close

डेलको पोर्टेबल सीपीयू, कसरी गर्छ काम ?

सुसन चापागाईं सुसन चापागाईं

बैशाख १३, २०७९ १३:४४

डेलको पोर्टेबल सीपीयू, कसरी गर्छ काम ?

काठमाडाैं । नेपाली बजारमा डेल अप्टिप्लेक्स माइक्राे ३०८० भित्रिएकाे छ । यो पोर्टेबल सीपीयू हो, जसलाई वर्कस्टेशन पनि भन्ने गरिन्छ । कर्पोरेट अफिस, अकाउन्टिङ वा अफिसियल कामका लागि यो उपयुक्त छ ।

डेस्कटप सीपीयू यसको दाँजोमा निकै भारी हुन्छ, साइज पनि ठूलो हुन्छ, अनि यसलाई राख्न छुट्टै कम्प्युटर टेबल चाहिन्छ । तर वर्कस्टेसन सानो र पोर्टेबल छ ।

ल्यापटपभन्दा पनि सानो भएकाले यसलाई जस्तोसुकै ठाउँमा राखेर चलाउन सकिन्छ । त्यसैले अफिस वा घरको धेरै स्पेस यसले खाँदैन । हेर्दा पनि व्यवस्थित र स्ट्याण्डर्ड देखिन्छ ।

कतै सार्नपर्‍यो वा लैजानपर्‍यो भने पनि कुनै झन्झट हुँदैन । यसले नर्मल डेस्कटपले जस्तै काम गर्छ । आवश्यकता अनुसार स्टोरेज वा र्‍याम बढाउन मिल्छ । यस्तै विशेषताका कारण कर्पोरेट अफिस, विद्यालयलगायत विभिन्न कार्यालय प्रयोजनका लागि वर्कस्टेशनको प्रयोग गर्न थालिएको छ ।

यसैलाई मध्यनजर गर्दै डेलले अप्टिप्लेक्स माइक्रो ३०८० ल्याएको हुनुपर्छ, जसमा आरपीएममा आधारित (RPM based) ओपनसोर्स फेडोरा अपरेटिङ सिस्टम छ ।

विन्डोजको सट्टा डेलले यो वर्कस्टेशनमा लिनक्स ओएस राख्दा हामी उपभोक्तालाई चाहिँ थोरै सस्तो पर्न आउँछ । त्यसैले लिनक्स  चलाउनेहरुले यो किन्दा फाइदा हुने भयो ।

तपाईंको अफिसमा विन्डाेज नै धेरै प्रयोग हुन्छ भने यसको अपरेटिङ सिस्टम नै परिवर्तन गर्नुपर्ने हुन्छ । जुन काम अप्ठ्यारो छैन, तैपनि नयाँ डिभाइस किनेर अपरेटिङ सिस्टम परिवर्तन गर्नु अलि अस्वभाविक हुनसक्छ ।

इन्टेल कोर आईथ्री- १०१०५टीT प्रोसेसर भएको यो डिभाइसमा इन्टेलको यूएचडी ६३० ग्राफिक्स रहेको छ । टेन्थ जेनको आईथ्री प्रोसेसर भएको हुनाले अकाउन्टिङ लगायतका सफ्टवेयर सजिलैसँग चल्छ ।

१ टीबी एचडीडी भएको हुनाले स्टाेरेज पर्याप्त नै हुन्छ । कम्प्युटर अझै फास्ट बनाउन मन छ भने एचडीडी हटाएर एसएसडी कार्ड राख्न पनि सक्नुहुन्छ । तर यसमा एसएसडी र ग्राफिक्सका लागि छुट्टै स्लट छैन ।

पोर्ट र स्लटको कुरा गर्दा यसको फ्रन्ट भागमा युनिभर्सल अडियो ज्याक पोर्ट रहेको छ । त्यसपछि type – A  3 .2 gen -1 पोर्ट दुईवटा रहेको छ । पछाडि पावरको पोर्टसँगै डिस्प्ले र  एचडीएमआई पोर्ट रहेको छ । त्यस्तै अर्को दुईवटा 3.2 gen 1 यूएसबी पोर्ट र दुईवटा नर्मल यूएसबी पोर्ट रहेका छन् ।

अन्तमा इन्टरनेट कनेक्सनका लागि RJ45 का लागि पोर्ट दिइएको छ । साथमा एउटा एन्टेना पनि छ, जसले वाई-फाई कनेक्सनको काम गर्छ । यसमा सिधै वाई-फाई कनेक्ट गर्न सकिने भएकाले ल्यान केवल तानिरहनु पर्ने झन्झट हुँदैन, जसले वर्किङ स्पेसलाई व्यवस्थित बनाउन थप मद्धत गर्छ ।

एचडीएमआई केबलमार्फत हामीले स्मार्ट टिभीलाई पनि मनिटरको रुपमा प्रयोग गर्न सक्छौं । प्रिजेन्टेसन देखाउनुपरेको खण्डमा सीपीयू खासै पोर्टेवल हुँदैन । त्यस्तो अवस्थाका लागि पनि यो उपयोगी हुन्छ ।

अडियोका लागि यसैमा स्पिकर पनि राखिएको छ, जसले गर्दा नर्मल युजका लागि तपाईंले छुट्टै स्पिकर किनी राख्नुपर्दैन । तर यससँग मनिटर चाहिँ आउँदैन । त्यसैले आफ्नो आवश्यकता अनुसारको मनिटर तपाईंले छुट्टै किन्नुपर्छ ।

अथवा अन्य मनिटर छ भने त्यसैलाई प्रयोग गर्न पनि सकिन्छ । कुरा गर्नु पर्दा भने टेन्थ जेन इन्टेल कोर आईथ्री प्राेसेसर भएकाे हुनाले आईफाइभ/आईसेभेनको जस्तो खोजेर पाइँदैन । तर पनि Targeted customer का लागि भने यसको पर्फर्मेन्स पर्याप्त नै हुन्छ ।

कर्पोरेट मार्केटमा चलाइने ट्याली, स्वस्तिक लगायतका  अकाउन्टिङ सफ्टवेयर यसमा मजाले चलाउन सकिन्छ । Fedora os भएको हुनाले UI भने निकै अप्ठेरो लाग्न सक्छ ।  

लिनक्स कै डेबियनमा आधारित उबुन्टु चलाउने मलाइ RPM based Fedora चलाउदा कता कता अप्ठेरो  महसुस भने भएको थियो।  माइक्रोसफ्ट प्याकेजको अप्सनमा यसमा  लिब्रे अफिस प्याकेज हुन्छ। जसबाट एक्सेल ,अफिस वर्डको काम गर्न सकिन्छ ।

र्‍याम कम हुनुका साथै आईथ्री प्रोसेसर भएको हुनाले गेमिङ, डिजाइनिङ, एडिटिङका लागि भने यो डिभाइस खासै उपयोगी देखिँदैन ।

कर्पोरेट कामलाई लक्षित गरेर ल्याइएको यो वर्कस्टेसन बिजनेस हाउस, बैंक तथा वित्तीय संस्था, मिनी मार्केट, सुपर मार्केटका लागि उपयोगी हुन्छ । ठाउँ निकै कम खाने, अत्यन्तै पोर्टेबल, हेर्दा पनि स्ट्याण्डर्ड देखिने हुनाले कर्पोरेट कामका लागि ठूला सीपीयूभन्दा यो उत्तम हुनसक्छ ।

बिजुली खपतको हिसाबले यसलाई किफायती मान्न सकिन्छ । यो वर्कस्टेशन नियोस्टोरले उपलब्ध गराइरहेको छ । वर्कस्टेसन किन्दा बक्सभित्र किबोर्ड, माउस र ६५ वाट एडाप्टर बाहेक अरु आउँदैन ।  

नियोस्टोरमा यसको मूल्य ६५ हजार ४५५ रूपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२