close

स्मार्टफोनको डिस्प्लेमा रिफ्रेस रेटको काम के हो ?

टेकपाना टेकपाना

चैत २८, २०७८ २२:५०

स्मार्टफोनको डिस्प्लेमा रिफ्रेस रेटको काम के हो ?

काठमाडाैं । डिस्प्लेमा धेरै पिक्सेलहरु रहेका हुन्छन् र यही पिक्सेलले प्रति सेकेन्ड कति पटक आफ्नो कलरलाई परिवर्तन गर्न सक्छ भन्ने कुरा नै रिफ्रेस रेट हो । रिफ्रेस रेटलाई हर्जमा लेखिएको हुन्छ ।

यदि कुनै मनिटर तथा मोबाइलमा ७५ को रिफ्रेस रेट लेखिएको छ भने यसको मतलब यसले एक सेकेन्डमा ७५ पटक पिक्सेल रिफ्रेस गर्छ भन्ने बुझिन्छ । कति मानिसहरु एफपीएस (FPS) र रिफ्रेस रेटमा झुक्किरहेका हुन्छन् ।

६० हर्ज रिफ्रेस रेट लेखिएको कुनै पनि डिभाइसमा तपाईंहरुले १२० एफपीएस पाउन सक्नुहुन्न । किनकि ६० हर्ज लेखिएको कुनै पनि डिभाइसले एक सेकेन्डमा ६० फ्रेम मात्र पास गर्न सक्छ, त्यसैले ६० हर्ज लेखिएको डिभाइसमा तपाईंहरुले ६० वा सोभन्दा कम मात्र एफपीएस पाउन सक्नुहुन्छ ।

अब कुरा गरौं धेरै रिफ्रेस रेटका लागि कुन-कुन कुराले प्रभाव पार्छः

  • सबैभन्दा पहिले तपाईंको डिस्प्ले तथा मनिटरले कति हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ भन्ने कुराले रिफ्रेस रेट निर्धारण गर्छ ।
  • सीपीयूले छिटो छिटो र्‍यान्डरिङ तथा प्रोसेसिङ गर्न सक्यो भने रिफ्रेस रेट धेरै पाउन सक्छौं । यदि सीपीयूले ढिला काम गर्छ भने धेरै हर्जको डिस्प्ले तथा मोनिटरले क्षमता अनुरुप काम गर्न सक्दैन ।
  • जीपीयू स्लो भयो भने ग्राफिकल प्रोसेसिङ गर्न समय लगाँउछ । यस्तो हुँदा जीपीयूबाट जानकारी डिस्प्ले तथा मनिटरमा जान समय लाग्छ र हामीले अपेक्षाकृत रिफ्रेस रेट पाउन सक्दैनौं ।

डिस्प्ले तथा मनिटर तब मात्र आफ्नो क्षमता अनुरुप काम गर्छन्, जब सीपीयू र जीपीयूले छिटोभन्दा छिटो आफ्नो काम सम्पन्न गर्छन् ।

त्यसैले यदि तपाईं आफ्नो कम्प्युटरमा सोचे अनुरुप एफपीएस र रिफ्रेस रेट चाहनुहुन्छ भने पहिला आफ्नो डिभाइसको क्षमता बुझ्नुहोस् । अनि मात्र आफ्नो कम्प्युटरको मनिटर तथा सीपीयू र जीपीयू् परिवर्तन गर्नुहोस् ।

अहिले धेरै कम्प्युटर तथा मोबाइलमा रिफ्रेस रेट परिवर्तन गर्नसक्ने सुविधा रहेको छ । जहाँबाट तपाईंहरुले घटाउन तथा बढाउन सक्नुहुन्छ । तर ख्याल गर्नुपर्ने कुरा रिफ्रेस रेट बढाउदा ब्याट्री पनि छिटो सकिने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४