close

एलन मस्कलाई श्रीलङ्का किन्न प्रस्ताव !

टेकपाना टेकपाना

बैशाख ४, २०७९ १४:३२

एलन मस्कलाई श्रीलङ्का किन्न प्रस्ताव !

काठमाडौं । एलन मस्क जति व्यस्त भएपनि उनको ट्वीटरप्रति निकै लगाव छ भन्ने कुरा उनले दैनिक गरिरहने ट्वीटबाट प्रष्ट हुन्छ । गत बिहीबार उनले ट्वीटरको सम्पूर्ण शेयर किन्ने प्रस्ताव राखेका थिए । जुन अहिले थुप्रै कुराले विवादित बनेको छ ।

ट्वीटरमा अहिले एलन मस्कलाई उनका शुभचिन्तकले विभिन्न कुरामा लगानी गर्न सुझाव दिएका छन् । म्यानचेस्टर युनाइटेडका केही फ्यानले एलन मस्कलाई ट्वीटरभन्दा फुटबल क्लब किन्न सुझाव दिएका थिए ।

त्यस्तै कतिपय उनका समर्थकले श्रीलङ्का देश नै किन्न सुझाव दिएका छन् । उनी ट्वीटर किन्न किन चाहन्छन् भन्नेबारे कुरा गत राति भएको टीईड टकमा स्पष्ट पारेका छन् ।

यद्यपि ट्वीटरले यसबारे केही प्रतिक्रिया दिएको छैन । विभिन्न रिपोर्टहरूमा कम्पनीले ट्वीटरलाई निजीकरण हुनबाट टाढै राखेको उल्लेख गरेको थियो ।

यसबाट एलन मस्कले जति नै रकम प्रस्ताव गरेपनि किन्न नसक्ने कुरा प्रष्ट हुन्छ ।

यी विविध कारणबीच अहिले केही ट्वीटर प्रयोगकर्ताले एलन मस्कलाई ट्वीटरको सट्टा श्रीलङ्का किन्न सुझाव दिएका छन् ।

भारतको चर्चित अनलाइन मार्केटप्लेस स्न्यापडिलका सीईओ कुनाल बालले व्यङ्ग्य शैलीमा एलन मस्कलाई श्रीलङ्का किन्न सुझाव दिएका छन् ।

‘एलन मस्कले श्रीलङ्का किन्न सक्छन् र र आफूलाई सिलन मस्कको नाममा परिचित गराउन सक्छन्,’ कुनालले लेखेका छन् ।

त्यस्तै अन्य धेरै ट्वीटर प्रयाेगकर्ताले पनि मस्कलाई श्रीलङ्का किन्न सुझाएका छन् ।

‘एलन मस्क, यदि तपाईं केहि किन्न चाहनुहुन्छ भने श्रीलङ्का किन्नुहोस् । ट्वीटरलाई एक्लै छोडिदिनुस्,’ एक प्रयोगकर्ताले लेखे ।

श्रीलङ्काको सन्दर्भमा भने अहिले यो देशले आर्थिक संकट सामना गरिरहेको छ । जसलाई विश्वकै धनाढ्य मस्कले सहजै समाधान गर्न सक्ने विभिन्न नेटिजनले अनुमान गरेका छन् ।

श्रीलङ्काको वैदेशिक ऋण करिब ४५ अर्ब डलर रहेको छ भने एलन मस्कले ट्वीटर किन्न प्रस्ताव गरेको रकम ४३ अर्ब डलर थियो ।

चरम आर्थिक संकट सामना गरिरहेको श्रीलङ्कालाई एलन मस्कको साथले केही सहयोग गर्ने धेरै इन्टरनेट प्रयोगकर्ताले विश्वास लिएका छन् ।

तर, देशको ऋण तिरेर देश नै आफ्नो कब्जामा लिन अथवा सोझै भाषामा भन्नुपर्दा देश किन्न सकिने कुरा भने सम्भव छैन ।

यसबारे एलन मस्कले हालसम्म केही प्रतिक्रिया दिएका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२