close

चीनमा कोभिड संक्रमण बढेपछि एप्पल लगायत अन्य कम्पनीका उत्पादन आपूर्तिमा समस्या

टेकपाना टेकपाना

बैशाख ४, २०७९ ११:४८

चीनमा कोभिड संक्रमण बढेपछि एप्पल लगायत अन्य कम्पनीका उत्पादन आपूर्तिमा समस्या

काठमाडौं । चीनमा कोरोना संक्रमणको स्थिति जटिल बन्दै गएपछि एप्पल, डेल, लेनोभो लगायत ब्रान्डका उत्पादनको आपूर्तिमा समस्या आएको छ । कोभिड संक्रमण बढ्दै गएपछि चीनले हाल विभिन्न स्थानमा लकडाउन गरेको छ ।

यसले गर्दा धेरै एप्पलका डिभाइसका साथै डेल र लेनोभोको ल्यापटपको डेलिभरीमा ढिलाइ हुने अनुमान गरिएको छ ।

कोभिड-१९ को संक्रमण रोक्न चीनले अहिले राजमार्ग र बन्दरगाहरू पनि बन्द गरेको छ । यसको कारण ग्लोबल सप्लाई चेनका धेरै फ्याक्ट्रीहरू पनि बन्द नै छन् ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार एप्पलले चीनको साङघाई र कुनशानमा आफ्नो प्लान्ट यही हप्ता बन्द गर्ने तयारी गरिरहेको छ । यी दुई प्लान्टमा आईफोन १३ र आईफोन एसई सिरिजका स्मार्टफोनहरू निर्माण हुने गर्छ ।

त्यसैगरी म्याकबुक निर्माण गर्ने चीनमा अवस्थित क्वान्टा कम्प्युटर इन्कले पनि आफ्नो काम बन्द गरेको छ । यहाँ उत्पादित म्याकबुक विश्वबजारमा जाने गरेका छन् ।

चीनको यो लकडाउनले एप्पलले आपूर्ति श्रङ्खलामा नराम्रो प्रभाव पारीरहेको छ र यो प्रभाव कहिलेसम्म रहन्छ भन्ने कुरा चीनको लकडाउनमा नै भर पर्ने विश्लेषक बताउँछन् ।

एप्पलले आफ्नो उत्पादन साङघाई र कुनशान बाहिर पनि गर्नसक्ने उपाय भएपनि अहिलेसम्म कम्पनीको भने यस्तो कुनै तयारी छैन ।

त्यस्तै ह्वावेले पनि आफ्नो सबैभन्दा ठूला फ्याक्ट्री भएको ठाउँ साङघाई नै लकडाउनमा हुदाँ नयाँ उत्पादनको निर्माण पुनः सुरु गर्न समस्या भइरहेकाे बताएको छ ।

साङघाई विगत तीन हप्तादेखि लकडाउनमा छ र कहिले लकडाउन हट्नेछ भन्ने कुरा अनिश्चित नै छ ।

याेसँगै ल्यापटप कम्पनीहरू पनि अहिले जटिल अवस्थामा छन् । डेल र लेनोभोको लागि ल्यापटप उत्पादन गर्ने कम्पनी कम्पल इलेक्ट्रोनिक्स इन्क पनि अहिले बन्द छ ।

यसको कुनशानमा रहेको फ्याक्ट्रीले मात्र बजारमा जाने मध्ये ५० प्रतिशत ल्यापटपको निर्माण गर्छ । यद्यपि लकडाउनको कारण अहिले उत्पादन तथा आपूर्ति प्रभावित भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२