close

के इलेक्ट्रिक स्कुटर चलाउन लाइसेन्स चाहिन्छ ? 

टेकपाना टेकपाना

बैशाख ११, २०७९ १५:३८

के इलेक्ट्रिक स्कुटर चलाउन लाइसेन्स चाहिन्छ ? 

काठमाडौं । पछिल्लो समय नेपालमा पनि विद्युतीय स्कुटरप्रति चासाे बढेकाे छ । प्रयाेग र माग बढेसँगै सरकारले विद्युतीय सवारीकाे व्यवस्थापनका लागि नीतिगत व्यवस्था ल्याउन थालेकाे छ ।

यसैबीच विद्युतीय स्कुटरका लागि ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) अनिवार्य छ कि छैन भन्ने विषयमा धेरैजना अन्याैलमा रहेकाे पाइएकाे छ ।

यसअघि भित्रिने विद्युतीय स्कुटर साइकलजस्तो हुने गरेकाले सरकारले लाइसेन्स अनिवार्य गरेको थिएन । यही व्यवस्थाका कारण केही चालकमा विद्युतीय स्कुटरका लागि लाइसेन्स चाहिँदैन भन्ने परेकाे हुनसक्छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार सुरुवाती समयमा लाइसेन्स नचाहिने व्यवस्था हुँदा अहिले पनि सोही व्यवस्था रहेकाे बुझाइ धेरैमा छ ।

‘पहिले विद्युतीय स्कुटरका लागि लाइसेन्स अनिवार्य गरिएको थिएन । यहीकारण अहिले पनि लाइसेन्स आवश्यक छैन भन्ने सोचाइ देखिएकाे हाे । तर अहिले विद्युतीय स्कुटरका लागि पनि लाइसेन्स अनिवार्य गरिएकाे छ,’ उनले भने ।

साथै लाइसेन्स जारी गर्ने अधिकार प्रदेश सरकारको मातहातमा रहेको उनले जानकारी दिए ।

विद्युतीय स्कुटरको वर्गीकरण अनुसार कुनलाई अनुमतिपत्र लिनुपर्छ र कुनलाई लिनुपर्दैन भन्ने कुरा कानूनले स्पष्ट पारेकाे बागमती प्रदेश अन्तर्गतकाे श्रम, राेजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी राजन पाेखरेलले बताए ।

‘नेपालको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार ३५० किलोवाट भन्दा कमको ब्याट्री प्रयोग भएको विद्युतीय स्कुटरका लागि सवारी चालक अनुमतिपत्र अथवा लाइसेन्स लिन आवश्यक पर्दैन,’ उनले भने, ‘तर ३५० किलोवाटभन्दा माथिको ब्याट्री प्रयोग भएको विद्युतीय स्कुटर यातायात व्यवस्थापन विभागमा दर्ता हुनुपर्ने भएको हुँदा चालकले लाइसन्स पनि लिनुपर्छ ।’

उनका अनुसार दर्ता भएका सबै सवारीका लागि लाइसेन्स अनिवार्य छ । तर यो कुरा धेरैले नबुझेका कारण लाइसेन्सलाई बेवास्ता गरिएकाे उनकाे भनाइ छ ।

हाल विद्युतीय स्कुटर पनि इन्धन स्कुटरलाई जस्तै ‘के’ वर्गमा राखिएको छ । सोही अनुसार सवारी चालकले सवारी चालक अनुमतिपत्र लिनुपर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२