close

यस्तो थियो विश्वकै पहिलो सेल्फी क्यामेरा र सेल्फी क्यामेरा भएको फोन

टेकपाना टेकपाना

बैशाख १०, २०७९ १५:२४

यस्तो थियो विश्वकै पहिलो सेल्फी क्यामेरा र सेल्फी क्यामेरा भएको फोन

काठमाडौं । एउटा यस्तो समय थियो, जहाँ हामीलाई सामान्य फोटो खिच्नै निकै सकस पर्ने गर्थ्यो । त्यस बेला क्यामेरा र क्यामेराम्यान पाउन पनि साह्रै गाह्रो हुन्थ्यो ।

जति क्यामेरा वा क्यामेराम्यानका लागि खर्च आउँथ्यो, त्यत्तिकै महङ्गो फोटो प्रिन्ट खर्च पर्थ्यो । समय बित्दै जाँदा क्यामेरा फोनमै समावेश भएर आउन थाले ।

त्यसमा पनि अहिले त सस्ता फोनमा पनि क्यामेरा आउन थालेको छ । क्यामेराको इतिहासबारे कुरा गर्दै गरौँला, तर आज हामी सेल्फी क्यामेराको चर्चा गर्दै छौँ । 

सुरुवाती दिनमा सेल्फी क्यामेराको विकल्पमा तपाईँ हामीमध्ये धेरैले सामान्य बार फोनको पछाडिको क्यामेरालाई उल्टो फर्काएर सेल्फी खिचेका थियौँ होला । आज एकदमै सामान्य फोनमा पनि सेल्फी क्यामेरा रहेको हुन्छ ।

सेल्फी क्यामेराको अवधारणा पहिलो पटक कहाँबाट र कहिले आयो होला ? यसको प्रयोग औपचारिक रूपमा कहिले गर्न थालियो होला ?

सुरुवातमा डिस्प्लेको भागभन्दा माथि केही बाहिर निस्किएको सेल्फी क्यामेरा राखिएको हुन्थ्यो । तर, अहिले प्रायः हरेक ब्रान्डका फोनमा डिस्प्लेको माथिल्लो भागमा डिस्प्लेकै उचाइमा सेल्फी क्यामेरा समावेश भएको हुन्छ ।

अब आउने नवीन फोनमा भने अन्डर डिस्प्ले क्यामेरा हुनेछ । कतिपय फोनमा अन्डर डिस्प्ले क्यामेरा आइसकेको छ र आउने क्रममा पनि छ ।

सेल्फी क्यामेरा पहिलो पटक सन् १९९८ फेब्रुअरी मा जापानमा सार्वजनिक भएको थियो । जसलाई गेम बोई क्यामेरा नाम दिइएको थियो । क्यामेरामा सेल्फी क्यामेराको अवधारणा त्यहीँबाट सुरु भएको मानिन्छ । तर, क्यामेरामा सेल्फी क्यामेरा त्यति लोकप्रिय वा परिचित भने थिएन ।

तर फोनको सन्दर्भमा भने मे १९९९ मा पहिलो पटक जापानमा सेल्फी क्यामेरा सार्वजनिक भएको थियो । जसको नाम क्योसेरा भिजुअल फोन भीपी-२१० (Kyocera Visual Phone VP-2010) दिइएको थियो ।

त्यस बेला उक्त फोनलाई ‘मोबाइल भिडिओ फोन’ भनिन्थ्यो । जुन एक लाख ११ हजार पिक्सेलको सेल्फी क्यामेरा थियो । त्यस फोनमा बढीमा २० ओटा जेपीईजी (JPEG) फोटो स्टोर हुन्थ्यो ।

जसलाई ईमेलमार्फत पठाउन पनि सकिन्थ्यो । त्यस्ता फोटोहरू त्यसबेला जापानको वायरलेस सेलुलर नेटवर्कबाट प्रति सेकेन्ड दुई ओटाका दरले  पठाउन सकिन्थ्यो ।

पहिलो सेल्फी क्यामेरा फोन सार्वजनिक भएको करिब चार वर्षपछि व्यवसायिक रूपमा पश्चिमा देशहरूमा विभिन्न कम्पनीले सेल्फी क्यामेरा फोन उत्पादन गर्न थाले । त्यसबेलाका चर्चित ब्रान्ड सोनी एरिक्सन जेड १०१०, नेक ई ६०६, नेक ई ६१६ र मोटोरोला ए ८३५ ले सुरुवाती समयमा व्यवसायिक रूपमा सेल्फी क्यामेरा फोन बजारमा ल्याएका थिए ।

मेटोरोला ए ९२० विश्वको पहिलो स्मार्टफोन हो, जसमा सेल्फी क्यामेरा जडान गरिएको थियो । सेल्फी क्यामेरा फोनको विकास विशेषगरी फोटो खिच्नेभन्दा पनि भिडिओ कन्फरेन्सका लागि गरिएको थियो ।

अहिले सेल्फी क्यामेरा बहुउपयोगी हुन थालेको छ । भिडिओ कन्फरेन्स, सेल्फी फोटो, सेल्फी भिडिओ, भिडोओ कल आदि कार्यका लागि फोनको सेल्फी क्यामेरा फिचर  प्रयोग हुने गर्छ ।

केही स्मार्टफोनले सेल्फी क्यामेरालाई विशेष प्राथमिकता दिएरै आफ्नो ब्रान्डलाई चर्चित बनाएका छन् । सेल्फी क्यामेराका लागि रियलमी, ओप्पो, भिभो जस्ता ब्रान्डका फोन लोकप्रिय छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२