close

‘हट्यो’ ९७ बाट सुरू हुने टेलिकमको नम्बरमा ओटीपी नआउने समस्या

टेकपाना टेकपाना

बैशाख ११, २०७९ १३:५९

‘हट्यो’ ९७ बाट सुरू हुने टेलिकमको नम्बरमा ओटीपी नआउने समस्या

काठमाडौं । नेपाल टेलिकमले गत कार्तिकबाट ९८ रेञ्जमा सिमकार्ड सकिएसँगै ९७ मा आधारित भएर जीएसएम सिमकार्ड बिक्री सुरु गरेको थियो ।

त्यसअघि सीडीएमएमा प्रयोग हुँदै आएको ९७ रेञ्जमा आधारित नम्बरलाई कम्पनीले जीएसएममा रूपान्तरण गरी प्रयोगकर्तालाई उपलब्ध गराउन थालेको छ ।

यसरी सीडीएमएमा प्रयोग हुँदै आएको नम्बरलाई जीएसएममा रूपान्तरण गर्दा ९७ रेन्जमा ओटीपी कोड नआउने समस्या देखिएको थियो । त्यसलाई समाधान गर्दै अब भने प्रयोगकर्ताले सहज रुपमा ओटीपी प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

‘प्रारम्भमा ९७ बाट सुरु हुने जीएसएम सिमकार्डमा विशेषगरी विदेशी कम्पनीहरूबाट आउने म्यासेजमा समस्या देखिएको थियो,’ टेलिकमका प्रवक्ता सोभन अधिकारीले भने, ‘अब भने उक्त समस्या समाधान भएको छ । योसँगै फेसबुक, गुगल आदिबाट आउने ओटीपीमा कुनै समस्या हुनेछैन ।’

उनले अगाडि भने, ‘९७ मा आधारित भएर जीएसएम सुरु हुँदा यो नयाँ रेञ्ज थियो । त्योहुँदा अन्तर्राष्ट्रिय नम्बर नेपालसम्म आउनका लागि सुरुमा यो नम्बर नेपालको हो भनी पहिचान नै भएन । क्यारियरले सबै म्यासेजलाई एकमुस्ट संकलन गरी पठाउन हो । तर, नयाँ नम्बर हुँदा क्यारियरलाई ९७ बाट सुरुहुने सीडीएमए नम्बर नेपाल टेलिकमको नम्बर हो भन्ने जानकारी भएन । त्यो हुँदा सुरुमा समस्या आएको हो ।’

ग्राहकले नेपाली सेवाको ओटीपी पनि नआएको गुनासाे गरेका थिए । ‘त्यो टेलिकमको सिस्टमको समस्याभन्दा पनि उक्त सेवा प्रदायकले आफ्नो सिस्टममा ९७ रेन्जलाई समावेश नगर्दा भएको हो,’ अधिकारीले भने ।

निरन्तर फलोअप र आवश्यक प्रक्रिया पुरा गरेर अब यो समस्या समाधान भएको उनले बताए ।

‘अझै पनि केही म्यासेजमा समस्या आएको हुनसक्छ । त्यसका लागि टेलिकम निरन्तर रुपमा परीक्षणमा छ, उनले थपे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२