close

तपाईंको फेसबुक पासवर्ड कसैले लुकेर हेरिरहेका त छैनन् ?

टेकपाना टेकपाना

बैशाख ११, २०७९ ७:३२

तपाईंको फेसबुक पासवर्ड कसैले लुकेर हेरिरहेका त छैनन् ?

काठमाडौं । तपाईंले कुनै पनि सामाजिक सञ्जाल अथवा अनलाइन अकाउन्ट बनाउनु भएको छ भने पक्कै पनि पासवर्ड राखेको याद नै होला । अहिले हरेक अकाउन्टमा पासवर्ड राख्न अनिवार्य भइसकेको छ ।

कतिपय कुरामा बायोमेट्रिक (औंठा छाप वा फेस स्क्यान) विधि आइसकेको छ भने कतिपयमा पासवर्ड सुरक्षाका स्तरीय विधि अपनाइन्छ । हामीले प्रायः आफ्नो तरिकाले राखेका पासवर्ड ह्याकरहरूले सहजै अनुमान गर्न सक्छन् ।

उदाहरणका लागि मानौं, तपाईं एलन मस्कको ठूलो फ्यान वा समर्थक हुनुहुन्छ । तपाईंले आफ्नो सामाजिक सञ्जाल फेसबुकको वालमा एलन मस्कका भनाइ, उनका समाचार, उनका फोटोहरू पोस्ट गर्ने गर्नुभएको छ भने तपाईंले एलन मस्क शब्दलाई आफ्नो पासवर्डका रूपमा कहिँ न कहिँ प्रयोग गर्नुभएको छ भन्ने अनुमान गर्न सकिन्छ ।

त्यतिमात्र नभई तपाईंले आफ्नो प्रिय व्यक्तिको नाम पनि राख्नुभएको हुनसक्छ, जुन तपाईंले पोस्ट गरिरहने फोटो र समर्पित क्याप्सनबाट अनुमान गर्न सकिन्छ । कतिपयले आफ्नो घरमा रहेका कुकुर वा बिरालोको नाम पनि राखेका हुनसक्छन् ।

तपाईंले कुनैबेला आफ्नो फेसबुक स्टोरीमा सो जनवारको फोटो राख्दा त्यसको नाम लेखेर राख्नु भएको हुनसक्छ । यदि तपाईंले त्यही नियमित गरिरहनु भएको छ भने तपाईंको पासवर्ड त्यस्तै शब्दबाट सुरु हुन्छ वा तपाईंको पासवर्डको संरचना ह्याकरले त्यसरी पनि अनुमान लगाउन सक्छन् ।

आफूलाई सम्झिन सहज होस् भन्ने हेतुले अहिले मानिसहरू त्यस्ता सजिला पासवर्ड राख्ने गर्छन् । तपाईंले राख्ने तिनै सरल पासवर्डका कारणले तपाईंलाई लागि खराब अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ ।

अहिले प्रायः ले स्मार्टफोन प्रयोग गर्ने गर्छन् । त्यसमा पनि कुनै वेबसाइटबाट अकाउन्ट लगइन गर्दा क्रोममा पासवर्ड सेभ गर भन्ने अप्सन दिन्छ । धेैरेले आफ्नो पासवर्ड त्यसरी नै सेभ गरेका हुन्छन् । 

चाहे त्यो फेसबुक होस् वा इन्स्टाग्राम होस् वा ट्वीटर नै किन नहोस् प्रायः मानिसहरूले आफ्नो पासवर्ड क्रोममा त्यसरी नै सेभ गरेका हुन्छन् । के तपाईंलाई थाहा छ, यसरी पासवर्ड सेभ गर्दा कति जोखिम हुन्छ भनेर ।

सबैभन्दा पहिले कुरा गरौँ तपाईंको फोनको । तपाईंसँग कसैले केही कारण देखाएर तपाईंको फोन माग्यो भने तपाईं सोझै दिनुहुन्छ । चाहे त्यो टाढाको मानिस होस् वा नजिकको । कसैलाई आवश्यक परेर मागेको छ भने नदिन पनि सकिँदैन ।

तपाईंले उसलाई आफ्नो फोन दिँदा लक गरेर दिनुहुन्न । उसले अनेक युक्ति लगाएर तपाईंको डिभाइसको पासवर्ड पत्ता लगाउँछ । जसबाट उसले क्रोमको सेभ पासवर्डमा गएर सेभ भएका सम्पूर्ण  पासवर्ड पत्ता लगाउँछ ।

यो काम सबैले नगर्लान तर गर्न चाहेको मान्छेलाई तपाईंले फोन दिनुभयो भने, निर्धक्कका साथ तपाईंको विभिन्न अकाउन्टका पासवर्ड उसले पत्ता लगायो भन्ने बुझ्नुस् ।

सेभ गर्दा अन्य अकाउन्टका पासवर्ड लिक हुने केही तरिका छन् । ह्याकरले तपाईंको इमेल एड्रेसमा स्याम लिङ्क पठाउँछन् । तपाईंले त्यसमा जान अन्जानमा क्लिक गरी विभिन्न प्रकारका एसेस (पहुँच) दिनभयो भने उसले तपाईंको जिमेल आइडी र पासवर्ड पत्ता लगाउँछ ।

उसले आफ्नो अकाउन्टमा लगइन गरी तपाईंको पासवर्ड मेनेजरमा सेभ भएका सम्पूर्ण पासवर्ड पत्ता लगाउँछ । कतिपय अवस्थामा तपाईंले हरेक अकाउन्टमा समान पासवर्ड राख्नु भएको हुनसक्छ ।

त्यसले गर्दा केही गरी ह्याकरले तपाईंको कुनै एक अकाउन्टको पासवर्ड पत्ता लगायो भने सोही पासवर्ड अन्य साइटका लागि प्रयोग गर्छ । त्यसरी तपाईंका सम्पूर्ण पासवर्ड लिक हुन सक्छन् । 

निम्नासारका कुरामा ध्यान दिनुभयो भने तपाईं आफ्नो अकाउन्टका पासवर्ड लिक हुनबाट बचाउन सक्नुहुन्छ ।

  • हरेक अकाउन्टमा  टु-फ्याक्टर अथेन्टिकेसन अन राख्नुहोस्
  • गुगल क्रोमको पासवर्ड मेनेजरमा पासवर्ड सेभ नगर्नुहोस्
  • हरेक अकाउन्टका लागि समान किसिमको पासवर्ड प्रयोग नगर्नुहोस्
  • आफूले पासवर्ड राखेको कुराको अलिकति पनि संकेत कतै नछोड्नुहोस्
  • अन्य व्यक्तिलाई फोन दिँदा आफ्नो निगरानी राख्नुहोस्
  • कसैले फोन गरी ओटीपी कोड मागेमा नदिनुहोस्
  • अनावश्यक विज्ञापन तथा इमेलका लिङ्क क्लिक नगर्नुहोस्

आफूले सम्झन सक्ने पासवर्ड यसरी राख्न सक्नुहुन्छ । तपाईंले यही विधि अपनाउनु पर्छ बन्ने छेन । तर, यसरी आफ्नो तरिकाले राख्दा तपाईंलाई सम्झिन सहज हुन्छ ।

तपाईंले सबैभन्दा पहिले केही नाम वा कुनै बस्तुको नाम र त्यसमा केही अङ्क मिलाएर १२ वटा अङ्क र अक्षर संकलन गर्नुहोस् । त्यसपछि तपाईंले त्यसमा घटिमा दुईवटा क्यापिटल लेटर राख्नुहोस् । र अन्यमा केही सङ्केत राख्नुहोस् ।

उदाहरणका लागि हामीलाई एलन मस्कको नाम राख्न पर्‍यो, त्यसमा केही नम्बर जडेर हामी यहाँ यस्तो बनाउँदैछौँ । elonmusk2080 यो हामीले सबैभन्दा पहिले बनाएको पासवर्ड हो ।

त्यसमा अब हामी दुईवटा क्यापिटल लेटर रख्छौँ जुन यस्तो बन्छ –ElonMusk2080 । त्यसमा केही सङ्केत राख्दा यस्तो बन्छ E!@nMu$k2o80 । यसले हामीलाई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेकाले यसलाई कडा पासवर्डको दाँजोमा राख्न सकिन्छ । यसरी तपाईंले आफ्नो शैलीले त्यसलाई परिवर्तन गरी आफूलाई सहज हुने तरिकाले पासवर्ड राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२