close

भोल्टेका लागि तयार भयो एनसेलको सिस्टम, अब परीक्षण सुरु हुने

टेकपाना टेकपाना

बैशाख ७, २०७९ ११:१

भोल्टेका लागि तयार भयो एनसेलको सिस्टम, अब परीक्षण सुरु हुने

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले फोरजी एलटीई प्रविधिमा आधारित एचडी भ्वाइस कल (भ्वाइस ओभर एलटीई) सेवा सञ्चालनमा ल्याउने भएको छ । देशभर फोरजी एलटीई सेवा विस्तार गरिरहेको कम्पनीले त्यसैमा आधारित एचडी भ्वाइस सेवा समेत दिने तयारी थालेको हो ।

हुन त यो विषय नयाँ भने होइन । कम्पनीले भोल्टे सेवा सञ्चालनमा ल्याउने विषय यसअघि नै जानकारी दिइसकेको थियो । तर हालसम्म सेवा सञ्चालनमा आउन भने सकेको छैन ।

अर्कोतर्फ सरकारी स्वामित्वको नेपाल टेलिकमले भने एक वर्ष अघि नै यो सेवा सञ्चालनमा ल्याइसकेको छ । टेलिकमले सेवा सञ्चालनमा ल्याएको करिब एक वर्ष बितिसक्दा पनि एनसेलका ग्राहक भने अझै यो सेवाको पर्खाईमा छन् ।

अन्ततः एनसेलले भोल्टे सेवा सञ्चालनका लागि आफ्नो सम्पूर्ण सिस्टम तयार भइसकेको बताएको छ । ‘भोल्टेका लागि हाम्रो सिस्टम तयार भइसकेको छ,’ एनसेलले टेकपानासँगको ईमेल संवादमा भनेको छ, ‘चाँडै हामी सीमित मोबाइल सेटमा यसको परीक्षण थाल्दैछौँ ।’

ग्राहकका लागि आकर्षक योजना सहित भोल्टे सेवा सञ्चालनमा ल्याइने कम्पनीको भनाई छ । त्यसका लागि हाल सामसङ, एप्पल जस्ता विभिन्न मोबाइल निर्माता कम्पनीसँग सहकार्य भइरहेको समेत उल्लेख छ ।

यो सहकार्यको उद्देश्य उनीहरूले उत्पादन गरेको र भोल्टे सपोर्ट गर्ने सम्पूर्ण डिभाइसमा एनसेलको भोल्टेलाई इनेबल अर्थात चल्ने बनाउनु हो । यसअघि नेपाल टेलिकमले भोल्टे सञ्चालनमा ल्याउँदा सुरुमा एप्पल लगायतका कतिपय ब्राण्डका मोबाइलमा भोल्टे सपोर्ट नगर्ने समस्या देखिएको थियो ।

त्यस किसिमको समस्या आउन नदिन एनसेलले भने परीक्षण अगावै आवश्यक गृहकार्य थालेको हो । यद्यपि भोल्टे सेवा कहिलेबाट प्रयोगकर्तामाझ उपलब्ध हुन्छ भन्ने प्रश्नमा भने कम्पनीले कुनै यकिन मिति खुलाएको छैन ।

तर, देशभर फोरजी एलटीई सेवा सञ्चालनमा आएसँगै भोल्टेको व्यवसायिक सेवा सञ्चालनमा ल्याउने बताएको छ । कम्पनीका अनुसार सेवा सञ्चालनमा आएसँगै भोल्टे सेवा सपोर्ट गर्ने सम्पूर्ण मोबाइल सेटमा यो सेवा प्रयोग गर्न सकिनेछ ।

त्यससँगै एनसेलका प्रयोगकर्ताले डेटा बिना नै उच्च गुणस्तरको भिडिओ तथा अडियो कल गर्न पाउने छन् । हाल डेटा चलाउँदा मात्रै मोबाइल फोरजी डेटामा कनेक्ट हुने गर्छ ।

भ्वाइस कलका लागि भने थ्रिजी तथा टुजीमा फलब्याक हुनेगर्छ । तर, अब भोल्टे सुरु भएपछि भने मोबाइल हर बखत फोरजीमै काम गर्नेछ । यसको मतलब भोल्टे आएसँगै अब भ्वाइस कल समेत फोरजी नेटवर्कमै हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२