close

गोप्य कुरा लुकाउने फोनको सुरक्षित स्थान

हरिजङ्ग थापा हरिजङ्ग थापा

बैशाख ६, २०७९ १६:१९

गोप्य कुरा लुकाउने फोनको सुरक्षित स्थान

काठमाडाैं । हाम्रा हरकुरा आजकल मोबाइलमा संग्रहित भएर बसेका हुन्छन् । सोसल मिडिया, बैंक अकाउन्टदेखि विभिन्न सेवा मोबाइलमै अटाएका हुन्छन् ।

सेवा जति सहज बनेको छ, सुरक्षाका हिसाबले मोबाइल उति नै संवेदनशील बन्दै गएको छ । यस्तै संवेदनशील डेटाको सुरक्षाका लागि सामसङले ग्यालेक्सी फाेनका प्रयोगकर्तालाई हार्डवेयर बेस प्राेटेक्सन नक्स सेक्युरिटी (Hardware Base Protection Knox Security) उपलब्ध गराउँछ ।

सामसङ ग्यालेक्सी फोन अन गर्दा सुरुमै Secured By Knox भनेर स्क्रिनमा देखिन्छ । ‘ए’ सिरिज वा ‘एस’ सिरिजका ग्यालेक्सी फोनको बक्समा समेत यसलाई निकै हाइलाइट गरेको पाइन्छ ।

Knox Security ग्यालेक्सी फाेनको सुरक्षा कवच हो, जसले चिपसेट, हाइपरभाइजर, केर्नल, फर्मवेयर र एप्लिकेसनको तहमा सुरक्षा दिन्छ, जसले गर्दा मोबाइलमा भएका संवेदनशील डेटासँगै पासवर्ड, पिन र बायोमेट्रिक डेटा अरुको पहुँचमा पुग्दैन ।

मानिलिउँ ह्याकरले कुनै सफ्टवेयर वा सिस्टम परिमार्जन गरेर मोबाइलमा पहुँच बनाउन खोजे Knox Security ले रियल टाइममा नै पत्ता लगाएर त्यसलाई रोक्छ ।

डेटा चाेरी, मालवेयर अट्याकबाट हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न पनि Knox ले प्रभावकारी काम गर्छ ।

यसमा हार्डवेयर र सफ्टवयरको संयोजन हुने भएकाले गोप्य फाइल, कुराकानी वा डेटाको सुरक्षामा यसलाई एकदमै मजबुद मानिन्छ ।

फलस्वरुप विभिन्न देशका सरकारी एजेन्सीहरुले समेत यसलाई विश्वास गर्छन् । डेटा सुरक्षामा अब्बल भएकै कारणले Knox Security भएका ग्यालेक्सी फाेनहरु मूल्यका हिसाबले अलि महंगो हुन्छन् ।

त्योसँगै यस्ता फोनमा सुरक्षाका लागि Secure Folder, Secure Wifi जस्ता फिचर पनि उपलब्ध गराइएको हुन्छ, जसले मोबाइल फोनको डेटा सुरक्षामा थप अर्को तहको सुरक्षा प्रदान गर्छ ।

Secure Folder झट्ट हेर्दा Vault App हरु जस्तै लाग्न सक्छ । तर, यो अन्य थर्ड पार्टी एपभन्दा बलियो र विश्वासिलो हुन्छ । किनकि यस्ता अधिकांश थर्ड पार्टी एप सफ्टवेयरमा आधारित हुन्छन् ।

हामीले पासवर्ड वा पिनले त्यसभित्र फाइलहरु लक गरेर राखेपनि सिंगो अकाउन्ट तेस्राे पक्षको पहुँचमा हुन्छ, जसले गर्दा डेटा चोरी हुने जोखिम उच्च रहन्छ

त्यसैले संवेदनशील डेटा स्टोर गर्न वा एपहरु चलाउन ग्यालेक्सी फाेनमा भएको Secure Folder को प्रयोग गर्न सकिन्छ ।

सामसङ ग्यालेक्सी फाेनको क्विक प्यानलमा नै Secure Folder भन्ने एप आइकन देखिन्छ । पहिलोपटक यसको प्रयोग गर्दै हुनुहुन्छ भने यहाँ ट्याप गरेपछि टर्म्स एन्ड कन्डिसन स्वीकार गरेर अघि बढ्नुपर्छ ।

यो सेवा लिनका लागि सामसङ अकाउन्ट आवश्यक पर्छ । तपाईंले सामसङ अकाउन्ट बनाउनुभएको छैन भने पहिला यहाँ लगईन गरिसकेपछि Secure Folder बन्न एकैछिन समय लाग्छ ।

त्यसपछि फोल्डरको सुरक्षाका लागि Pattern, PIN, Password मध्ये कुनै एउटा छानेर Next मा थिच्नुहोला । अब यहाँ चाहेको पासवर्ड, पिन वा प्याटर्न राखेर त्यसको पुष्टि गरी Ok थिचेपछि Secure Folder तयार हुन्छ ।

सबैभन्दा माथि रहेको + मा थिचेर हामीले मोबाइलमा इन्स्टल भएका Apps Secure Folder मा सार्न सक्छौं । संवेदनशील जानकारीहरु भएका एप छन् भने Secure Folder मा राखेर चलाउँदा थप सुरक्षा पाउन सकिन्छ ।

एप्सहरु मात्र होइन, यहाँ संवेदनशील फोटो, भिडिओ, कन्ट्याक्ट अथवा जुनसुकै डकुमेन्ट राख्न सकिन्छ।  चाहेको फाइललाई सेलेक्ट गरेर तल देखिने More अप्सनमा थिच्ने हो भने सबैभन्दा तल Move To Secure Folder भन्ने अप्सन देखापर्छ । त्यहाँ ट्याप गर्ने बित्तिकै फाइल Secure Folder मा गएर बस्छ ।

सेक्याेर फाेल्डरको माथिपट्टि रहेको तीनवटा डटमा थिच्नुभयो भने फाेल्डर लक गरेर बाहिर निस्कने, फाइलहरु थप्ने Secure Folder लाई Customize गर्ने विकल्पहरु उपलब्ध हुन्छन् ।

त्यस्तै Setting मार्फत हामीले लकको प्रकार, Auto Lock को टाइम सेट गर्न, नोटिफिकेसन व्यवस्थापनसँगै Secure Folder App Screen मा देखाउने वा नदेखाउने भनेर  सेट गर्न पनि मिल्छ ।

Secure Folder एकपटक सेट भइसकेपछि अब Quick Panel बाट हामीले यसलाई अन वा अफ गर्न सकिन्छ । यसलाई अन गर्दा माेबाइल स्क्रिनमा सेक्याेर फाेल्डर एप देखिन्छ । यहाँ अफ गर्दा स्क्रिनबाट उक्त एप हराउँछ ।

Secure Folder यसरी Screen मा नदेखिएको खण्डमा Setting भित्र Biometrics and Security जानुभयो भने Secure Folder भेटिन्छ ।

मोबाइलमा पहुँच बनाउन हामीले पासवर्ड, पिन वा बायोमेट्रिक राखेका हुन्छौं । Secure Folder मा पहुँच पाउन फेरि सुरक्षाको अर्को घेरा पार गर्नुपर्ने हुन्छ ।

त्यसैले Secure Folder भित्र रहेको एपमा जो कोहिले पहुँच पाउन सक्दैनन् । यसमा हामीले जतिपनि अनलाइन वा अफलाइन गतिविधि गर्छौं त्यो पूर्णतया आफ्नै नियन्त्रणमा रहन्छ ।

  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२