close

सामाजिक सञ्जालको आडमा मौलाउँदै छ अपराध

हिक्मत आचार्य हिक्मत आचार्य

चैत २६, २०७८ १५:७

सामाजिक सञ्जालको आडमा मौलाउँदै छ अपराध

काठमाडौं । प्रविधिको विकाससँगै विभिन्न सामाजिक सञ्जालको प्रयोग दिनानुदिन बढ्दो छ । यसको प्रयोगले जति हाम्रो दैनिकी सरल भएको छ, त्यति नै नकारात्मक असर देखिन थालेकाे छ ।

अहिले विश्वभर सामाजिक सञ्जालको प्रयोग सामान्य बनिसकेको छ । यसलाई प्रयोग गर्ने सबैका आ-आफ्नै रहर, बाध्यता र परिस्थिति हुन सक्छन् । बाध्यता यसर्थमा कि, जब तपाईंलाई कुनै सामाजिक सञ्जाल प्रयोग गर्न मनै छैन । तर, आवश्यक महत्वपूर्ण जानकारी त्यसैमा आउने गर्छन् । त्यसको विकल्पमा अन्य केही नभेटाउँदा सामाजिक सञ्जाल प्रयोग गर्न बाध्य भइन्छ ।

हामीमध्ये कतिपय आफ्नो फुर्सदिलो समय बिताउन सामाजिक सञ्जालमा सक्रिय हुने गर्छौं । तर, समय बित्दै गएपछि त्यसैमा बढी लगाव हुँदै जान्छ । त्यसपछि सामाजिक सञ्जालको लत लाग्न थाल्छ । लत लागेपछि छुटाउन कसैलाई सहज हुन्छ भने कसैलाई सकस पर्छ ।

तर, लतभन्दा पनि यसको गम्भीर विषय अपराधसँग जोडिन्छ । सामाजिक सञ्जालकै कारण कति मान्छे आत्महत्या गर्न विवश भइरहेका छन् । कतिको घरबार बिग्रिएकाे छ ।

कत्तिको सामाजिक प्रतिष्ठामा आँच आउँछ भने कति बेघरबार हुन्छन् ।

सामाजिक सञ्जालका जतिसुकै सकारात्मक पक्षको चर्चा गरे तापनि भित्रभित्रै यसले हामीलाई कुनै न कुनै रूपमा खोक्रो बनाइरहेको छ । सामाजिक सञ्जाल आफैंमा गलत त पक्कै होइन । यसलाई प्रयोग गर्ने नजान्दा हाम्रा सामु गलत परिणाम छताछुल्ल देखिएका छन् ।

हामीले बुझेको यसको परिभाषा गलत हो, जुन कामका लागि सामाजिक सञ्जाल बनाइएको हुन्छ, त्यसैलाई त्यसरी नै प्रयोग गर्दा राम्रो हो । तर, अहिले सामाजिक सञ्जाललाई नै सबथोक माने प्रवृत्ति देखिएकाे छ । कतिपय आपराधिक कामका लागि मानिस सामाजिक सञ्जालकै आड लिन्छन् ।

यसका बारेमा बेलैमा बुझ्न सके हामी यस्ता आपराधिक क्रियाकलापबाट आफू, आफ्नाे परिवार र समाजलाई टाढा राख्न सक्छौं ।

नेपालमा सामाजिक सञ्जालबाट विशेषगरी महिला र बालबालिका बढी पीडित भएको देखिन्छ । सामाजिक सञ्जाललाई मानिसले कसरी दुरुपयोग गरेका हुन्छन् भन्ने कुरा बुझाउन नसक्दा महिला तथा बालबालिका पीडित भइरहेका छन् ।

गत शनिबार जिल्ला प्रहरी कार्यालय रामेछापले सुनसरीका २९ वर्षीय एक युवकलाई बलात्कार गरेको आरोपमा पक्राउ गर्याे ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार उनले रामेछापकी ३५ वर्षीया विवाहित महिलालाई होटलमा खाजा खान बोलाएर बलात्कार गरेका थिए ।

यसमा सामाजिक सञ्जालको दुरुपयोग कसरी हुनसक्छ भन्ने कुरा आउन सक्छ । सामाजिक सञ्जालमा जोडिनुअघि उनीहरू एक अर्काका लागि अपरिचित थिए ।

फेसबुकमा साथी भइसकेपछि उनीहरूबीच दिनानुदिन कुरा हुन थाल्यो । सामान्य चिनजानपछि खाजा खानेगरी भेटघाट गर्नेसम्मकाे योजना बन्यो ।

पछि ती युवकले महिलालाई बन्धक बनाई बलात्कार गरे । यदि घटना बाहिर ल्याए मार्ने धम्की दिएर उनी फरार भए । घटना भएको पाँच दिनपछि जिप्रका रामेछापमा ती महिलाले उजुरी दिइन् ।

उजुरी दिएपश्चात् प्रहरीले ति युवकलाई पक्राउ गरेर थप अनुसन्धानका प्रहरी हिरासतमा राखेको छ ।

तपाईंसँग फेसबुकमा जोडिन आउने सबै तपाईंलाई चिनेर आएका हुँदैनन् । जोडिन आएका सबैको स्वार्थ साथी बन्ने पनि हुँदैन । त्यसमा कस्ता सोच भएका मानिस हुन्छन् भन्ने कुरा आफैंले बेलैमा विचार गर्नुपर्ने हुन्छ । वा आफूले चिनेका नजिकका मान्छेलाई उसका बारेमा सोध्न सकिन्छ ।

प्रारम्भिक खोज अनुसार सामाजिक सञ्जालबाट किशोरावस्थाका बालिका पीडित हुने गरेको पाइएको छ । विपरित लिङ्गतर्फ आकर्षण हुने यस उमेर समूहका बालिकाहरू प्रेममा पर्न जान्छन् । र, शारीरिक तथा मानसिक रूपमा शोषित हुन पुग्छन् ।

त्यति मात्र नभई रचनात्मक क्रियाकलापमा बढी सक्रिय हुनुपर्ने बालबालिका प्रेममा पर्छन् । जसले गर्दा समयको बर्वादी त छँदै छ, साथसाथै उनीहरूको भविष्य पनि अन्योलमा पर्छ । त्यसबाट हुने विभिन्न तनावले उनीहरूको कलिलो मानसिकतामा गम्भीर असर पर्न जान्छ ।

सामाजिक सञ्जालको प्रयोगबाट हुने गरेका आपराधिक घटनाले गाउँदेखि सहरसम्म जालो फैलाएका छन् ।

परिवारको खर्च धान्न विदेश गएका युवा स्वदेश फर्किँदा श्रीमती नै फरार हुनेसम्मका घटना पनि सामाजिक सञ्जालकाे गलत प्रयाेगका कारण भइरहेकाे छ ।

कतिपयले अरूको घरबार बिगारिरहेका हुन्छन् भने कतिपयले अरूको जिन्दगी नै धरापमा पारेका हुन्छन् ।

गाउँघरका सोझा युवतीलाई फेसबुक लगायतका माध्यमबाट साथी बनाई प्रेमजालमा पार्ने र विदेशमा बेच्नेसम्मका घटना पनि भएका छन् । सुन्दर भविष्य बनाउन राम्रो मान्छेसँग बिहे गर्ने आशमा धेरै किशाेरी र युवतीहरू बेचिन पुगेका छन् ।

घटना एउटै प्रकारको हुने भए पनि उनीहरूलाई प्रलोभनमा पार्ने शैली मान्छेपिच्छे भिन्न हुने गर्छ । यसकारण सामाजिक सञ्जालका हर प्रयाेगकर्ता सचेत हुन आवश्यक छ ।

सामाजिक सञ्जालको दुरुपयोगबाट हुने घटना यतिमा मात्र सकिँदैनन् । सामाजिक सञ्जालबाट जोसुकै एकअर्कासँग जोडिन मिल्ने हुने भएकाले यसबाट गैरकानूनी काम फैलिरहेका हुन्छ  । जस्तै लाेपाेन्मुख वन्यजन्तु तथा लागू औषधको कारोबार तथा ओसारपसारका घटना पनि हामीले बेलाबखत देखिरहेकै छाैं ।

अपराध जुनसुकै विषयसँग सम्बन्धित भएपनि सामाजिक सञ्जालले एउटा पुलको काम गरेको छ ।

त्यस्तै केही वर्षदेखि ठगीका काम पनि बढ्दै गएका छन् । म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमाे लगायतका माध्यमबाट केही रकम चिठ्ठा परेको भनी विभिन्न प्रक्रियाका लागि बैङ्क अकाउन्ट माग्ने, केही रकम ट्याक्सका रूपमा तिर्नुपर्ने भन्दै विश्वस्त बनाउँछन् ।

बैङ्कको अकाउन्ट नम्बर र फोनमा आएको ओटीपी कोड मागी बैङ्कमा भएको सम्पूर्ण रकम आफ्नो खातामा ट्रान्सफर गर्छन् ।

त्यस्तै अन्य व्यक्तिका सामाजिक सञ्जाल ह्याक गरी उनीहरूका व्यक्तिगत जानकारी सार्वजनिक गरिदिने घटना पनि थुप्रै छन् । सामाजिक सञ्जाल ह्याक गरी उनीहरूका आफन्तसँग पैसा माग्ने गरेका समाचार पनि बेलाबखतमा आइरहन्छन् ।

सबै अपराधमा सामाजिक सञ्जाल पहिलो प्राथमिकतामा नपरे पनि कुनै न कुनै रूपमा यसकाे प्रयोग भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५