close

प्रदेश २ स्तरिय क्यान इन्फोटेक माघ ९ देखि

टेकपाना टेकपाना

पुस २०, २०७६ २१:५१

प्रदेश २ स्तरिय क्यान इन्फोटेक माघ ९ देखि

प्रदेश नम्बर २ स्तरिय ५ दिने क्यान इन्फोटेक वीरगंजमा हुने भएको छ । २ नम्बर प्रदेश स्तरीय सूचना प्रविधि सम्बन्धि मेलाको दोस्रो संस्करणको रुपमा आउँदो  ९ देखि १३ गते सम्म वीरगंजस्थित नगरसभा गृहमा मेला आयोजना हुने भएको हो ।

प्रदेशमा सूचना तथा सञ्चार प्रविधि उद्योग तथा उद्यमीहरुको आवश्यकता उजागर गर्न र त्यसका लागि सहयोग दिलाउने उद्देश्यले प्रदेशस्तरिय इन्फोटेक आयोजना गर्न लागिएको क्यान पर्साका अध्यक्ष दिपक साहले जानकारी दिए ।

इन्फोटेकमा आइसिटी एसेसिरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट तथा लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षणको रुपमा रहने बताइएको छ ।

यसका साथै मेलामा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल फोन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एसेसिरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु समेत प्रदर्शनीमा राखिने छ ।

त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने आयोजकको भनाई छ ।

गत वर्ष करिब २० हजार भन्दा बढीले अवलोकन गरेकोमा यस पटकको प्रदर्शनीमा ५० हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ । बुकिङ खुला भइसकेको इन्फोटेकमा शिर्ष प्रायोजन प्रभु पेले गर्ने छ भने एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०