close

अब एनसेलको नम्बर ९७ बाट सुरु हुने

टेकपाना टेकपाना

बैशाख ६, २०७९ १५:२

अब एनसेलको नम्बर ९७ बाट सुरु हुने

काठमाडौं । एनसेल आजियटाले अब प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ । ९८० रेन्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको एनसेलले उक्त रेन्जमा सिमकार्ड सकिएसँगै ९७० बाट नयाँ नम्बर उपलब्ध गराउने तयारी गरेको हो ।

त्यसका लागि दूरसञ्चार क्षेत्रकाे नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको गत चैतमा बसेको बोर्ड बैठकले एनसेललाई नयाँ नम्बरिङ रेन्ज प्रदान गर्ने निर्णय गरिसकेको छ । एनसेलले थप नम्बरिङ रेन्ज उपलब्ध गराइदिन गरेको अनुरोधका आधारमा प्राधिकरण व्यवस्थापनबाट आवश्यक अध्ययन गरी नयाँ रेन्ज प्रदान गर्ने निर्णय भएको हाे ।

राष्ट्रिय नम्बर योजनाले जीएसएम अन्तर्गत एनसेललाई ९८०, ९८१ र ९८२ गरी तीन फरक रेञ्जमा नम्बर उपलब्ध गराएको छ । यी सबैमा एक करोडका दरले नम्बर उपलब्ध छन् । यसको अर्थ ९८ मा आधारित कूल तीन करोड नम्बर एनसेलसँग उपलब्ध छ ।

एनसेलले यसअघि नै ९८०, ९८१, ९८२ सबैमा आधारित सिमकार्ड बिक्री गर्दै आएको छ । प्राधिकरणले जारी गरेको गत पुस मसान्तसम्मको तथ्याङ्क अनुसार एनसेलका ग्राहक संख्या कूल एक करोड ६८ लाख ७७ हजार रहेका छन् । त्यो हिसाबले अझै एक करोड ४२ लाको हाराहारीमा नम्बर बाँकी रहेका छन् ।

तर, जिल्लाअनुसार त्यहाँको मागलाई मध्यनजर गरेर सिमकार्ड पठाउँदा मागभन्दा बढी पठाइएको हुन्छ । त्यसरी सिमकार्ड स्टकमा बस्दा हाल बजारमा खपत भएको भन्दा बढी सिमकार्ड तयार भइसकेको हुन्छ ।

भने, कतिपय सिमकार्ड प्रयोगकर्ताले लामो समय प्रयोगमा नल्याएसँगै त्यो फ्रिज भएर जाने र त्यसलाई पुनः रिसाइक्लिङ गरेर प्रयोगमा ल्याउने खालको प्रचलन पनि छ । त्यो हुँदा कम्पनीले नयाँ रेन्जमार्फत सिमकार्ड तयार पार्न लागेको हो ।

अर्कोतर्फ पछिल्लो समय बढ्दो इन्टरनेट अफ थिङ्स (आईओटी) को प्रयोगसँगै डिभाइसहरुमा समेत सिमकार्ड खपत भइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै एनसेलले प्राधिकरणसँग नयाँ नम्बरिङ रेन्ज मागेको प्राधिकरणले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२