close

किन जरुरी छ धितो बिना मोबाइलबाटै लिन सकिने ऋण सुविधा ?

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १२:५१

हामी आजको दिनमा डिजिटल पेमेन्ट कहाँ पुग्यो भन्छौँ । जताततै क्यूआरबाट पैसा तिर्न मिल्छ, नगद नबोके पनि हुन्छ भनिरहेका छौँ र भइपनि रहेको छ । तर त्यति मात्रै गरेर दिगो हुँदैन ।

यसलाई सहज त बनायौँ, तर साँच्चिकै के आयो, मैले के फाइदा पाएँ ? नगदको ठाउँमा डिजिटल भुक्तानी गर्दा अतिरिक्त लाभ के मिल्यो ? त्यो त केही पनि छैन । 

अहिले हामीले सबैलाई सहजता मात्रै बिक्री गरिरहेका छौँ । मलाई नगद झिक्न एटीएमसम्म पुग्नुपर्ने हुन्थ्यो, तर डिजिटल भुक्तानी हुँदा सोझै पैसा तिर्न पाइरहेको छु भन्ने त भयो ।

पसलेलाई पनि नगद व्यवस्थापन गर्न झन्झट थियो, सोझै खातामा आइरहेको छ भन्ने छ । तर भुक्तानी डिजिटल बनाउँदाको फाइदा ‘पासआउट’ त गर्नुपर्ने हुन्छ । अब त्यो कसरी गर्ने भन्ने कुरा आउँछ । यसको सोझो अर्थ ‘एक्सेस टु डिजिटल फाइनान्स’ अर्थात डिजिटल वित्तमा पहुँचकै कुरा हो ।

अहिले सबैजनाले मोबाइल बैंकिङ चलाइरहेका छन् । तलब खातामा जम्मा हुन्छ । खाताबाटै पैसा तिर्ने काम पनि भइरहेको छ । तर मलाई अहिले एउटा ल्यापटप वा बाइक किन्नु पर्‍यो भने ? बाइक त अलि ठूलै लगानीको कुरा होला ।

ल्यापटप मात्रै किन्नु पर्‍यो र त्यसका लागि ८० हजार रुपैयाँ चाहिने भयो भने त्यति पैसा जुटाउने मसँग ठाउँ नै हुँदैन । त्यसका लागि कि त साथीसँग माग्नुपर्‍यो कि सहकारी धाउनु पर्‍यो । तर मेरो तलब जुन बैंकमा आइरहेको छ, त्यो बैंकले मलाई ८० हजार ऋण दिने परिस्थिति छैन ।

८० हजार रुपैयाँ ऋण लिनका लागि मैले धितो राख्ने कुरा पनि भएन । जुन संस्थासँग मेरो आर्थिक अवस्था कस्तो छ र कति कमाउँछ भन्ने जानकारी छ, उसले मलाई आवश्यक परेको बेलामा सहयोग गरिरहेको छैन । मैले व्यक्तिगत रुपमा अरुसँग माग्नुपर्‍यो भने मेरो साधमा आर्थिक स्वतन्त्रता रहँदैन ।

मर्चेन्ट अर्थात व्यापारीको कुरा गर्ने हो भने मानौँ उसले हिजोसम्म दैनिक १०/२० हजार रुपैयाँसम्मको कारोबार गरिरहेको थियो । त्यो नगदमै हुन्थ्यो । तर आज उसले क्यूआर कोडबाट कारोबार गर्न थाल्यो ।

क्यूआर कोडबाट कारोबार गर्दा उसलाई के फाइदा भयो त भन्दा त्यसबाट गरेको कारोबारले गर्दा सम्बन्धित बैंकसँग उसको ‘भिजिबिलिटी’ (उपस्थिति) बढ्छ । हिजोको दिनमा एउटा पान पसले ऋण माग्न बैंकमा जाँदाखेरी बैंकले कस्तो कारोबार गर्ने मान्छे हो, कतिको कारोबार गर्छ भन्ने कुरा थाहा हुने अवस्था थिएन ।

त्यस्तो अवस्थामा बैंकले धितो माग्ने गर्थ्यो । तर आजको दिनमा क्यूआर पेमेन्टले त बैंकसँग उसको डेटा छ । ए यो त राम्रो चल्ने पसल हो, दिनमै ५० हजार रुपैयाँको कारोबार गर्छ भन्ने कुरा बैंकलाई थाहा हुन्छ । त्यसको आधारमा आज उसको व्यवसाय विस्तार गर्नका लागि बैंकले विश्वास गर्न सक्ने आधार तयार भयो ।

हामी अब त्यो तहमा जानुपर्ने आवश्यकता छ । बाहिर तिर हेर्ने हो भने त्यहाँको क्रेडिट मार्केट परिपक्व छ । त्यो भनेको के हो भने हरेक व्यक्तिले कसरी क्रेडिट कार्ड प्रयोग गर्छ, ऋण लिएको छ वा छैन भन्ने आधारमा उसको ‘क्रेडिट स्कोर’ हुन्छ ।

त्यही क्रेडिट ‘स्कोर’को आधारमा बैंकले उक्त व्यक्तिलाई कति विश्वास गर्न सक्छौँ भन्ने कुरा केही स्तरमा थाहा पाउँछ । जसले गर्दा उनीहरूलाई ऋण उपलब्ध गराउन सजिलो छ अनि राम्रो र नराम्रो ग्राहक पनि छुट्टिरहेको छ । यस्तोमा राम्रो क्रेडिट स्कोर छ भने उक्त ग्राहकले राम्रो ब्याजमा ऋण पाउँछ ।

क्रेडिट रेटिङ नराम्रो भएको मान्छे हो भने त्यस्तोमा जोखिम बढी हुने भएकाले उसले बढी दरमा ब्याज तिर्नुपर्ने हुन्छ । त्यस्तै व्यवसायको क्षेत्रमा कारोबार धेरै हदसम्म डिजिटल हुने भएकाले उनीहरूलाई विश्वास गर्ने मापदण्ड अर्कै छ । भारतमा त्यहाँको भारतपेको उदाहरण हेर्ने हो भने व्यवसायीहरूलाई उसले कारोबारको डेटाबाट ऋण दिइरहेको छ ।

अहिलेको बैंकिङ प्रणालीको ऋण जोखिम भन्दा पनि सञ्चालन खर्चबाट सञ्चालित भएजस्तो लाग्छ । मेरो बैंक खातामा पैसा आइरहेको हुन्छ । तर ऋण उपलब्ध गराउने प्रक्रिया भने झन्झटिलो छ । नियामकले पनि धितो बिनाको ऋणलाई जोखिमपूर्ण कर्जाको रुपमा नियालिरहेको हुन्छ । जसले गर्दा ऋण प्रवाहको प्रक्रिया नै निकै खर्चिलो हुने गरेको छ ।

भन्नुको अर्थ बैंकका लागि एक करोड र एक लाखको ऋण प्रक्रिया थाल्नुमा खर्च उत्तिकै लाग्ने भयो । जसले गर्दा सबै बैंकहरू ठूलो आकारको ऋणमा मात्रै केन्द्रित भए । सानो ऋण कहिल्यै पनि प्राथमिकतामा परेन । त्यसका लागि उनीहरू कहिल्यै इच्छुक नै भएनन् । उदाहरणका लागि अटो लोनलाई नै लिन सक्छौँ ।

कति बैंकले बाइकका लागि फाइनान्सिङ गर्छन र कतिले मोटर-गाडीका लागि भनेर तुलना गर्न सक्छौँ । बाइकका लागि फाइनान्स गर्ने बैंकहरू एकदमै थोरै छन् । नसकेर नगरेको त पक्कै होइन । बाइक र गाडीको ऋण दिने तरिका एउटै भए पनि बैंकहरू बाइकका लागि इच्छुक देखिँदैनन् ।

किन भने त्यही एउटै स्तरको मेहनतमा गाडी फाइनान्सिङ गर्दा धेरै ऋण प्रवाह हुन्छ र आम्दानी पनि ठूलो हुन्छ । तर बाइकमा भने त्यही स्तरको ‘इफोर्ट’ लाग्छ, तर आम्दानी भने कम हुन्छ । अब यो अवस्थालाई परिवर्तन गर्न के गर्ने भन्ने प्रश्न आउँछ । यसका लागि बैंकलाई सानो ऋण प्रवाह गर्न थोरै मेहनत लाग्ने हुनु पर्‍यो ।

फोनलोनको ‘बाइ नाउ पे लेटर’ जस्तो प्रडक्टले त्यो काम गर्न सक्छ । जसमा सानो ऋण प्रवाह गर्न कुनै मेहनत नै गर्नु पर्दैन । यदि कुन मान्छेले कति कमाउँछ, कसरी खर्च गर्छ, कस्तो मान्छे हो भन्ने कुरा थाहा छ भने सानो ऋण दिनलाई कुनै चिन्ता लिनु पर्दैन भन्ने तर्कको आधारमा यसले काम गर्छ ।

डेटाले नै त्यो निर्णय गर्नसक्ने प्रविधि विकास भएको छ । यसले गर्दा बैंकलाई कामै नगरी नयाँ व्यवसाय पनि सिर्जना हुन्छ र ग्राहकलाई पनि सहजता थपिने भयो । बैंकहरू यो नयाँ प्रविधि आत्मसाथ गर्ने दिशामा नगएको पनि भन्न मिल्दैन । पाँचसात बैंकले फोनपेको फोनलोन प्रयोग गर्न थालिसकेका छन् ।

अरु बैंकलाई यो सहज भए पनि अलिक जोखिम क्षेत्र हो भन्ने लागेको हुनसक्छ । तर फोनपेले जति बैंकमा यसको सुरुवात गरेको छ, त्यसको डेटा हेर्दा राम्रै देखिन्छ । ऋण फिर्ता गर्ने अनुपात, ऋण प्रयोग गर्ने तरिका राम्रै छ । एकपटक ऋण लिएको मान्छेले दोहोर्‍याएर त्यो सेवा प्रयोग गरिरहेको छ ।

यो अहिले भर्खरभर्खर सुरु भएको भए पनि यसबाट जारी हुने यसबाट प्रवाह हुने ऋण र त्यसबाट हुने आम्दानी बढ्न थाल्यो भने अरु बैंक पनि यो सेवा दिन तत्पर हुनेछन् । केही बैंकहरू अहिले यो नयाँ प्रडक्ट हो, त्यसमा जाने कि नजाने भन्ने कुराका लागि पर्ख र हेरको अवस्थामा पनि हुन सक्छन् ।

तर यसमा नजाने वा इच्छुक छैनन् भन्ने अवस्था चाहिँ छैन । हाम्रो समाजको मानसिकता नै ऋण दुःख नपरी लिनुहुँदैन वा खातामा पैसा नभएपछि मात्रै लिने कुरा हो भन्ने किसिमको छ । ऋण भनेकै अन्तिम उपाय हो भन्ने मानसिकता हामीमा छ । यसले गर्दा ऋण सकेसम्म नलिने कुरा हो भन्ने तरिकाले हाम्रो व्यवहार निर्देशित भइरहेको हुन्छ ।

हामी त्यसरी नै सोचिरहेका हुन्छौँ । तर ऋण भन्ने कुरा राम्रो वित्तिय उपकरण हो । जसको सहयोगमा वित्तीय व्यवस्थापन अझ राम्रोसँग गर्न सकिन्छ । मलाई फाइनान्स वा ऋण चाहिँदैन होला । तर मैले आज कुनै रेष्टुरेन्टमा गएर साथीहरूलाई पार्टी दिनुपर्‍यो भने २०/२५ हजार रुपैयाँ खर्च हुन्छ ।

अब यस्तोमा त्यो पैसा मैले आजै भुक्तानी गर्नुपर्‍यो भने मेरो वित्तीय व्यवस्थापन बिग्रिन्छ । तर फोनलोनको सहयोगमा त्यो २५ हजार रुपैयाँ पाँच-पाँच हजारका दरले पाँच महिनामा तिर्छु भन्ने विकल्प दिन्छ । जसले गर्दा मेरो वित्तीय व्यवस्थापन खलबलिने अवस्था पनि आउँदैन ।

अब त्यसका लागि बैंकलाई सय/डेढ सय रुपैयाँ बैंकलाई ऋण तिर्छु होला । यस किसिमको उपकरणको रुपमा फोनलोनलाई बुझ्न सकियो भने लचकता प्राप्त हुन्छ । नियमित आम्दानी गर्ने ग्राहक हो भन्ने थाहा भइसकेपछि तपाईँले ऋण सजिलै तिर्न सक्नुहुन्छ भनेर बैंकले विश्वास गर्न सक्छ ।

सजिलै ऋण तिर्नसक्नेहरूलाई सजिलै प्राप्त गर्ने उपकरण फोनपेले उपलब्ध गराइरहेको छ । यसरी हेर्ने हो भने पैसा नभएको मान्छेले मात्रै ऋण लिने होइन कि स्मार्ट तरिकाले काम गर्ने मान्छेले पनि फोनलोन प्रयोग गर्न सक्छन् । बजारमा नयाँ स्मार्टफोन वा आईफोन आउँदा हामीलाई त्यो चलाउन मन लाग्छ ।

तर आफूसँग खातामा रहेको पैसाले तत्काल त्यो किन्न सम्भव हुँदैन । यो प्रायः धेरैले सामना गरेको समस्या हो । यदि मलाई आईफोन किन्नु छ भने मलाई दुई-तीन महिना बचत गर्नुपर्ने हुनसक्छ । वा भनौँ दुई तीन महिना कुर्नुपर्ने हन्थ्यो होला ।

तर यो उपकरणले आईफोन आजै किनेर तीन महिना लगाएर पैसा तिर्ने सुविधा दिन्छ । तपाईँको चाहना पूरा गर्न तीन महिनासम्म पर्खिरहनु पर्दैन ।

चलायमान अर्थतन्त्रको कुरा गर्ने हो भने बिक्रेताले त्यो आईफोन बिक्री गर्न तीन महिना कुर्नुपर्ने हुन्थ्यो, तर आजै बिक्री हुने भयो । म तीन महिनापछि मात्रै किन्ने थिएँ, तर आजै लिनसक्ने भएँ ।

त्यसरी फोनलोनले अर्थतन्त्रलाई छिटो गतिमा चलायमान बनाउन सहयोग गर्छ । अहिले फोनलोनका प्रयोगकर्ता चार-पाँच हजारको सङ्ख्यामा छन् । ३० हजारभन्दा बढी सङ्ख्यामा ५६ करोड रुपैयाँको ऋण सेटल भइसकेको छ । 

(लेखक शर्मा एफवान सफ्ट ग्रुपका संस्थापक एवं निर्देशक हुन् ।)

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८१ २०:५७