close

नयाँ वर्षमा नियूका २ विद्युतीय स्कुटर नेपाल भित्रिदै, यस्तो मूल्य र रेन्ज

टेकपाना टेकपाना

चैत २५, २०७८ २२:२२

नयाँ वर्षमा नियूका २ विद्युतीय स्कुटर नेपाल भित्रिदै, यस्तो मूल्य र रेन्ज

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नियू ब्रान्डका दुई नयाँ विद्युतीय स्कुटर नेपाल भित्रिने भएका छन् । केही समय अघि विद्युतीय स्कुटर गोभा जी फाइभ (gova g5)  सार्वजनिक गरेको नियू थप दुई स्कुटर नेपाल ल्याउने तयारी गरेको हो । 

नेपालका लागि नियूको आधिकारिक बिक्रेता इको इन्फिनिटी प्रालिले  आगामी वैशाख १५ गते सम्ममा यूक्यूआईजीटी र एमक्यूआईजीटी गरी दुई इलेक्ट्रिक स्कुटर नेपाली बजारमा आउन लागेको जनाएको छ ।

१२ सय वाटको मोटर राखिएको मोडल यूक्यूआईजीटी स्कुटरमा ४८ भोल्टको ब्याट्री छ । फुल चार्ज गर्न सात घण्टा लाग्ने यो स्कुटरले अधिकतम ७० देखि ८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यस्तै, नियू एमक्यूआईजीटी विद्युतीय स्कुटरमा तीन हजार वाट क्षमताको मोटर जडान गरिएको छ । ४८ भोल्टको दुई ओटा ब्याट्री प्याकका साथ आउने यो स्कुटरले एक पटक पूर्णरुपमा चार्ज गर्दा अधिकतम ९० देखि १३० किलोमिटर रेन्ज प्रदान गर्दछ ।

४५ किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्ने नियू यूक्यूआईजीटीको मूल्य नेपाली बजारमा दुई लाख ४५ हजार रुपैयाँ पर्ने छ भने ८० किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्ने नियू एमक्यूजीटीको मूल्य चार लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

दुई साताअघि मात्रै सार्वजनिक भएको नियू गोभा जी फाइभ प्रति उपभोक्ताको उत्साहजनक चासो रहेको कम्पनीको भनाई छ । तीन हजार वाट क्षमताको  मोटर जडान भएको यो स्कुटरले ८५ किलोमिटर प्रति घण्टाको उच्च गतिमा अधिकतम ८५-१०० किलोमिटरको रेन्ज दिन्छ ।

फुल चार्ज हुन ६.५ घण्टा लाग्ने यो स्कुटरको मूल्य तीन लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म पहिलो चरणमा दश युनिट र पछिलो पटक २८ युनिट गरी कूल ३८ युनिट स्कुटरको बिक्री गरिसकेको छ । त्यस्तै, अहिलेका लागि नियू गोभा जी फाइभको बुकिङ सीमित गरिएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५