close

बिजुली स्कुटर नेपालमै बनाऔं- मन्त्री भुसाल

टेकपाना टेकपाना

बैशाख ९, २०७९ ८:२६

बिजुली स्कुटर नेपालमै बनाऔं- मन्त्री भुसाल

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले निर्माण गरेको इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिएको हो ।

लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ सरू गरिएको परियोजना अन्तर्गत नमुना उत्पादनका रूपमा इलेक्ट्रिक स्कुटर निर्माण गरिएको नास्टले जनाएको छ ।

सो अवसरमा बोल्दै मन्त्री भुसालले विद्युतीय सवारीमा नयाँ आइडिया ल्याउनेलाई सरकारले सहयोग गर्ने भनाइ व्यक्त गरिन् । देशमै बिजुलीबाट चल्ने इलेक्ट्रिक स्कुटर निर्माण हुनु प्रशंसनीय कार्य भएको बताउँदै उनले व्यावसायिक उत्पादनको शुभकामना दिइन् ।

विद्युत्को खपत वा भण्डारण गर्न सकिने वा नसकिने भन्नेबारेमा पनि उपयुक्त खोज गर्न आग्रह गर्दै उनले भनिन्, ‘विद्युतीय सवारीसाधन नेपालमा नै ‘मेड इन’ गर्ने कि ‘मेक इन’ गर्ने भन्नेबारेमा पनि नास्टले उपयुक्त सुझाव दिनुपर्छ ।’

‘विकसित देशमा अत्याधिक खपत हुने इन्धनले वातावरणमा परेको असर नेपालजस्ता देशले भोगिरहेका छन् । यस्तो अवस्थामा सबै मानवजाति वैकल्पिक ऊर्जा, ग्रिन इनर्जीतर्फ केन्द्रित हुनुपर्ने बेला आएको छ,’ उनले भनिन् ।

एसियामा पहिलो पटक जलविद्युत उत्पादन गर्ने देश नेपाल भएपनि विद्युतीय उपकरणको प्रयोग बढ्न नसकेको उनको भनाइ छ ।

विदेशबाट खर्बौं रकम बराबरको इन्धन खपतलाई घटाउन सके देशको ठूलो रकमले देशमा नै लगानी बढ्नसक्ने उनको विश्वास छ । त्यस कार्यलाई निरन्तरता दिन नास्ट आफैंले विद्युतीय सवारी निर्माण गर्नु उदाहरणीय काम भएको उनले बताइन् ।

नास्टले पहिलो पटक स्कुटर बनाउँदा अनुसन्धान गरेर निर्माण गरेको भएर केही महँगो भएको र यसलाई व्यावसायिक हिसाबले उत्पादन गर्न सकियो भने सस्तो मूल्यमा उत्पादन हुनसक्ने उनको बुझाइ छ ।

देशमा भएका लाखौँ पेट्रोलियम गाडीलाई विद्युतीय गाडीका रूपमा अगाडि बढाउन सके देशलाई निकै नै सहयोग पुग्ने उनको विचार छ ।

पेट्रोलियम गाडीलाई विद्युतिय गाडीमा रूपान्तरण गर्न मिल्ने निती बनिसकेको अवस्थामा यो प्रवित्तिलाई अगाडि बढाउनसके देशको आर्थिक अवस्थामा त्यसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।

उनले भनिन्, ‘नयाँ किन्दा सस्तो पर्छ कि त्यसलाई रूपान्तरण गर्दा सस्तो पर्छ त्यतातिर केन्द्रित हुनपर्छ ।’

नास्टले आवश्यक अध्ययनसहित सात महिनामा परिणाम निकालेको हो । एउटा स्कुटर बनाउन प्रतिष्ठानले तीन लाख रूपैयाँभन्दा बढी खर्च गरेको छ । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रूपैयाँसम्ममा विद्युतीय स्कुटर उत्पादन गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२