close

गुगलका केही अनौठा टिप्स, जुन तपाईंलाई काम लाग्न सक्छ

टेकपाना टेकपाना

बैशाख ८, २०७९ १०:३२

गुगलका केही अनौठा टिप्स, जुन तपाईंलाई काम लाग्न सक्छ

काठमाडौं । हामी प्रायः गुगलको प्रयोग केही कुरा खोज्नका लागि मात्र गरिरहेका हुन्छौं । के तपाईंलाई थाहा छ, गुगल अन्य कुन कुन प्रयाेजनका लागि प्रयोग गर्न सकिन्छ ?

तपाईंलाई गुगलमा कस्ता कुरा खोज्न मिल्छ वा मिल्दैन भन्ने कुराको जानकारी त छ नै होला ।

आज हामी तपाईंलाई त्यस्ता महत्वपूर्ण टिप्सको जानकारी दिँदैछौं, जसले तपाईंको दैनिकीलाई अझै सहज बनाइदिन्छ ।

नम्बर टिप्स

कतिपय अवस्थामा हामीलाई कुनै ठूलो अङ्क जस्तै ३,६५,९७८,००० लाई अक्षरमा कसरी भनिन्छ भन्ने जान्न निकै सकस पर्छ ।यसका लागि तपाईंले गुगल सर्च बक्समा गएर सोझै आफूलाई अक्षरमा चाहिएको अङ्कलाई टाइप अथवा पेस्ट गर्नपर्ने गुन्छ ।

अङ्क टाइप गरिसकेपछि त्यसको पछाडि बराबरको सङ्केत र इङ्लिश (1234564=English) टाइप गरेर सर्च गर्नुभयो भने तपाईंले खोजेको अङ्क अङ्ग्रेजी अक्षरमा आउँछ ।

हाल यसलाई नेपाली अङ्कका लागि प्रयोग गर्न सकिँदैन । आशा गरौँ छिटै नै नेपाली अङ्कलाई अक्षरमा रूपान्तरण गर्ने सिस्टम लागू हुनेछ ।

फ्लाइट खोज्ने तरिका

तपाईंलाई कुनैबेला हतारमा कुन फ्लाइट कतिबेला छ भन्ने जान्नुपर्ने हुन्छ । यसो त एयरलाइन्सको वेबसाइटमा सबै जानकारी राखिएको हुन्छ । तर, छिटो आवश्यक परेको खण्डमा तपाईंले यो उपाय अपनाउन सक्नुहुन्छ ।

त्यसका लागि गुगलमा सोझै तपाईंलाई आवश्यक परेको फ्लाइट सर्च गर्न सक्नुहुन्छ । जस्तो हामीलाई काठमाडौंदेखि नेपालगञ्जको फ्लाइटबारे जानकारी लिनुछ । त्यसका लागि गुगलमा ‘Kathmandu to Nepalgunj flight’ सर्च गर्‍यो भने त्यससँग सम्बन्धित सबै जानकारी देखिन्छ ।

यसबाट सोझै कुन एयरलाइन्सको कुन फ्लाइट कतिबेला छ सहजै थाहा पाउन सकिन्छ ।

किताबको पीडिएफ खोज्ने तरिका

कतिपय अवस्थामा हामीलाई पुस्तकहरू आफ्नो ल्याप्टप, डेक्सटप वा फोनमा पढ्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा गुगलमा पुस्तकको नाम सर्च गर्‍यो भने अनावश्यक थुप्रै रिजल्टहरू देखिन्छन् ।

त्यसका लागि हामीले गुगलमा कुनै पुस्तकको नाम टाइप गरी फाइल.पीडिएफ (Elon musk book file.pdf) थपेर सर्च गर्‍यौँ भने उपयुक्त रिजल्ट देखिन्छ ।

तपाईंले आफूले चाहेको पुस्तक पीडिएफ फाइलमा सहजै डाउनलोड गरेर पढ्न सक्नुहुन्छ ।

गुगललाई क्याल्कुलेटरका रूपमा प्रयोग

तपाईंलाई कुनैबेला झट्ट केही अङ्कको हिसाब गर्नपर्‍यो भने सोझै सर्च बक्समा गएर टाइप गरी रिजल्ट पाउन सक्नुहुन्छ । यसले सबैभन्दा भरपर्दो र उपयुक्त परिणाम दिने भएकाले गुगल क्यालकुलेट उपयुक्त विकल्प हुन सक्छ ।

उदाहरणका लागि (324*554638-223= ) सर्च गर्नुभएको खण्डमा रिजल्ट आइपुग्छ ।

हराएका डिभाइस पत्ता लगाउने तरिका

तपाईंले गुगलको सहायताले आफ्नो हराएको वा चोरी भएको फोन पत्ता लगाउन सक्नुहुन्छ । कसरी पत्ता लगाउन सकिन्छ भन्ने जान्न यस लिङ्कमा क्लिक गर्नुहाेस् ।

 आफूलाई आवश्यक परेको मितिको सामग्री पत्ता लगाउन

कतिपय अवस्थामा हामीलाई मितिअनुसार सामग्री खोज्नपर्ने हुन्छ । विशेषगरी समाचार खोज्दा कति समयअघिको चाहिएको भन्ने कुरा महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा तपाईंले आफूलाई आवश्यक समाचारको शीर्षक गुगलको सर्च बक्समा टाइप गरी सर्च गर्न पर्ने हुन्छ ।

रिजल्ट पेज खुलिसकेपछि त्यसमा तपाईंले सर्च गरेको अप्सन देखिन्छ । त्यसको तल भएका अल (All), इमेज (Image), भिडिओज (Videos), बुक्स (Books), म्याप्स (maps) र अन्तिममा मोर (More) को अप्सन देखिन्छ ।

त्यसको छेउमा बायाँपट्टि टुल्स (Tools) को अप्सन देखिन्छ । हामीले त्यसमा क्लिक गर्दा एनी टाइम (Any Time) को विकल्प देख्छौँ । एनी टाइममा क्लिक गर्‍यो भने कुन समयको चाहिएको छान्न मिल्छ ।

कपिराइट फ्री समाग्री

यदि तपाईं ब्लग लेख्नुहुन्छ वा युट्युवमा कन्टेन्ट राख्नुहुन्छ भने कपिराइट सम्बन्धी परिचित नै हुनुहुन्छ होला । अथवा छैन भने पनि तपाईंले इन्टरनेटमा उपलब्ध सबै सामग्री आफ्नो परियोजनाका लागि प्रयोग गर्न पाउनुहुन्न ।

आफूले कुनै पनि कन्टेन्ट बनाउन तपाईंले कपी राइट फ्रि फोटो, भिडिओ वा अन्य सामग्री प्रयोग गर्नुपर्ने हुन्छ ।

यदि तपाईंलाई कपिराइट फ्री फोटोहरू आवश्यक छ भने गुगलमा आफूलाई आवश्यक परेका फोटो सर्च गर्नुहोस् । त्यसपछि इमेजको अप्सनमा क्लिक गर्नुहोस् । इमेजमा क्लिक गरी सकेपछि तपाईंले खोजेका फोटोहरू देखिन्छन् ।

तपाईंले अल, इमेज, भिडिओज, बुक्स, म्याप्स र मोरका अप्सन देख्न सक्नुहुन्छ । त्यसको बायाँपट्टि टुल्सको अप्सन देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्‍यो भने एउटा युजेज राइट्स (Usages Rights) को अप्सन देखिन्छ ।

त्यसमा क्लिक गर्नुभयो भने थप तीनवटा अन्य विकल्प देखिन्छन् । त्यसपछि तपाईंले बीचको क्रियटिभ कमन्स लाइसेन्स भन्ने अप्सन छान्नपर्ने हुन्छ । यसरी तपाईं आफ्नो कन्टेन्टका लागि कपिराइट फ्री फोटोहरू डाउनलोड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२