close

के फास्ट चार्जरले मोबाइलको ब्याट्री बिगार्छ ?

टेकपाना टेकपाना

बैशाख ६, २०७९ १४:१३

के फास्ट चार्जरले मोबाइलको ब्याट्री बिगार्छ ?

काठमाडौं । फास्ट चार्जिङ तपाईंको डिभाइसलाई सुविधाजनक तरिकाले छिटो चार्ज गर्ने प्रणाली हो । तपाईंले आफ्नो डिभाइस छिटो चार्ज गर्न फास्ट चार्जिङ प्रणालीमा आधारित चार्जर प्रयोग गर्ने गर्नुभएको छ होला । के साँच्चै फास्ट चार्जिङ हाम्रो डिभाइसको ब्याट्रीका लागि खराब हुन्छ त ?

सामान्य भाषामा भन्नुपर्दा फास्ट चार्जिङ प्रणालीले डिभाइसको ब्याट्रीमा खासै असर गर्दैन । फास्ट चार्जरले ब्याट्रीमा चार्ज ओभरलोड (आवश्यकताभन्दा बढी चार्ज) गर्दैन ।

स्मार्टफोनको सिस्टमलाई बढीमा जति आवश्यक पर्छ वा त्यो डिभाइसले जति चार्ज धान्न सक्छ, फास्ट चार्जरले त्यति नै चार्ज वितरण गर्नेगर्छ ।

यसको अर्थ तपाईंले आफूसँग भएको यूएसबी चार्जर, जसले तपाईंको डिभाइसको उच्चतम चार्जिङ रेटमा वाटेज (वाट क्षमता) पठाउँछ ।

एउटा स्मार्टफोनको ब्याट्रीले केही निश्चित समयका लागि फास्ट चार्जिङ उपयोग गर्छ । यसको कारण हो लिथियम-आयन ब्याट्री तीनवटा चरणमा चार्ज हुनेगर्छ ।

पहिलो हो ‘अ स्लो ट्रिकल चार्ज’ । यसको माध्यमबाट सबैभन्दा पहिले ब्याट्रीमा न्यूनतम करेन्ट आउँछ । दोस्रो चरणमा स्थिर करेन्ट र भोल्टेज विस्तारै बढ्दै जान्छ । त्यस्तै अन्तिम चरणमा भने भोल्टेज स्थिर हुन्छ र करेन्ट विस्तारै घट्न थाल्छ ।

यसले गर्दा ब्याट्री सेल ओभरचार्जिङ र खराब हुनबाट बच्छ । फास्ट चार्जरले स्थिर करेन्ट भएको अवस्थामा मात्र काम गर्छ ।

त्यसैले प्रायः जसो स्मार्टफोन उत्पादक कम्पनीले विज्ञापन गर्दा ३० मिनेटमा ५० प्रतिशत चार्ज वा त्यसैको वरपर चार्ज हुन्छ भनी प्रचार गर्छन् । एकपटक अन्तिमको भोल्टेज स्थिर हुने चरणमा पुग्यो भने ब्याट्री स्ट्यान्डर्ड अवस्थाबाट चार्ज हुन सुरु गर्छ ।

फास्ट चार्जिङले धेरै ताप उत्पन्न गराउन सक्छ

जति फास्ट पावर लिथियम आयन सेलमा भण्डारण हुन्छ, त्यति नै ताप उत्पन्न हुनेगर्छ । यसको अर्थ फास्ट चार्जिङले सामान्य वा स्लो चार्जिङभन्दा धेरै नै ताप उत्पन्न गर्नेगर्छ ।

धेरै ताप उत्पन्न हुने हुँदा लिथियम आयन ब्याट्रीमा छिटो बिग्रने समस्या आइरहेका हुन्छ । सामान्य चार्जिङको तुलनामा फास्ट चार्जिङले केही हदसम्म ब्याट्रीको लाइफ स्पान घटाउन सक्छ ।

त्यस्तै निकै उच्च वा न्यून तापक्रम कुनै पनि फोनमा प्रयोग हुने लिथियम आयन ब्याट्रीका लागि खराब नै हुन्छ । यदि तपाईंले आफ्नो फोन चर्को घाममा राख्नुभयो वा निकै चिसो ठाउँमा राख्नुभयो भने त्यसको ब्याट्री बिग्रने सम्भावना धेरै हुन्छ ।

तपाईंले विशेषगरी आफूलाई निकै नै आवश्यक परेको खण्डबाहेक अन्य अवस्थामा सामान्य वा स्ट्यान्डर्ड चार्जर प्रयोग गर्दा उचित हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२