close

सब्सक्राइबर घटेपछि विज्ञापन सहितको सस्तो प्याकेज ल्याउँदै नेटफ्लिक्स

टेकपाना टेकपाना

बैशाख ७, २०७९ १०:१

सब्सक्राइबर घटेपछि विज्ञापन सहितको सस्तो प्याकेज ल्याउँदै नेटफ्लिक्स

काठमाडौं । नेटफ्लिक्सले १० वर्षको अवधिमा पहिलो पटक आफ्नो सब्स्क्राइबर गुमाएको छ । त्यसको सामना गर्न कम्पनीले विज्ञापन सहितको सस्तो मूल्यको प्याकेज ल्याउने भएको छ ।

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङ्गले मङ्गलबार लगानीकर्ताको त्रैमासिक आम्दानी सम्बन्धी अन्तर्वार्तामा सम्भावित परिवर्तनको बारेमा जानकारी गराएका हुन् । त्यतिमात्रै नभएर आउँदो चौमासिकमा प्रयोगकर्ताको सङ्ख्या अझ घट्ने प्रक्षेपण सहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

यससँगै मंगलबार कम्पनीको शेयर मूल्यमा समेत उल्लेख्य गिरावट आएको छ । भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सन् २०२२ को पहिलो चौमासिकमा करिब दुई लाख सब्सक्राइबर गुमाएको प्रतिवेदनमा उल्लेख छ ।

जसको असर स्वरूप एकै दिनमा कम्पनीको शेयर  मूल्य २० प्रतिशतले घटेको हो । यसरी ग्राहक सङ्ख्यामा भारी गिरावट आएसँगै कम्पनीले विज्ञापन सहितको सस्तो प्याकेज ल्याउने निर्णय समेत गरिसकेको छ ।

विशेषगरी विज्ञापन सहितको सस्तो मूल्यको प्याकेजले ठूलो सङ्ख्याका प्रयोगकर्तामाझ पुग्न सहयोग मिल्ने अपेक्षा कम्पनीको छ । पछिल्लो समय बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीले आफ्नो ग्राहक सङ्ख्या गुमाएको अनुमान गरिएको छ ।

अमेजन प्राइम जस्ता स्ट्रिमिङ प्लेटर्फमको बढ्दो प्रभाव र रुस र युक्रेनमा जारी युद्धको असर पनि नेटफ्लिक्समा देखिएको उल्लेख छ । दुई देशबीच चलिरहेको युद्धका कारण ब्रोडब्याण्ड इन्टरनेटमा देखिएको समस्याका कारण त्यहाँका लाखौँ प्रयोगकर्ता नेटफ्लिक्सबाट बाहिरिएका छन् ।

यसका साथै कम्पनीले नेटफ्लिक्स अकाउण्ट अन्य घरपरिवारका सदस्यसँग शेयर गर्न नमिल्ने फिचरलाई पनि विस्तारै सबै देशमा विस्तार गर्ने योजना अघि सारेको छ । हालसम्म चिली, कोस्टारिका, पेरुमा मात्रै यो व्यवस्था लागू भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२