close

अब हुलाक सेवालाई ईकमर्सको डेलिभरीमा प्रयोग गरिने

टेकपाना टेकपाना

बैशाख १३, २०७९ १७:५३

अब हुलाक सेवालाई ईकमर्सको डेलिभरीमा प्रयोग गरिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुलाक सेवालाई ईकमर्सको डेलिभरीमा प्रयोग गर्ने प्रस्ताव अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम र बजेटको विषय अर्थमन्त्रालयसँग गरिएको छलफलमा सञ्चार मन्त्रालयले यस्तो योजना अगाडि सारेको हो । 

अर्थमन्त्रालयका अनुसार सञ्चार मन्त्रालयले हुलाक कार्यालयहरूलाई ई-कमर्स प्लेटफर्ममा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ । सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले मन्त्रालयको तर्फबाट प्रस्तुतीकरणका क्रममा हुलाक सेवा परम्परागत शैलीले चलेको भन्दै सुधारको खाँचो रहेको बताए ।

सञ्चार मन्त्रालयको प्रस्तुतीकरण पछि अर्थमन्त्री जनार्दन शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने कार्ययोजना ल्याउन र त्यसलाई आगामी आवको बजेटमै समावेश गर्न निर्देशन दिएका छन् ।  ‘हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौं । निजी क्षेत्रले कति प्रगति गरिसक्यो, हामी चाँहि यसरी पुरानै शैलीमा बसेर हुँदैन’ उनले भने ।

अर्थमन्त्री शर्माले पुराना जनशक्तिलाई अवकाश दिएर तथा नयाँ जनशक्ति भर्ना गरेर भएपनि हुलाक सेवालाई नयाँ ढङ्गबाट चलाउनुपर्ने आवश्यकता रहेको बताए । दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने सञ्चारको प्रस्तावमा अर्थ मन्त्री शर्माले उपयुक्त साझेदार खोजेर कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् ।

त्यस्तै सबै सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा तीन प्रतिशत रकम अनिवार्य रूपले कट्टा गर्ने र यसरी कट्टा गरेको रकम विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था लागू गर्ने प्रस्ताव पनि सञ्चार मन्त्रालयले अगाडि सारेको छ ।

‘सबै कार्यालयहरूबाट यसरी विज्ञापन वापत भुक्तानी हुने रकमको तीन प्रतिशत कट्टा गरी विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था हुने हो भने लोक कल्याणकारी विज्ञापनको बजेट विनियोजनमा चाप पर्ने छैन’ सञ्चार सचिव अर्यालले भने । 

सञ्चारमन्त्री कार्कीले आगामी आवको बजेटमा ठोस विषय वस्तुमात्रै समेटेर आर्थिक विकास केन्द्रित हुनुपर्ने सुझाव दिए । ‘यहाँ श्रीलङ्काको अर्थतन्त्रलाई देखाएर त्रास पैदा गर्ने काम भइरहेको छ । यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आउनुपर्छ’ उनले भने । 

छलफल कार्यक्रममा अर्थमन्त्री शर्मा प्रभाकर, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर, बजेट लेखन समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो । बैठकमा सञ्चार मन्त्रालयले नीति कार्यक्रम र बजेटमा समावेश गर्ने विषयबारे प्रस्तुतीकरण दिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२