close

टिकटकमा भाइरल व्यवसायः २१ हजारको लगानी, महिनाकै लाखौँको आम्दानी

अनु पाैडेल अनु पाैडेल

बैशाख १२, २०७९ ९:३९

टिकटकमा भाइरल व्यवसायः २१ हजारको लगानी, महिनाकै लाखौँको आम्दानी

काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जाल एप टिकटक प्रति विश्वव्यापी रुपमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ । तर झट्ट हेर्दा टिकटक हलुका मनोरन्जन, छाडा सामग्री, भाइरल कन्टेन्ट र समय बर्बादीको साधन जस्तो पनि लाग्न सक्छ । 

तर टिकटकको प्रयोग अर्थहीन र नकारात्मक मात्र छैन । आफ्नो कला प्रस्तुत, जानकारी मूलक तथा ज्ञानगुनका सामग्री शेयर गर्न समेत यसको प्रयोग भइरहेको छ । यति मात्र होइन, पछिल्लो समय यो एप प्रयोग गरी आफ्नो ब्यापार, व्यवसाय सञ्चालन तथा प्रवर्द्धन गर्नेहरू पनि थपिन थालेका छन् ।

यसैको एक सफल उदाहरण बनेको हो, ‘र्‍याप्सी’ ।  सुनसरीका प्रशान्त फुँयाल, अभिनव साह र काठमाडौंका जीवन रिसालले गत जनवरी १ देखि मोबाइल स्किन ब्रान्ड ‘र्‍याप्सी टेक नेपाल’को सुरुवात गरे । छोटो समयमा थोरै लगानीबाट सुरु भएको र्‍याप्सी अहिले टिकटकका धेरै प्रयोगकर्ता माझ चर्चित छ ।

सुरुवातमा तीन जनाले प्रति व्यक्ति सात/सात हजार रुपैयाँ सङ्कलन गरेर  २१ हजार रुपैयाँमा सुरु गरेको यो व्यवसायमा पछिल्लो समय धेरैले रुचि देखाएको र्‍याप्सीका संस्थापक प्रशान्त फुँयाल बताउँछन् । विशेषगरि आफ्नो उत्पादनमा युवाहरूले चासो बढी देखिएको उनको भनाई छ । 

स्टिकर टाँस्ने कार्यबाट मोबाइलको स्किन कभर बनाउनेसम्मको यात्रा त्यति सहज पनि नभएको अर्का सह-संस्थापक जीवन रिसाल बताउँछन् । गएको नोभेम्बरको अन्त्यतिर उनीहरूले यो स्टार्टअप सुरु गर्ने योजना बुनेका थिए । तर आफ्नो व्यवसायले कत्तिको बजार लिनसक्छ भन्ने कुरा यकिन थिएन ।

त्यसकारण उनीहरू बिहान कलेज जान्थे र दिउसोको समयमा मोबाइल स्किन ब्रान्डका लागि काम गरिरहेको एउटा नेपाली कम्पनीसँग कमिसनमा काम गर्न थाले । त्यहाँ उनीहरूले कामसँगै बजार समेत बुझ्न थाले ।  उनीहरूले उक्त कम्पनीमा एक महिना जति काम गरे ।‍

कमिसनमा काम गर्दैगर्दा आफूसँग भएको सीपले आफ्नै केही गर्न सकिन्छ कि भन्ने आत्मविश्वास उनीहरूमा पलाउन थाल्यो । त्यही विषयमा आफ्ना साथीसँग छलफल गर्थे । नेपालमा चाहे अनुसारको फुलबुट्टा भरेर मोबाइल कभर तयार पार्ने कुरा नयाँ थियो ।

यसले गर्दा यो व्यवसायले नयाँ उचाइ लिनसक्ने विश्वासका साथ र्‍याप्सीको सुरुवात भयो । कम्पनीले ग्राहकको रुचि अनुसारका डिजाइन गरेर मोबाइलको स्किन पनि बनाउँदै आएको छ ।

यद्यपि अहिले र्‍याप्सीको कुनै आधिकारिक कार्यालय पनि छैन ।  प्रशान्तको निजी कोठामा सामानहरू राखेर उनीहरू र्‍याप्सीको काम गर्दै आएका छन् । जसको भिडिओ टिकटकमा राखेर उनीहरू आफ्नो उत्पादनको प्रचार गर्छन् ।

सुरुवातमा टिकटक एप रमाइलोका लागि प्रशान्तले इन्स्टल गरेका थिए । त्यसै अकाउन्टमा हालिएको र्‍याप्सी सम्बन्धी पहिलो भिडिओ नै भाइरल भइदियो । त्यसबाट उनीहरू आफ्नो कामको विषयलाई लिएर अझ धेरै उत्साहित बने । 

त्यसपछि दोस्रो, तेस्त्रो भिडिओ पनि राखे । पहिलो जस्तै दोस्रो, तेस्रो र अन्य भिडिओ समेत धेरैले रुचाए । यसरी र्‍याप्सीको धेरैको चासोको विषय बन्यो । टिकटकमा राखेको भिडिओका कारण पहिलो हप्तामा छ/सात ओटा मोबाइल स्किनको अर्डर आयो ।

त्यसपछि स्किन लिइसकेका ग्राहकको प्रतिक्रिया लिन थाले र उक्त भिडिओ पनि टिकटकमा राख्न थाले । त्यसपछि अझ धेरै स्किनको माग आउन थालेको जीवन बताउँछन् ।

त्यहाँ आउने कमेन्टबाट कसैले उत्पादन खरिद गर्न चाहेको खण्डमा टिकटकबाट इन्स्टाग्राममा रहेको र्‍याप्सीको अकाउन्टमा मेसेज गर्न लगाउने गरिएको छ । ‘हामीले अहिलेसम्म टिकटकमार्फत ट्राफिक ल्याएर इन्स्टाग्रामबाट मोबाइल स्किन बिक्री गरिरहेका छौँ,’ प्रशान्त भन्छन्, ‘साथै टिकटकमा राखिएको ह्वाट्सएप नम्बरमा समेत ग्राहकले सम्पर्क  गर्न सक्छन् ।’

उनले र्‍याप्सी सुरुवात भएको एक महिनामै ३०० स्किन बिक्री गरी दुई लाख रुपैयाँ आम्दानी गरेको सुनाए  । ‘तीन महिनामै हामीले टिकटकमार्फत व्यवसाय प्रवर्द्धन गरी साढे नौ लाख रुपैयाँभन्दा बढीको मोबाइल स्किन तथा कभर बिक्री गरिसकेका छौँ,’ अभिनव भन्छन् ।

अहिले र्‍याप्सीमा प्रशान्त, जीवन र अविनभसँगै ११ जनाको टिम छ  । त्यसमा प्रशान्तले मार्केटिङसँगै सामाजिक सञ्जालको काम सम्हाल्छन् । अभिनव अर्डर व्यवस्थापन गर्छन् र फाइनान्स मेनेजमेन्टको काम गर्छन् । जीवन भने प्रोडक्सन  र म्यानेजमेन्ट सम्हाल्छन् ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२