close

एप्पल भन्छः आईफोनसँगै चार्जर नदिएर पृथ्वीको साढे ५ लाख टन धातु जोगायौँ

टेकपाना टेकपाना

बैशाख १३, २०७९ ९:२९

एप्पल भन्छः आईफोनसँगै चार्जर नदिएर पृथ्वीको साढे ५ लाख टन धातु जोगायौँ

काठमाडौं । आईफोन १३ देखि एप्पलले आफ्नो नयाँ स्मार्टफोनको बक्समा चार्जर राख्न छोडेको छ । त्यसो त एप्पलको यस किसिमको निर्णयलाई लिएर अनेकौँ आलोचना समेत भए, तर एप्पल पछि फर्किने पक्षमा छैन ।

बरु कम्पनीले आईफोनको बक्सबाट चार्जर हटाउँदा वातावरण संरक्षणलाई सघाउ पुगेको दाबी गर्दै आएको छ । यस अतिरिक्त कम्पनीले आईफोनसँगै चार्जर नदिँदा पाँच लाख ५० हजार टन धातु बचत भएको समेत दाबी प्रस्तुत गरेको छ ।

वातावरण संरक्षण सम्बन्धी आफ्नो ट्रान्सक्रिप्टमा पुनः जोड दिँदै एप्पलले भनेको छ, ‘अब चार्जर समावेश हुने छैन, यो परिवर्तन वास्तवमै ‘बोल्ड’ छ । अनुमान गरिए अनुसार हामीले पाँच लाख ५० हजार तामा, टिन र  जस्ता धातु जोगाएका छौँ । पृथ्वीको स्रोत साधनको न्यूनतम दोहन गर्ने कुराको छुट्टै अर्थ छ ।’

एप्पलको दाबीमा पृथ्वीको प्राकृतिक संसाधन जोगाएको कुरा मात्र छैन, आफ्नो नयाँ नीतिले आईफोन प्रोडक्टको बक्स बेर्न प्रयोग हुने प्लास्टिक फिल्म समेत पूर्ण रुपमा हटाइएको समेत उल्लेख गरेको छ ।

त्यस हिसाबले यसमा प्रयोग हुने ६०० टन प्लास्टिकको प्रयोग समेत कम भएको छ । प्रयोगकर्ताका लागि एप्पलको यस किसिमको व्याख्याको कुनै अर्थ छैन । विभिन्न अनलाइन माध्यमहरूमा इन्टरनेट प्रयोगकर्ताहरूले एप्पलको यस किसिमको चलाख प्रवृत्तिको खोइरो खनेका छन् ।

एक जना प्रयोगकर्ताले भनेका छन् , ‘के तपाईँले अब चार्जर किन्नु पर्दैन ? एप्पलको यो कदम आईफोनमा चार्जर नै चाहिँदैन भन्ने किसिमको भयो ।’

अर्का एक जनाले भनेका छन्, ‘त्यसो हो भने तपाईँ एप्पल नै नबनाउनुहोस्, त्यो झन् वातावरणमैत्री नहोला त ?’ एप्पलले आईफोनसँगै चार्जर नराख्ने निर्णय लिनु पछिको वास्तविक कारण त बाह्य विश्वलाई थाहा छैन ।

तर एउटा कुरा निश्चित के छ भने निःशुल्क रुपमा चार्जर दिने कार्य बन्द गर्नु एप्पलको व्यवसायका लागि राम्रो कुरा हो । बक्सबाट चार्जर र एयरपड हटाउँदा एप्पलले समग्रमा ६.५ अर्ब अमेरिकी डलर जोगाएको छ । यी एक्सेसरिज हटाएपछि पनि एप्पलले आफ्ना स्मार्टफोनको मूल्य भने घटाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२