close

‘स्लिप ट्रयाकर’ ले कसरी मापन गर्छ तपाईँको निन्द्रा ? थाहा पाइराख्नुहोस् यसले काम गर्ने तरिका

टेकपाना टेकपाना

बैशाख १, २०७९ २२:५२

‘स्लिप ट्रयाकर’ ले कसरी मापन गर्छ तपाईँको निन्द्रा ? थाहा पाइराख्नुहोस् यसले काम गर्ने तरिका

काठमाडौं । हामी अङ्क अर्थात् सङ्ख्याको पछि दगुर्ने संस्कृति प्रति निकै लालायित छौँ, पाइलाको सङ्ख्या, खर्च भएको क्यालोरी, निन्द्रामा विताएका घण्टाको सङ्ख्या ।

यस किसिमको रुचि र हाम्रो समग्र स्वास्थ्य सुधार गर्ने चाहनाका बावजुत के तपाईँलाई थाहा छ, ‘स्लिप ट्र्याकिङ’ (निन्द्रा ट्रयाक गर्ने प्रविधि) ले कसरी काम गर्छ ? अनि अर्को कुरा के हामीले यी ट्र्याकरहरूलाई सही रूपमा प्रयोग गरिरहेका छौँ ? 

स्लिप ट्र्याकरले कसरी मापन गर्छ निन्द्रा ? 

स्मार्ट बेड, वेयरेबल र नेस्ट हबको स्लिप सेन्सिङ फिचर गरी अनेक स्वरूपमा स्लिप ट्र्याकर आउने गर्दछ ।

यस किसिमको विविधताका बावजुत अधिकांश समान फिचरको संयोजनमा सञ्चालन हुने गर्दछन्ः एक्सिलेरोमिटरले शरीरको चाल मापन गर्छ, मुटुको धड्कन नाप्न हर्ट रेट सेन्सर र कहिलेकाहीँ तापक्रम नाप्ने सेन्सर पनि प्रयोगमा आउँछ ।

फिटबिट जस्ता केही वेयरबेल डिभाइस मुटुको प्रत्येक धड्कन ट्रयाक गर्न सक्षम हुन्छन् । जब तपाईँ निदाउनु हुन्छ, तब मुटुको चाल आराम गर्दाको अवस्थामा रहने तल्लो तहमा झर्छ । यद्यपि तपाईँ कस्तो सपना देख्दै हुनुहुन्छ भन्ने आधारमा मुटुको धड्कन निकै तलमाथि हुन सक्छ ।

यी सबै कारकलाई मसिन लर्निङ एल्गोरिदमको सहयोगमा संयोजन गरिन्छ । यसरी विभिन्न भेरियबल अर्थात चरको विश्लेषण गरिन्छ र तपाईँको निन्द्राको अङ्क निकालिन्छ ।

नेस्टले भने केही थोरै फरक तरिकाले काम गर्दछ । सेन्सरसँगको भौतिक सम्पर्क डेटा सङ्कलन गर्ने एउटा तरिका हो, तर यो एकमात्र भने होइन ।

तपाईँको शरीरले त्यसको आन्तरिक प्रक्रियाको प्रतिविम्ब तपाईँको छालामा उतार्दछ । पक्कै पनि तपाईँले महसुस गरेकै हुनुपर्छ कि जब तपाईँ चिन्तित हुनुहुन्छ, त्यतिखेर छातीमा मुटु ढुकढुक गर्न थाल्छ ।

मुटु आफैँमा मांसपेशी हो र यसले मुटुको हरेक धड्कनको झड्का शरीर मार्फत् पठाउँछ । शान्त रहँदाको अवस्थामा समेत एउटा उपयुक्त उपकरणको सहयोगमा यस्तो झड्का पहिचान गर्न सकिन्छ ।

नेस्ट हबको स्लिप सेन्सिङ फिचरले ‘सोली’ प्रयोग गर्दछ, यो सानो राडार सेन्सरले शरीरभित्र रहेका सब-सेन्टिमिटर चाल समेत पत्ता लगाउन सक्छ ।

यो ‘लो-फ्रिक्वेन्सी’ राडारले तपाईँलाई नछोएरै तपाईँको निन्द्राको ढाँचालाई ट्रयाक गर्न सक्छ । घडी वा ब्यान्ड जस्तो लगाउनु नपर्ने हुँदा मानिसहरूका लागि यो एउटा छुट्टै फाइदाको कुरा पनि हो ।

सोलीले लुगा कपडा अथवा कुसन तथा सिरानीको माध्यमबाट समेत काम गर्न सक्छ, त्यसैले यसको प्रयोग गर्न शरीरमै टाँसेर राख्नुपर्ने बाध्यता हुँदैन । त्यसपछि यसले डेटा सङ्कलन गर्दछ र आफ्नै एल्गोरिदमको सहयोगमा त्यसलाई विश्लेषण गर्दछ । 

कति वास्तविक हुन्छन् स्लिप ट्रयाकर ? 

सबै स्लिप ट्रयाकरले एउटै एल्गोरिदममा काम गर्दैनन्, त्यसैले सत्यता पनि फरक पर्न सक्छ । यसबाहेक तपाईँले मानवीय कारकलाई समेत विचार गर्नुपर्ने हुन्छ । मेडिकल ग्रेडको पोलिसोम्नोग्राफिक प्रविधि जडान गरिएको स्लिप क्लिनिकमा करिब ९५ प्रतिशत सत्यता (एक्योरेसी) हुन्छ ।

व्यक्तिपिच्छे हुने भिन्नताले पनि पाँच प्रतिशत फरक पार्दछ । जसले निदाउने वास्तविक तरिका घोषणा गर्न असम्भव बनाउँछ । फिटबिटका डाक्टर कोनर हेनिघनका अनुसार फिटबिटको एक्योरेसी मोटामोटी ७० देखि ८० प्रतिशतको औषतमा छ ।

प्रयोगकर्ताले नाडीभन्दा केही माथि लगाउँदा एक्योरेसी अझ राम्रो हुने उनको भनाई छ ।  फिटबिट स्लिप ट्रयाकिङ प्रविधि बनाउने पहिलो मध्येको एक कम्पनी हो । फिटबिटले आफ्नो वेयरेबल डिभाइस परीक्षण गर्न चार अर्ब रातको कूल डेटालाई विश्लेषण गर्दछ ।

यस्तै नेस्ट हबको डिटेक्सन सिस्टमले ८७ प्रतिशत एक्योरेी दिने कम्पनीको ह्वाइट पेपरमा उल्लेख छ । यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने स्लिप ट्रयाकर कुनै रोग निदान गर्ने प्रयोजनका लागि बनाइएका भने होइनन् ।

डाक्टरले तपाईँको रोग निदान गर्न अथवा निन्द्राको अनियमितताका लागि फिटबिट, स्मार्ट वाच अथवा ब्यान्डको डेटा प्रयोग गर्ने छैनन् । यस्ता ट्रयाकरको उपयोगिता तपाईँको शरीरको ढाँचामा केन्द्रित रहेर व्यक्तिगत डेटा प्रदन गर्नु र तपाईँको बानी व्यवहारको जानकारी उपलब्ध गराउनु मात्रै हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४