close

के भविष्यमा ड्रोनले नै लड्नेछ युद्ध ?

टेकपाना टेकपाना

बैशाख ३, २०७९ २१:४२

के भविष्यमा ड्रोनले नै लड्नेछ युद्ध ?

काठमाडौं । गत फेब्रुअरीमा रुसका ट्यांकहरू युक्रेनको राजधानी कब्जा गर्न अगाडि बढिरहेको थियो भने उता युक्रेन हमलाको सामना गर्न तयारी गरिरहेका थियो । सुरक्षाको क्षेत्रमा हतियार, ट्यांक, लडाकु विमान लगायतका उत्पादनमा रुसी सेनाको अगाडि युक्रेनी सेनाको कुनै तुलना नै छैन ।

तर द्वन्द्व सुरु भएको केही दिनमा नै रुसी सेना अगाडि बढ्न सकेनन् । चिसो माैसमका कारण रुसी सेना गाडीमै बस्न बाध्य भएका थिए । साथै उनीहरूले आफूलाई तातो बनाउन गाडी तथा ट्यांकहरूको इन्जिन खुल्ला नै राख्न प्रयास गरेका थिए । यसको फाइदा उठायो यक्रेनी ड्रोनले ।

युक्रेनी सेनाले ती ड्रोनमार्फत रातको समयमा रुसी सेनाको गाडीको इन्जिनको आवाजलाई पछ्याएर गाडी पत्ता लगाई त्यसमा हमला गरे । यो घटनाले विश्वमा एउटा प्रश्न उठाएको छ, के अब भविष्यमा युद्धहरू ड्रोनले लड्नेछन् ? 

युद्धमा ड्रोनको सुरुवात 

बेलायतको लम्फब्रो विश्वविद्यालयकी प्राध्यापक केरोलिन केनेडीका अनुसार पहिलो विश्वयुद्धपछि आफ्नो दुश्मनभन्दा अगाडि रहनका लागि मान्छेबिनाको विमानको निर्माण प्रयास भएको थियो ।

पश्चिमा देश आफ्नो दुश्मनको सामना गर्न उनीहरूको नजिकबाट नभएर दुश्मनको माथिबाट आक्रमण गर्नसक्ने विमान बनाउन चाहन्थे । यो प्रक्रियामा दुईवटा नयाँ उपकरणको आविष्कार भयो ।

पहिलो हो ‘मिसाइल’, जसले बिना मान्छे लक्षित गरिएको ठाउँमा गएर विष्फोट गर्नसक्छ । दोस्रो थियो, सामान ओसारपोसार गर्ने अथवा गोप्य सूचना कैद गरेर ल्याउन सक्थ्यो । यो दोस्रो विमानलाई पटक-पटक प्रयोग गर्न पनि सकिन्थ्यो ।

यहीबीच सन् १९१७ मा बेलायत र १९१८ मा अमेरिकाले मान्छेबिनाको विमानको पहिलो पटक परीक्षण गरेको थियो । ती विमानहरूलाई ‘पोइन्टलेस भेहिकल’ को नाम दिइएको थियो ।

यद्यपि यस परीक्षणपश्चात ती दुवैको विमानको प्रयोग कहिले पनि भएन । यसपश्चात सन् १९४४ मा हतियारको रुपमा विमानहरूको प्रयोग हुन सुरु भयो । नाजी जर्मनीसँग लड्नको लागि अमेरिकाको मानवरहित विमान बनाउने प्रयास जारी थियो ।

यसैबीच अमेरिकाले एउटा परीक्षण गर्‍यो । पहिलो चरणको परीक्षणमा नै मानवरहित विमान उडाइएको थिएन ।

उक्त परीक्षणमा विमानलाई पूर्णरुपमा विष्फाेटक पर्दाथहरूले भरेर लक्षित स्थानसम्म पाइलट र अर्को सहयोगीले विमान लैजान्थे । यसपछि विष्फोटक पदार्थहरूलाई विष्फोट गर्नको लागि तयारी अवस्थामा छोडेर विमानको सम्पूर्ण नियन्त्रण रिमोट कन्ट्रोलमा छोडेर पाइलट विमानबाट सुरक्षित रुपमा हामफाल्थे ।

यस प्रकारको एउटा उडानमा अमेरिकी राष्ट्रपतिका भाई जो अमेरिकी नेभीका पाइलट जोसेफ पी केनेडीको मृत्यु भएको थियो । उनले विष्फोटकको नियन्त्रण छोड्नु भन्दा अगाडि नै ती विष्फोटक पदार्थहरू विमानमा नै विष्फोट भए ।

यो घटनामा विमानमा सवार सम्पूर्ण चालकदलको मृत्यु भएको थियो । यस्ता धेरै घटना भए, जसका कारण यो प्रकारको आक्रमणमा रोक लगाइयो ।

यसपश्चात धेरै वर्षपछि भियतनाम युद्धमा गोप्य जानकारी संकलन गर्नका लागि प्रोपगान्डा फैलाउनका लागि यो प्रकारको मानवरहित मसिनहरूको पुनः प्रयोग भयो ।

समयसँगै प्रविधिको पनि विकास हुँदै गयो र मसिनहरूको क्षमता पनि वृद्धि हुँदै गयो ।

प्राध्यापक केनेडीका अनुसार सन् १९९० मा खाडी युद्ध र कोसोभो अभियानमा लक्षित स्थानमा आक्रमण गर्नका लागि प्रयोग भएका प्रविधि पहिलेभन्दा धेरै राम्रा थिए ।

त्यस्तै मानवरहित विमानहरू आमजनताका लागि पनि कम जोखमपूर्ण बन्दै गए । यसको प्रयोग लक्षित स्थानमा आक्रमण गर्न र दुश्मनहरूलाई मार्नको लागि मात्र प्रयोग हुन थालियो । यो प्रभावकारी पनि बन्दै गयो ।

अमेरिकामा भएको ९/११ को घटना तथा इराक र अफगानिस्तानको लडाईंपछि भने मानवरहित विमानहरूको प्रयोग बढ्दै जान थाल्यो । जसले गर्दा अमेरिकामा नै बसेर पनि अफगानिस्तानको विभिन्न स्थानको बारेमा जानकारी संकलन गर्न सहज बन्यो ।

यसरी ड्रोनको प्रयोग बढ्न थाल्यो । तर यसका लागि सटिक जानकारी आवश्यकता भने छ । अन्यथा यसले गर्दा गलत ठाउँमा आक्रमण हुन पनि सक्थ्यो । अमेरिकी सेना लगायत अमेरिकाको गुप्तचर संस्था सीआईएले पनि ड्रोनको व्यापक प्रयोग गर्न थाले । 

युद्धमा ड्रोनको सन्तुलन 

कर्नेल विश्वविद्यालयको टेक पोलिसी ल्याबका निर्देशक सारा क्रेप्सका अनुसार पहिले पहिले युद्धमा धेरै हतियार र सेना हुने देशहरू बलियो हुने गर्थ्यो । तर अब भने समय यस्तो छैन ।

ड्रोनको सहायतामा हतियार र सेनामा अर्बौं रुपैयाँ खर्च गर्न नसक्ने देशले पनि युद्धमा बलियो भएर उभिनसक्ने उनको भनाइ छ । तर यसले चिन्ता पनि पैदा गर्ने उनले बताइन् ।

किनभने ड्रोनको प्रयोगमा आक्रमण कति बेला र कहाँ हुन्छ भन्ने थाहा हुन्न । यसले गर्दा कुनै पनि प्रकारको क्षतिका लागि तयार रहनुपर्छ । आजको दिनमा अमेरिकाको लागि सुरक्षा व्यवस्था महँगो हुँदै गइरहेको छ ।

यहाँ सानो ड्रोन र आईएडी (इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस) को लागि भनेर फरक फरक विभाग नै बनाइएको छ । किनभने आईडी निर्माण गर्नको लागि कुनै विशेष सीप वा ज्ञानको आवश्यकता हुँदैन ।

इरान र अफगानिस्तानको विद्रोहीहरूले यसको अत्याधिक प्रयोग गरेका थिए । आईडी पत्ता लगाउन र नष्ट गर्नको लागि अमेरिकाले अर्बौं डलर लगानी गरेको थियो । जुन आफैंमा अमेरिकाको दुश्मनहरूका लागि उनीहरूको जीत बराबर नै थियो ।

समयअगाडि बढ्दै जाँदा ड्रोनले युद्ध मैदानमा चुनौती बढाउँदै गइरहेको स्पष्ट हुन सकिन्छ । अर्कोतिर यसले जोखिम पनि उत्तिकै बढाइरहेको छ ।

ड्रोनको प्रकार पनि फरक-फरक हुन्छ । राम्रो ड्रोनको सहायतामा आक्रमण गर्न सहज र प्रभावकारी हुने गर्छन् । गत वर्ष अमेरिकाले अफगानिस्तानमा गरेको ड्रोन आक्रमणको विश्वभर आलोचना भएको थियो ।

किनभने यो आक्रमणमा १० जना आमनागरिकहरूको मृत्यु भएको थियो । पछि अमेरिकाले उक्त आक्रमण गल्तीले भएको स्पष्टिकरण दिएको थियो ।

उक्त घटनामा ड्रोनले सेतो कारमा आक्रमण गरेको थियो, जसमा अमेरिकाले शंका गरेको इस्लामिक स्टेट ‘खुरासन’ सँग जोडिएका मान्छे थिएनन् ।

उक्त कारमा एक नागरिकको परिवार थियो । क्रेप्सका अनुसार जानकारी राम्रोसँग संकलन नगर्दा र हतारमा निर्णय लिँदा उक्त घटना भएको हो । किनकी कहिले काहिँ ड्रोनबाट देखिएको तस्वीर लक्षित स्थान, वस्तु वा मानिसको तस्वीरजस्तै देखिएपनि त्यो नहुन सक्छ ।

यो वर्षको कुरा गर्ने हो भने अहिले विश्वबजारमा चलिरहेको प्रश्न एउटै छ कि यस्ताे प्रकारको ड्रोन आक्रमणले युक्रेनमा कस्तो प्रभाव पारेको छ ? 

युक्रेनको ड्रोन संकलन 

रुसी सेनाको विरुद्धमा हाल युक्रेनले फरक-फरक रुपमा ड्रोन प्रयोग गरिरहेको बेलायतका वरिष्ठ पत्रकार डेभिड ह्याम्बलिङ बताउँछन् । रुसी ट्याकंलाई ध्वस्त गर्नका लागि युक्रेन ड्रोनको प्रयोग गरिरहेको छ ।

हाल युक्रनेले प्रयोग गरिरहेको ड्रोनमा इन्फ्रारेड क्यामेरा प्रयोग गरिएको छ, जसले ट्यांकको इन्जिनको तापक्रम डिटेक्ट गरेर सो ट्यांक कहाँ छ भनेर पत्ता लगाउन सक्छ ।

यो सजिलो छ । किनभने रुसी सेनाहरू जाडोबाट बच्न ट्यांकको प्रयोग गरिरहेका छन् । यसरी ट्याकं पत्ता लगाएर रुसी सेनाको ट्यांकमा आक्रमण गर्नका लागि ड्रोन प्रयोग गरिरहेका छन् ।

साथै युक्रेनसँग टर्कीमा बनेको ठूलो बाइरक्टार ड्रोन पनि छ, जसले घातक आक्रमण गर्नसक्छ । यो ड्रोन १६ घण्टासम्म आकाशमा उड्न सक्छ । यसले आफ्नो लक्षित स्थानलाई खोजेर त्यहाँ आक्रमण गर्नसक्ने क्षमता राख्छ ।

यसले एकैपटकमा चारवटा लेजरले गाइड गर्ने मिसाइल आफूसँग लैजान सक्छ र हरेक प्रकारको सैनिक ट्यांकहरूलाई ध्वस्त गर्न सक्छ ।

युक्रेनसँग अमेरिकाको ‘स्विच ब्लेड’ ड्रोन पनि छ, जसको निशाना यति सही छ कि, यसले कुनै एकमात्र व्यक्तिलाई पहिचान गरी सो व्यक्तिलाई मात्र आक्रमण गर्न पनि सक्छ । साथै यसले एकैचोटी दुईवटा निशानामा आक्रमण गर्नसक्छ ।

यसलाई आक्रमणको लागि प्रक्षेपण गर्नुअघि निशानाको बारेमा सबै जानकारी दिन आवश्यक पनि हुँदैन । किनभने यसले १५ मिनेटसम्म हावामा रहेर आफ्नो निशाना खोजेर यसको विवरण अपरेटरलाई पठाएर निशाना तय गरेपछि आक्रमण गर्न सक्छ ।

जारी युद्धमा युक्रेनले आफ्नो ड्रोनको कुशलतालाई राम्रोसँग प्रस्तुत गरेका कारण रुसी सेनालाई अगाडि बढ्न बाधा भइरहेको डेभिड बताउँछन् । 

आजसम्मको नतिजा हेर्ने हो भने युक्रेनी सेनाको आक्रमणको जवाफ रुसी सेनाले तत्काल दिन असक्षम छ । यसले एउटा प्रश्न उब्जाएको छ, के ड्रोनले युद्धको भविष्य परिवर्तन गर्नसक्छ ? 

ड्रोनको रणनीति 

जारी युद्धको लागि युक्रेनमा आफ्नो शोखको लागि अथवा व्यावसायिक रुपमा प्रयोग हुने ड्रोनहरू सम्बन्धित व्यक्ति र संस्थाहरूले सेनालाई सहयोग स्वरुप दिएको लण्डन स्कुल अफ इकोनोमिक्सको वार स्टडिज (युद्ध विषय) का सहायक प्राध्यापक जेम्स रोजर्स बताउँछन् ।

हुन त युद्धमा यसको प्रयोग गर्न सकिँदैन । तर रुसी सेनाको गतिविधि निगरानी राख्नको लागि भने यी ड्रोनहरू प्रयोग भइरहेका छन् ।

युक्रेन देश अमेरिकाको टेक्सास सहरजत्रो छ । यस्तोमा आजको दिनमा वरपरको गतिविधि थाहा पाउनका लागि मात्र यी ड्रोन प्रयोग भए पनि भोलिको दिनमा युक्रेनले यसको प्रयोगको दायरा बढाउनसक्ने जेम्सको धारणा छ । 

ठूला देशहरू मात्र होइन, इस्लामिक स्टेटजस्तो समूहहरूले पनि ड्रोनलाई आफ्नो रणनीतिको लागि प्रयोग गरिरहेका छन् । विशेषगरी गठबन्धनका देशले यसको फाइदा उठाइरहेका छन् ।

तर भविष्यमा हुने युद्ध वा द्धन्द्धहरूमा ड्रोनको कस्तो असर पर्न सक्छ ? आजसम्म युक्रेनले ड्रोनको प्रयोग ‘स्वारमिङ’ रणनीतिको प्रयोग भने गरेको छैन । तर यसो नहोला भन्न सकिन्न ।

स्वारमिङ रणनीतिमा एकचोटीमा धेरै संख्यामा ड्रोन पठाएर आकम्रण गर्ने गरिन्छ, जसले दुश्मन देशको हवाई सुरक्षालाई ठूलो चुनौती दिन सक्छ । यसरी आएका ड्रोनलाई झार्न सम्भव भएपनि केही भने आफ्नो लक्ष्यसम्म पुगेर आक्रमण गर्नसक्ने जेम्स बताउँछन् । 

भविष्यको लडाईंमा यो प्रकारको युद्ध हामी देख्न सक्नेछौं । यसबीच अर्को एउटा प्रश्न उठ्छ । त्यो हो ‘स्वचालित ड्रोन’ को बारेमा । त्यसैले यो विषयमा मसिनमाथि मानिसको नियन्त्रण विषयमा छलफल हुन जरुरी रहेको जेम्सले बताएका छन् । 

स्वचालित ड्रोनहरूले पहिले नै सेट गरिएको अल्गोरिदमको आधारमा आफ्नो लक्ष्य आफैंले खोजेर आक्रमण गर्छन् र आक्रमण सफल भएपछि यस विषयमा अपरेटरलाई स्वत सूचना पठाउँछन् । निशाना सही थियो वा थिएन भन्ने कुराको मुल्याङ्कन भने पछि मात्र गरिन्छ । त्यसैले यो जोखिमपूर्ण छ । 

यो प्रविधिले गर्दा गलत स्थानमा गलत मान्छेलाई आक्रमण पनि हुनसक्छ । यसो भएको खण्डमा यसको जिम्मा कसले लिने ? त्यसैले यस्तो विषयमा आर्टिफिसियल इन्टलिजेन्स त प्रयोग गर्ने, तर मसिनलाई आफैं निर्णय लिनसक्ने कुरामा कतिसम्म छुट दिने प्रश्न उठिरहेको छ ।

भविष्यमा पनि युद्ध मैदानमा ड्रोनको प्रयोग साधारण हुन सक्छ । तर युद्ध मात्र ड्रोनले लड्ने कुरा भने कहिले पनि हुननसक्ने जेम्स बताउँछन् । (बीबीसी न्युजबाट साभार)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२