सोसल लिङ्क सेक्सन छ ।

जसको माध्यमबाट स्ट्रिमरहरूले आफू सक्रिय रहेको सामाजिक सञ्जालका अकाउन्टको लिङ्क गर्न सक्छन् । त्यस्तै त्यहाँ भएका अन्य विकल्पको नाम अनुसार छुट्टाछुट्टै फिचर राखिएका छन् ।

स्ट्रिमरहरूका लागि त्यसमा एक अर्को फिचर पनि छ । जसमा स्ट्रिमर्स ल्यान्डले स्ट्रिमरलाई रेफ्रल कोड उपलब्ध गराउँछ । यदि उक्त कोड प्रयोग गरेर अन्य स्ट्रिमरहरूले स्ट्रिमर्स ल्यान्डमा साइनअप गरेको खण्डमा रेफ्रेल कोड दिने स्ट्रिमरले छ उक्त स्टिमरको आम्दानीको एक प्रतिशत रकम क्यासब्याकको रुपमा फिर्ता पाउँछ ।

यसले नेपाली स्ट्रिमरलाई निकै सघाउ पुग्ने झाको विश्वास छ ।  स्ट्रिमर्स ल्यान्डले सेवा उपलब्ध गराए बापत १२ प्रतिशत कमिसन लिने गर्छ । हाललाई कमिसन शुल्क स्ट्रिमर पिच्छे फरक फरक पनि हुन सक्छ । स्ट्रिमर्स ल्यान्डमा क्रियटरले साइन अप गरिसकेपछि एउटा लिङ्क आउँछ ।

उदाहरणका लागि ‘streamers.support/(क्रियटरको युजर नेम) रहेको लिङ्क देखिन्छ । आफ्नो युजरनेम भएको लिङ्क स्ट्रिमर्सले आफ्नो लाइभ स्ट्रिमिङमा राख्नुपर्ने हुन्छ ।

सुपर च्याट दिन चाहेको दर्शकले क्रियटरले उपलब्ध गराएको लिङ्कमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसमा क्लिक गरिसकेपछि स्ट्रिमर्सको प्रोफाइल पेज खुल्छ ।

त्यसमा आफ्नो नाम, आफूले पठाउन चाहेको रकम र केही मेसेज टाइप गरी पेमेन्ट अप्सन अर्थात कुन माध्यमबाट सहयोग गर्न चाहनु हुन्छ, छान्नु पर्ने हुन्छ । यसमा ईसेवा, खल्ती, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ वा क्रेडिट कार्डलाई विकल्पको रुपमा छनौट गर्ने सुविधा रहेको छ । 

‘कुनै क्रियटरलाई दर्शकले नराम्रा शब्द प्रयोग गरी सुपर च्याट गर्न खोजेको खण्डमा स्ट्रिमर्स ल्यान्ड टिमले स्क्रिनमा पुग्नुअघि नै पहिचान गरी हटाएर सहयोग गरिदिन्छन्’ झाले भने, ‘यसले गर्दा अश्लील मेसेज आउँला कि भनेर क्रियटर डराउनु पर्दैन ।’  

यसबाट हुने कारोबार सबै कानूनी रूपमा सुरक्षित र भरपर्दो हुने उनको दाबी छ । केही महिना अघि यसको परिकल्पनामा काम गरेका झाले गत १९ चैतमा स्ट्रिमर्स ल्यान्ड सार्वजनिक गरेका थिए । त्यसको केही दिनमै २८ भन्दा बढी स्ट्रिमर्स जोडिए । जसमा नाम चलेका नेरो गेमिङ, घन्टा गेमिङ प्रमुख छन् ।

अबको केही दिनमा मेम्बरशिप फिचरमा काम गर्ने झाको योजना छ । यसको अर्थ मेम्बरशिप लिन चाहने ग्राहकले आफूलाई मनपर्ने स्ट्रिमरलाई मासिक रूपमा सहयोग गर्न सक्ने छन् । 

सुपर च्याट विदेशमा निकै लोकप्रिय भएकाले यसले नेपालमा पनि राम्रो बजार लिनसक्ने विश्वास झाले लिएका छन् । यसले गर्दा स्ट्रिमरहरूलाई सहयोग पुग्नेछ । साथै सहयोग गर्न चाहने दर्शकलाई पनि आफूले गरेको सहयोग पारदर्शी हुँदा बेग्लै सन्तुष्टि मिल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५