close

विद्युतीय सवारीमा नयाँ आइडिया ल्याउनेलाई सरकारले सहयोग गर्छ : मन्त्री भुसाल

टेकपाना टेकपाना

बैशाख ८, २०७९ १६:५५

विद्युतीय सवारीमा नयाँ आइडिया ल्याउनेलाई सरकारले सहयोग गर्छ : मन्त्री भुसाल

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले निर्माण गरेको इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिएको हो ।

लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ सरू गरिएको परियोजना अन्तर्गत नमुना उत्पादनका रूपमा इलेक्ट्रिक स्कुटर निर्माण गरिएको नास्टले जनाएको छ ।

सो अवसरमा बोल्दै मन्त्री भुसालले विद्युतीय सवारीमा नयाँ आइडिया ल्याउनेलाई सरकारले सहयोग गर्ने भनाइ व्यक्त गरिन् । देशमै बिजुलीबाट चल्ने इलेक्ट्रिक स्कुटर निर्माण हुनु प्रशंसनीय कार्य भएको बताउँदै उनले व्यावसायिक उत्पादनको शुभकामना दिइन् ।

‘विकसित देशमा अत्याधिक खपत हुने इन्धनले वातावरणमा परेको असर नेपालजस्ता देशले भोगिरहेका छन् । यस्तो अवस्थामा सबै मानवजाति वैकल्पिक ऊर्जा, ग्रिन इनर्जीतर्फ केन्द्रित हुनुपर्ने बेला आएको छ,’ उनले भनिन् ।

एसियामा पहिलो पटक जलविद्युत उत्पादन गर्ने देश नेपाल भएपनि विद्युतीय उपकरणको प्रयोग बढ्न नसकेको उनको भनाइ छ ।

विदेशबाट खर्बौं रकम बराबरको इन्धन खपतलाई घटाउन सके देशको ठूलो रकमले देशमा नै लगानी बढ्नसक्ने उनको विश्वास छ । त्यस कार्यलाई निरन्तरता दिन नास्ट आफैंले विद्युतीय सवारी निर्माण गर्नु उदाहरणीय काम भएको उनले बताइन् ।

नास्टले पहिलो पटक स्कुटर बनाउँदा अनुसन्धान गरेर निर्माण गरेको भएर केही महँगो भएको र यसलाई व्यावसायिक हिसाबले उत्पादन गर्न सकियो भने सस्तो मूल्यमा उत्पादन हुनसक्ने उनको बुझाइ छ ।

देशमा भएका लाखौँ पेट्रोलियम गाडीलाई विद्युतीय गाडीका रूपमा अगाडि बढाउन सके देशलाई निकै नै सहयोग पुग्ने उनको विचार छ ।

पेट्रोलियम गाडीलाई विद्युतिय गाडीमा रूपान्तरण गर्न मिल्ने निती बनिसकेको अवस्थामा यो प्रवित्तिलाई अगाडि बढाउनसके देशको आर्थिक अवस्थामा त्यसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।

उनले भनिन्, ‘नयाँ किन्दा सस्तो पर्छ कि त्यसलाई रूपान्तरण गर्दा सस्तो पर्छ त्यतातिर केन्द्रित हुनपर्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२