close

कुकिज के हो, अनि यसलाई एक्सेप्ट गर्दा वा नगर्दा के हुन्छ ?

टेकपाना टेकपाना

चैत २७, २०७८ १६:४०

कुकिज के हो, अनि यसलाई एक्सेप्ट गर्दा वा नगर्दा के हुन्छ ?

काठमाडौं । सामान्यतया हामीले कुकिज अथवा बिस्कुटलाई आतिथ्यता अथवा खाजाको रुपमा प्रयोग गरिरहेका हुन्छौँ । तर त्यस्ता केही कम्प्युटर फाइलहरूलाई पनि कुकिज नै भनिन्छ, जुन तपाईँको जीवनमा निकै महत्त्व राख्दछन् । कम्प्युटरमा रहेको साधारण ‘टेक्स्ट फाइल’ कुकिजको आधारभूत भर्सन हो ।

जब तपाईँ कुकिज प्रयोग गर्ने वेबसाइट भिजिट गर्नुहुन्छ, त्यससँगै तपाईँको कम्प्युटर, म्याक, फोन अथवा ट्याब्लेटमा एउटा कुकिज फाइल सेभ हुन्छ ।

जसमा वेबसाइटको नाम र तपाईँलाई पहिचान गर्ने एउटा युनिक आईडी समेत हुन्छ । यसरी जब तपाईँ पुनः उक्त वेबसाइटमा जानुहुन्छ, त्यसपछि उक्त वेबसाइटले तपाईँ पहिले पनि प्रवेश गर्नु भएको थियो भन्ने थाहा पाउँछ ।

यसको अर्थ कम्पनीहरूले आफ्नो वेबसाइटलाई तपाईँ अनुकूल बनाउन सक्छन्, किन भने उनीहरूले तपाईँको बारेमा केही जानकारी पहिले नै थाहा पाइसकेका हुन्छन् । 

कुकिजले कस्तो प्रकारको जानकारी राख्न सक्छ ? 

हरेक कुकिजमा वेबसाइटको नाम र तपाईँको लागि एउटा आईडी त रहेकै हुन्छ । तर केही वेबसाइटले तपाईँको कम्प्युटरमा अन्य प्रकारका सूचना तथा जानकारी समेत स्टोर गरेर राख्छन् । उदाहरणका लागि कुकिजमा निम्न सूचना तथा जानकारी रहेन सक्छन् । 

-तपाईँले वेबसाइटमा बिताएको समय । 

-वेबसाइट प्रयोग गर्दा तपाईँले क्लिक गरेका लिङ्क । 

-तपाईँले छनौट गरेका अप्सन, प्राथमिकता र सेटिङ ।

-तपाईँले लगइन गरेको अकाउन्ट । 

-तपाईँले विगतमा भिजिट गरेका पेजहरू । 

-शपिङ बास्केटमा रहेका चिजबिजहरू । 

उदाहरणको लागि एउटा शपिङ साइटले तपाईँले चेकआउट गर्नु अघि भर्चुअल बास्केटमा राखेका चिजबिजहरू सम्झिनका लागि कुकिजको प्रयोग गर्दछन् ।

अर्कोतर्फ सामाजिक सञ्जालले तपाईँले क्लिक गरेका लिङ्कहरू स्टोर गर्नका लागि कुकिज प्रयोग गर्न सक्छ र जसलाई पछि गएर तपाईँका लागि थप सान्दर्भिक र रोचक लिङ्क देखाउने कार्यका लागि प्रयोग गर्न सक्छन् ।

सामान्यतया प्रयोगकर्ताको अनुभव सुधार गर्न कुकिजको प्रयोग हुने गर्छ । तर गोपनीयताका पक्षधरहरूले प्रयोगकर्ताको ब्राउजिङ व्यवहार लगायत कुनै पनि सूचना स्टोर गर्न नमिल्ने वकालत गर्दै आएका छन् । 

किन महत्त्वपूर्ण बन्दैछ कुकिज ? 

युरोपियन युनियनको जीडीपीआर नीति बाध्यकारी भएसँगै कुकिज नोटिफिकेसन नियमित हुन थालेको छ । छोटकरीमा भन्नुपर्दा कम्पनीहरूले तपाईँको बारेमा डेटा सङ्कलन गर्नुअघि तपाईँसँग स्पष्ट सहमति लिनुपर्ने हुन्छ ।

यदि कुकिजले तपाईँको उपकरणको सहयोगमा तपाईँलाई पहिचान गर्छ भने (जुन अधिकांश कुकिजले गर्दछन्), त्यसका लागि कम्पनीले तपाईँको सहमति लिनुपर्ने हुन्छ । त्यसैले अनेकौँ वेबसाइटले तपाईँको कम्प्युटर तथा मोबाइलमा कुकिज थुपार्नु अघि तपाईँको अनुमति मागि रहेका हुन्छन् । 

के तपाईँले कुकिज एसेप्ट गर्न जरुरी छ ? 

पक्कै पनि जरुरी छैन । यदि कुनै कुकिले तपाईँलाई पहिचान गर्न सक्छ भने तपाईँले पूर्णतयाः त्यस्तो कुकिलाई अस्वीकार गर्न सक्नुहुन्छ ।

अनेकौँ कानून अनुसार ठूलो जरिवाना हुने भएकाले वेबसाइटहरूले कुकिजका लागि तपाईँको अनुमति मागिरहेका हुन्छन् । त्यसैले यदि तपाईँ आफ्नो बारे जानकारी रहेको कुकिज स्टोर अथवा सञ्चय गर्न चाहनुहुन्न भने सोझै नकार्न सक्नुहुन्छ । 

कुकिज एसेप्ट नगरे के हुन्छ ?

यदि तपाईँले कुकिज एसेप्ट गर्नु भएन भने केही कम्पनीहरूले आफ्नो वेबसाइट प्रयोग गर्न नदिन सक्छन् । खासगरी जीडीपीआर कार्यान्वयनमा आइसकेपछि केही वेबसाइटले प्रयोगकर्तालाई कुकिज अनुमति बिना पहुँच दिन बन्द गरेका छन् । किन भने केही वेबसाइटले कुकिज बिना अपेक्षित रुपमा काम गर्न सक्दैनन् ।

तर तपाईँले कुकिज स्वीकार नगर्दा समेत बहुसङ्ख्यक वेबसाइट तथा इन्टरनेट प्रयोग गर्न सक्नुहुन्छ । निश्चित रुपमा कुकिज एसेप्ट गर्दाका केही फाइदा पनि छन् ।

यसमा तपाईँले थप उपयुक्त सामग्रीको साथमा आफू अनुकूल अनुभव प्राप्त गर्न सक्नुहुन्छ । त्यसैले साधारणतया यदि तपाईँ आफ्नो गोपनीयताको विषयमा भयभीत हुनुहुन्न भने कुकिज एसेप्ट गर्नुको अर्थ पनि छ ।  

कसरी डिलिट गर्ने कुकिज ? 

कुकिज तपाईँकै कम्प्युटरमा स्टोर गरिने भएकाले तपाईँले त्यसलाई डिलिट गर्न सक्नुहुन्छ । त्यसका लागि आफ्नो इन्टरनेट ब्राउजरको सेटिङमा जानुहोस् र हिस्ट्री सेक्सनमा प्रवेश गर्नुहोस् ।

साधारणतया त्यहाँ तपाईँले कुकिज डिलिट गर्ने विकल्प पाउनु हुनेछ । यहाँबाट तपाईँले आफ्नो मोबाइल वा कम्प्युटरमा केही स्पेस खाली गर्दै त्यसमा रहेका सबै कुकिज डिलिट गर्न सक्नुहुन्छ ।

यसो गर्दा अधिकांश वेबसाइटबाट तपाईँ लगआउट हुनु हुनेछ र केही वेब पेज सामान्यभन्दा लिक भिन्न देखिन सक्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४