close

एसियाली खेलकुदमा थपिए पब्जी सहितका अनलाइन गेम, यस्ताे छ नेपालकाे तयारी

टेकपाना टेकपाना

बैशाख ८, २०७९ १५:२१

एसियाली खेलकुदमा थपिए पब्जी सहितका अनलाइन गेम, यस्ताे छ नेपालकाे तयारी

काठमाडौं । एसियाली खेलकुदमा पहिलो पटक ई-स्पोर्टस विधामा पनि प्रतिस्पर्धा हुने भएको छ । चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा ई-स्पोर्टसलाई समावेश गरिएको हो ।

ई-स्पोर्टस समावेश भएसँगै नेपालले पनि त्यसको तयारी थालेको छ । एसियाली खेलकुदको ई-स्पोर्टस विधामा आठ खेल समावेश गरिएको छ ।

यसअन्तर्गत पब्जी मोबाइल, डोटा-२, हर्थस्टोन, फिफा अनलाइन-४, एरेना अफ भालोर, लिग अफ लेजेन्ड, स्ट्रिट फाइटर भी र ड्रिम अफ थ्री किङडम्स-२ रहेका छन् ।

नेपालले भने पब्जी मोबाइल, डोटा-२, हर्थस्टोन, फिफा अनलाइन-४, एरेना अफ भालोर र ड्रिम अफ थ्री किङडम्स-२ गरी ६ गेममा भाग लिने तयारी गरेकाे छ ।

फिफा र हर्थस्टोन एकजना खेलाडी हुने खेल हो भने बाँकी चार खेल समूहमा खेलिने खेल हाे । यसका लागि नेपाल ई-स्पोर्टस अशाेसिएसनले खेलाडी छनोट प्रक्रिया थालेकाे छ ।

‘डोटा-२ र ड्रिम अफ थ्री किङडम्स-२ मा खेलाडी दर्ता चलिरहेको छ । अन्य खेलमा भने हामी दर्ता सक्काएर छनोटतिर लागिसकेका छौँ,’ अशाेसिएसनका अध्यक्ष सुरज डंगोलले भने ।

पब्जीमा एसियाली खेलकुदमा प्रतिनिधित्व गर्न अहिले ६४४ टिमबीच प्रतिस्पर्धा चलिरहेको पनि उनले जानकारी दिए । छनोट जित्ने खेलाडी तथा टिमले दक्षिण एसियाली क्षेत्रीय छनोटमा भाग लिनेछन्, जुन आगामी जुन-जुलाईमा हुँदैछ ।

यो छनोट खेलिसकेपछि मात्र नेपालले एसियाड खेल्न पाउने वा नपाउने अथवा कुन कुन खेलमा खेल्न पाउने भन्ने कुराको टुङ्गो लाग्ने उनकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२