close

नेपालमा विद्युतीय सवारी : कहाँबाट कति हुन्छ आयात ?

टेकपाना टेकपाना

बैशाख २, २०७९ १६:१०

नेपालमा विद्युतीय सवारी : कहाँबाट कति हुन्छ आयात ?

काठमाडौँ । नेपालमा पछिल्लाे समय विद्युतीय सवारीसाधन धेरैको आकर्षणको विषय बनेको छ । पछिल्लो समय विद्युतको खपत पर्याप्त मात्रामा नहुँदा र आकासिदो इन्धनको मूल्यको उत्कृष्ट विकल्पको रुपका विद्युतीय सवारीसाधनलाई लिने गरिएको छ ।

त्यसमा पनि सरकारले डिजिटल नेपाल र विद्युतीय सवारी साधनमैत्री बनाउन ल्याएको नीति र भन्सार छुटको व्यवस्थाले विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन पुगेको छ । जसको नतिजास्वरूप विद्युतीय सवारीसाधनप्रति चासो बढेको देखिन्छ ।

विद्युतीय सवारीसाधनमा उपलब्ध हुने ब्याट्री क्षमता, वातावरणमैत्री फिचर तथा अन्य सुविधाका कारण विद्युतीय सवारीसाधनको माग उल्लेख्य मात्रामा हुने गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा चालू आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको अवधिमा चार अर्ब ५० करोड ३१ लाख ९ हजार रुपैयाँ मूल्य बराबरको ६ हजार ८२१ युनिट विद्युतीय सवारी साधन आयात भएकाे छ ।

आ.व. ७७/७८ काे साेही अवधिमा ३६ करोड ७८ लाख ७८ हजार रुपैयाँ बराबरको दुई हजार २९० युनिट विद्युतीय सवारीसाधन आयात भएका थिए । उक्त आर्थिक वर्ष (१२ महिना) मा कूल एक अर्ब तीन करोड छ लाख ७३ हजार रुपैयाँ मूल्य बराबरका चार हजार ४९९ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए ।

नेपालमा पछिल्लो समय किया, टाटा, बीवाईडी लगायत १५ बढी ब्राण्डका विद्युतीय कार उपलब्ध छन् । त्यस्तै, मोटरसाइकल, स्कुटर लगायतका दुई र तिन पाङ्ग्रे विद्युतीय सवारी साधनका ब्राण्ड उल्लेख्य मात्रामा रहेका छन् ।

नेपाली बजारमा चीन, भारत, कोरिया, अमेरिका, फ्रान्स, जापान लगायतका विभिन्न देशबाट विद्युतीय सवारी साधन आयात हुने गरेको छ ।

नेपालमा बिक्री हुने विद्युतीय कार, भ्यान लगायतका अन्य सवारीसाधनमा सबैभन्दा बढी चिनियाँ ब्राण्ड रहेको भन्सार विभागको तथ्यांकले जनाउँछ ।

तथ्यांक अनुसार चालू आर्थिक वर्षमा दुई अर्ब ६२ करोड ४८ लाख ५५ हजार रुपैयाँ बराबरको चार हजार ७३३ युनिट सवारीसाधन चीनबाट आयात भएको छ ।

दुईपांग्रे र तीनपांग्रे सवारीसाधन पनि बढी चीनबाट आयात भएको तथ्यांकले जनाउँछ ।

चालू आ.व. ७८/७९ को ८ महिनाको अवधिमा भारतबाट एक अर्ब २० करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको एक हजार ९१२ युनिट विद्युतीय सवारी साधन भित्रिएको छ भने दक्षिण कोरियाबाट ४९ करोड ८० लाख ८५ हजार रुपैयाँको १३२ युनिट, अमेरिकाबाट छ करोड २४ लाख पाँच हजार रुपैयाँ बराबरका १५ युनिट, जापानबाट १० करोड ८८ लाख रुपैयाँ बराबरको २८ युनिट र फ्रान्सबाट ३४ लाख ६२ हजार मूल्यको २८ युनिट विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

सोही अवधिमा आ.व. ७७/७८ मा चीनबाट २४ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरका एक हजार ६९८ विद्युतीय सवारी साधन भित्रिएको छ भने भारतबाट नाै करोड नाै लाख ९८ हजार रुपैयाँ बराबरका ५८३ युनिट,  दुई  करोड १५ लाख २४ हजार रुपैयाँ बराबरका छ युनिट र अमेरिकाबाट एक करोड २४ लाख ८१ हजार रुपैयाँ बराबरको तीन युनिट विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको अवधिको तुलनामा चालू आर्थिक वर्षमा चार अर्ब १३ करोड ५२ लाख ३१ हजार रुपैयाँ बढीको विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा ०७८/७९ मा चीनबाट मात्रै ९६ करोड २९ लाख ८० हजार रुपैयाँ बराबर बढी विद्युतीय सवारीसाधन आयात भएका छन् ।

कति क्षमताका कति गाडी छन् ?
नेपाली बजारमा विभिन्न ब्राण्डका फरक-फरक मोटर क्षमताका विद्युतीय सवारीसाधन सार्वजनिक हुँदै आएका छन् ।

पछिल्लो समय न्यूनतम १७ किलोवाटदेखि १०० किलोवाटसम्म र १०० किलोवाटदेखि अधिकतम ३०० किलोवाट मोटर क्षमताका कार, जिप र भ्यान नेपालमा आयात भएका छन् ।

भन्सार विभागका अनुसार आठ महिनाको अवधिमा न्यूनतम १७ किलोवाटदेखि १०० किलोवाटसम्मका सवारी चीन, फ्रान्स, भारत र दक्षिण कोरियाबाट एक अर्ब ६६ करोड सात लाख ३३ हजार रुपैयाँ मूल्य बराबरको ६२५ गाडी भित्रिएका छन्  ।

अमेरिकाबाट १०० देखि १५० किलोवाटसम्म मोटर क्षमताका १३ युनिट कार भित्रिँदा चीन र जापानबाट १५० किलोवाटदेखि २०० किलोवाट मोटर क्षमताका ६८४ वटा, कोरियाबाट १०० देखि २०० किलोवाट मोटर क्षमताका ३३ वटा गाडी भित्रिएका छन् ।

अमेरिकाबाट ३०० किलोवाटभन्दा बढी मोटर क्षमता भएका दुईवटा गाडी भित्रिएको विभागले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४