close

ह्वाट्सएपमा अब इमोजी रियाक्सन पठाउन मिल्ने, अरू के के आउँदैछन् फिचर

टेकपाना टेकपाना

बैशाख ३, २०७९ ९:८

ह्वाट्सएपमा अब इमोजी रियाक्सन पठाउन मिल्ने, अरू के के आउँदैछन् फिचर

काठमाडौं । ह्वाट्सएपले आफ्नो एपमा विभिन्न फिचर ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालको भविष्य ‘मेटाभर्स’ को विकास गरिरहेको मेटाले त्यस अन्तर्गतको ह्वाट्सएपमा इमोजी रियाक्सन, ठूला साइजका फाइल शेयर गर्न मिल्ने, एड्मिन कन्ट्रोलजस्ता फिचर समावेश गर्न लागेको हो ।

ह्वाट्सएपले त्यसबाट हुने च्याटमा रिक्याक्सनका रूपमा इमोजी पठाउन मिल्ने फिचर ल्याउन लागेको छ । यसको माध्यमबाट प्रयोगकर्ताले आफूले कुनै मेसेज पढ्दा कस्तो अनुभव गरे त्यो इमोजीको माध्यमबाट जानकारी दिन सक्छन् ।

यसअघि फेसबुक मेसेन्जर र इन्स्टाग्राममा रहेको यो फिचर अब मेटाले ह्वाट्सएपमा ल्याउन लागेको जानकारी दिएको छ । यदि प्रयोगकर्तालाई ह्वाट्सएपमा इमोजी पठाउनुपर्‍यो भने टेक्स्टको ठाउँमा इमोजी छानेर पठाउनुपर्ने हुन्छ ।

ह्वाट्सएपले अब फिचर ल्याइसकेपछि आएको वा आफूले पठाएको टेक्स्टमा इमोजी रियाक्सनका रूपमा पठाउन सकिनेछ ।

मेटाका प्रवक्ता जोशुवा ब्रेकमानले एक अनलाइन पोर्टललाई मेसेज इमोजी रियाक्सन फिचर चाँडै सार्वजनिक हुने जनाएका छन् ।

त्यस्तै इमोजी रियाक्सन फिचर सार्वजनिक भएपछि सबै प्रयोगकर्तालाई उपलब्ध हुनेछ । सुरुवातमा यस फिचर अन्तर्गत प्राथमिकताका आधारमा छ वटा इमोजी राखिने मेटाले जनाएको छ ।

यद्यपि ह्वाट्सएपका प्रमुख विल क्याथकार्टले भने इमोजी रियाक्सन फिचरका माध्यमबाट उपलब्ध सबै इमोजी र स्किन टोन प्रयोग गर्न मिल्ने भन्दै ट्वीट गरेका छन् । सोही कार्यक्रममा कम्पनीले बढीमा २ जिबीसम्मका फाइल शेयर गर्न मिल्ने फिचर ल्याउन लागेको घोषणा गरेको छ ।

आजका मितिसम्म ह्वाट्सएपबाट बढीमा १०० एमबीसम्मका फाइल शेयर गर्न फिचर समावेश छ । त्यस्तै ह्वाट्सएपमा क्रियट गरेका ग्रुपमा समेत मेटाले थप फिचर ल्याउन लागेको छ ।

सो फिचर उपलब्ध भएपछि ग्रुप एड्मिनले मेम्बरले गरेका मेसेज हटाउन सक्छन् । यसरी सम्पूर्ण कुरा एड्मिनको नियन्त्रणमा हुने हुँदा असान्दर्भिक वा अनुपयुक्त च्याट कम हुने ह्वाट्सएपले जनाएको छ ।

त्यस्तै विगतमा ग्रुप भ्वाइस कल मार्फत ८ जना प्रयोगकर्ता मात्र जोडिन मिल्थ्यो भने ह्वाट्सएपले अब एक पटकमा ३२ जना जोडिन मिल्ने फिचर ल्याउन लागेको छ ।

यी सबै फिचर कहिले उपलब्ध हुन्छन् भन्ने निश्चित नभए पनि चाँडै उपलब्ध गराउने मेटाले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२