close

विमानस्थलमा एटीएम र भिसा क्यूआर सेवा दिन तयार छौं- शाह

टेकपाना टेकपाना

बैशाख ५, २०७९ १५:४७

विमानस्थलमा एटीएम र भिसा क्यूआर सेवा दिन तयार छौं- शाह

काठमाडौं । हालै मात्र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पर्यटकलाई विद्युतीय भुक्तानी झन्झटिलो भएको भन्दै नगद नै बाेक्न आग्रह गरेको थियो ।

एक सूचना जारी गर्दै अध्यागमन कार्यालयले पर्यटकको सङ्ख्या धेरै भएको र विमानस्थलमा एउटा मात्र एटीएम मसिन रहेकाले मास्टर कार्ड, भिजा कार्ड तथा विद्युतीय कारोबारका अन्य माध्यममा पनि समस्या आउने गरेकाले भीडभाड तथा झन्झटबाट जोगिन नगदै बोकेर आउन भनिएको थियो ।

यो कुराको अहिले सामाजिक सञ्जालभरी आलोचना भइरहेको छ । यसबीच नबिल बैंकका सीईओ अनिल केशरी शाहले विमानस्थललाई आवश्यक भएको खण्डहरू आफूहरूले एटीएम, पीओएस र भिजा क्युआरका साथै म्यानुअल काउन्टरको नै सेवा दिन पनि तयार रहेको बताएका छन् ।

प्रविधि उपलब्ध भएन भन्दा पनि काम गर्ने सोच परिवर्तन गरेर काम गर्नुपर्ने उनले सुझाएका छन् ।

उनले दिपेन्द्र डीसीको ट्वीटमा रिप्लाई गर्दै लेखेका छन्, ‘हामी तत्काल एटीएम, पीओएस र भिसा क्युआर र म्यानुअल काउन्टर सेवा पनि दिन तयार छौं । यदि आवश्यक परेको खण्डमा हामी एटीएमबाटै अमेरिकी डलर निकाल्न मिल्ने व्यवस्था पनि गर्न सक्छौं । प्रविधिको उपलब्धता नहुनु समस्या होइन । हामीले हाम्रो सोच परिवर्तन गर्न जरुरी छ ।’

डिजिटल व्यवस्थामा धेरै समस्या आएको भन्दै अध्यागमन कार्यालयले विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन २०० अमेरिकी डलर बराबरको विदेशी नदत नै बोकेर आउन आग्रह गरेको थियो ।

यसैबी एटीएम नहुँदा पर्यटकले लामो समय लाइन बस्नुपर्ने भएपछि विभागले विमानस्थल टर्मिनलभित्र थप एटीएम राख्ने तयारी गरेको छ ।

यसका लागि केही बैङ्कसँग छलफल भइरहेको प्रवक्ता माधवराज मरासिनीले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैङ्कबाहेक अन्य बैङ्कलाई पनि एटीएम सुविधा प्रदान गर्न आग्रह गरिएको उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२