close

परीक्षा तयारी गर्न सघाउने अनलाइन प्लेटफर्म, जसले १ वर्षमै कमायो डेढ करोड

अर्पना आले मगर अर्पना आले मगर

बैशाख १३, २०७९ १४:४९

परीक्षा तयारी गर्न सघाउने अनलाइन प्लेटफर्म, जसले १ वर्षमै कमायो डेढ करोड

काठमाडौं । बजारमा यस्ता धेरै व्यवसाय छन्, जुन आफ्नै भोगाइ र समस्या समाधान गर्ने उद्देश्यसहित सुरु भएका छन् । यही भिडमा एउटा उदाहरणीय नाम हो, क्ल्याम्पहुक

क्याम्पस पढ्दा परीक्षा तयारी गर्न उचित विकल्प नभएपछि उनीहरूकाे दिनमा नयाँ बिजनेस आइडिया जन्मियाे ।

‘काठमाडौं बसाईंको खर्च अनि तयारी कक्षाको खर्च सबैको पहुँचमा हुँदैन । यो समस्या धेरै पुरानो हो र हामी आफैंले पनि भोगेँका हौं । यसको समाधानका लागि क्ल्याम्पहुक सुरु गरेका हौं,’ कम्पनीका सहसंस्थापक एवं प्रमुख प्राविधिक अधिकृत विप्लव कार्कीले भने ।

क्ल्याम्पहुकका संस्थापकहरू सबै विद्यार्थी हुन् । उनीहरू चार फरक जिल्लाबाट काठमाडौंमा इन्जिनियरिङ पढ्न आएका थिए । यिनै विद्यार्थीले आफ्नो समस्यालाई आयस्रोतको बाटो बनाउँदा क्ल्याम्पहुकको जन्म भएको हो ।

क्ल्याम्पहुकको संस्थापक टिममा लमजुङका विप्लव कार्की (प्रमुख प्राविधिक अधिकृत), नेपालगन्जका नवीनराज चौलागाईं (प्रमुख शिक्षा अधिकृत), रामेछापका दिनेश प्रधान (सञ्चालन प्रमुख) र काठमाडौंकै बिक्की छन्त्याल (प्रमुख कार्यकारी अधिकृत) छन् ।

कोरोना महामारीको समयमा देश पुरै लकडाउनमा पर्दा सुरु भएको क्ल्याम्पहुकले गत वर्ष तीन हजारभन्दा बढी विद्यार्थीलाई इन्जिनियरिङ, लोकसेवा, एमबीबीएस लगायतका विभिन्न संकायको प्रवेश परीक्षाको लागि तयारी कक्षा उपलब्ध गराएकाे थियाे ।

‘पहिलो लकडाउन हुँदा हाम्रो सीईओ बिक्की छन्त्यालको स्नातक तह सकिएको थियो भने बाँकी हामी तीनजना अन्तिम वर्षमा थियौं,’ विप्लवले भने, ‘उपत्यका बाहिरबाट काठमाडौं आउनु र तयारी कक्षामा सहभागी हुँदाका समस्या हामीले भोगेका थियौं । यस्तै समस्या भोग्ने अरु पनि थिए । अर्कोतिर कोभिडको बेलामा अनलाइन कक्षाले गति लियो । यही मौकाको फाइदा लिएर हामीले क्ल्याम्पहुक सुरु गर्‍यौं।’

लकडाउनको समयमा पढ्न चाहेका विद्यार्थी र निःशुल्क सेवाले गर्दा क्ल्याम्हुकको प्रवर्द्धन हुन धेरै लामो समय लागेन ।

सुरुवातको समयदेखि ने यसले विद्यार्थीहरूको बीचमा राम्रो चर्चा कमायो । निःशुल्क प्रदान गरिएको कक्षामा करिब ५०० जना विद्यार्थी सहभागी थिए ।

फलस्वरुप कक्षामा मागहरू पनि बढ्न थाले भने विद्यार्थीको संख्या पनि बढ्दै गयो ।

‘सुरुमा लकडाउनको बेला विद्यार्थीहरूलाई प्रवेश परीक्षाका लागि तयारी कक्षामा सहयोग हुन्छ भनेर अनलाइन नोटहरू, पासआउट विद्यार्थीहरूबाट तयारीको लागि टिप्स लगायत केही शिक्षकहरूबाट कक्षा नै निःशुल्क रुपमा नै सञ्चालन गरेका थियौं,’ कार्कीले भने, ‘तर समयसँगै अगाडि जाँदा कक्षाहरूको प्रतिक्रिया राम्रो आउन थाल्यो हामीले यसलाई अगाडि बढाउन अब व्यावसायिक रुपमा नै अगाडि बढ्नुपर्छ भन्ने सोचेर आगामी योजना बनाउन सुरु गर्यौं ।’

कुनै पनि व्यवसाय सुरु गर्नुपूर्व अन्य तयारी सँगसँगै सबैभन्दा सुरुमा आवश्यक पर्ने कुरा हो, लगानी । सबै पढ्दै गरेका विद्यार्थीहरू । व्यावसायिक रुपमा अगाडि बढ्ने भन्ने त सोचियो, तर लगानी कहाँबाट जुटाउने ?

यस्तो समयमा पारिवारिक सहयोगले निकै हौसला दिने विप्लव बताउँछन् ।

‘व्यावसायिक रुपमा अगाडि बढ्नका लागि हामीले लगानी जुटाउनुपर्ने थियो । सीईओ बिक्कीले काम पनि गरिरहेको हुँदा उहाँलाई लगानी जुटाउन समस्या भएन । तर टिममा अन्य तीन जनाको आम्दानी नहुँदा हाम्रो जाने ठाउँ परिवार नै थियाे,’ उनले भने, ‘आ-आफ्नो परिवारबाट आएको सहयोगले हामीलाई कम्पनीको लागि लगानी जुटाउन सहज भयो ।’

पाँच लाख रुपैयाँमा सुरु भएको कम्पनीले व्यावसायिक रुपमा सञ्चालनमा आइसकेपछि पहिलो वर्ष (२०७८) मै डेढ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

त्यो समयमा अनलाइन माध्यमबाट हुने कक्षाहरू नै एकदम न्यून संख्यामा थिए, झन् तयारी कक्षा त्यसमाथि पनि अनलाइन माध्यमबाट हुने त कुरा नै भएन ।

यो कुराको फाइदा भयो क्ल्याम्पहुकलाई ।

‘धेरैजसो विद्यार्थीहरू अफलाइन माध्यममा नै पढ्न रुचाउँछन् । अनलाइनको अभ्यास धेरै नभएका कारण पनि विद्यार्थीहरूलाई बुझाउनु नै हाम्रो लागि मुख्य चुनौती थियो,’ उनले भने ।

यद्यपि क्ल्याम्पहुकको सुरुवात हुँदा तयारी कक्षाहरू भौतिक रुपमा मात्र धेरै सञ्चालन हुनेहुँदा कम्पनीलाई सुरुवाती चरणमा भने धेरै अवसर थियाे । त्यसमाथि भौतिक रुपमा सञ्चालन हुने तयारी कक्षा धेरै नै महँगो हुने हुँदा धेरै विद्यार्थीहरूका लागि क्ल्याम्पहुक फाइदाजनक बन्याे ।

‘एकातिर विद्यार्थीहरू तयारी कक्षाकै लागि भनेर काठमाडौंसम्म आउनुपरेन । यसले उनीहरूको पढाई खर्चबाहेक हुने अन्य खर्च जोगायो । अर्कोतिर भौतिक कक्षाभन्दा अनलाइन कक्षा सस्तो पनि भएपछि आर्थिक रुपले पनि विद्यार्थीलाई सहज हुने भयो,’ उनले थपे ।

इन्जिनियरिङका विद्यार्थीहरूलाई मात्र लक्षित गरेर सुरु भएको क्ल्याम्पहुकले गत वर्ष भने अन्य विषयका विद्यार्थीहरूका लागि पनि तयारी कक्षा सञ्चालन गरेको उनले बताए ।

कक्षामा सहभागी हुन विद्यार्थीहरूले क्ल्याम्पहुकको वेबसाइटमा गएर आफूलाई आवश्यक कक्षाको लागि रजिस्टर गर्न सक्छन् । विद्यार्थीहरूको समयलाई ख्यालमा राख्दै हाल साझँको ६ बजेपछि लाइभ कक्षा सञ्चालन हुने गरेका छ ।

यद्यपि विद्यार्थीले लाइभ कक्षामा सहभागी हुन पाएनन् भने पनि लाइभ कक्षाको रेकर्डेड भर्सन हेरेर सो दिनमा भएको विषयवस्तु पढ्न सक्छन् ।

योसँगै विद्यार्थीहरूका लागि डिजिटल नोटको व्यवस्था समेत गरिएको छ भने परीक्षाकाे तयारीका लागि अभ्यास गर्न विभिन्न परीक्षाहरू पनि हुने गरेका छन् । विद्यार्थीहरूले वेबसाइटमा उपलब्ध सिस्टम अनुसार तुरुन्तै प्रश्नको जवाफ दिएर सो जवाफ सहि हो वा गलत भनेर आफैले मूल्याङ्कन पनि गर्नसक्ने कार्कीको भनाइ छ ।

विगत दुई वर्षमा १२ हजारभन्दा बढी विद्यार्थीहरूलाई कम्पनीले तयारी कक्षा दिइसकेको छ ।

‘हामीले अनुभवी शिक्षकहरूबाट नै कक्षा सञ्चालन गरेका छौं । पुल्चोकबाटै उत्तीर्ण भएका इन्जिनियर तथा अघिल्लो वर्षका आईओई टपर लगायतले पनि कक्षा दिने गर्छन्,’ कार्कीले भने, ‘शिक्षकहरूसँग उहाँहरूको सहजताको आधारमा सम्झौता गरी कक्षाहरू दिने गरेका छौं ।’

अहिले क्ल्याम्पहुकले न्यूनतम ८,००० रुपैयाँ देखि १२,००० रुपैयाँसम्मको तीनदेखि चार महिने तयारी कक्षा सञ्चालन भइरहेका छन् । आउने पाँच वर्षसम्ममा दुई लाख विद्यार्थीहरूलाई तयारी कक्षा दिने कम्पनीकाे याेजना छ ।

‘सुरुमा इन्जिनियरिङमा नै हामी बढी केन्द्रित भएपनि लोकसेवा लगायतका अन्य विषयहरूको तयारी कक्षाको माग पनि उत्तिकै छ । यसैले आउने दिनमा हाम्रो तयारी कक्षाको दायरालाई मागअनुसार बढाउँदै लाने हाम्रो योजना छ,’ कार्कीले भने । योसँगै केही शिक्षकहरू सँग मिलेर तयारी कक्षाको लागि इन्जिनियरिङका किताबहरूमा छाप्ने तयारीमा रहेको उनले बताए ।

हाल वेबसाइडमा मात्रै सिमित क्ल्याम्पहुकको पढाई आउने दिनमा छिट्टै नै मोबाइल एप मार्फत पनि सञ्चालन हुने उनले बताए ।

भौतिक अभ्यासबाट डिजिटलमा रुपान्तरण भइरहेको नेपाली शैक्षिक क्षेत्रमा अहिले पनि धेरैजनाले अनलाइन माध्यमलाई विश्वास नगर्ने उनको भनाइ छ ।

‘सुरुवाती दिनमा अनलाइन कक्षा पनि प्रभावकारी हुन्छ है भनेर हामीलाई बुझाउन जति गाह्रो भएको थियो । अहिलेको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘तर राम्रो पक्ष भनेको अनलाइन तयारी कक्षाहरूको संख्या बढ्दै गएको छ । व्यवासायिक रुपमा हामीलाई यसले चुनौती थपे पनि विद्यार्थीको लागि भने यो एउटा राम्रो अवसर हो । यसले डिजिटल शिक्षालाई प्रवर्द्धन पनि गर्ने विश्वास छ ।’

अबको भविष्य डिजिटल नै भएको हुँदा क्ल्याम्पहुकले भोलिको दिनमा राम्रो विकास गर्ने उनले विश्वास व्यक्त गरे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२