close

पेट्रोलियम सवारीलाई बनाउने होइन त इलेक्ट्रिक ?

टेकपाना टेकपाना

बैशाख १३, २०७९ २०:०

पेट्रोलियम सवारीलाई बनाउने होइन त इलेक्ट्रिक ?

काठमाडौं । सुन्दर यातायातले पुराना पेट्रोलियम दुई पाङ्ग्रे सवारीलाई मोडिफाई (स्वरुप परिवर्तन गर्ने) गरेर विद्युतीय बनाउने काम सुरु गरेको छ।

पुराना तथा नयाँ दुवै दुई पाङ्ग्रे सवारीलाई विद्युतीय र पेट्रोलियम दुवै माध्यमबाट चलाउन मिल्ने बनाइएको हो । विगत छ महिनादेखि गरिएको परीक्षण सफल भएपश्चात सुन्दर यातायातले गत बिहीबारदेखि व्यावसायिक रुपमा पेट्रोलियम स्कुटरलाई हाइब्रिड अर्थात विद्युतीय र इन्धन दुवै माध्यमबाट प्रयोग गर्नमिल्ने बनाउन सुरु गरेको हो ।

‘कोही चालकले पेट्रोलियम स्कुटरलाई विद्युतीय पनि बनाउन चाहेको खण्डमा हामीले सो स्कुटरलाई मोडिफाई गर्नसक्छौं । यसरी मोडिफाई गरिएको स्कुटर चालकले आफ्नो आवश्यकता अनुसार पेट्रोलमा अथवा विद्युतीय रुपमा प्रयोग गर्न सक्नेछन्,’ सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । यसरी मोडिफाई गरिएको स्कुटर १०० किलोमिटर सम्म गुड्न सक्ने उनले बताएका छन् ।

हाललाई स्कुटरको डिक्कीको भागलाई प्रयोग गरेर ब्याट्री जडान गरी विद्युतीय स्वरुप दिइएको उनले बताए । यसरी मोडिफाई गरिएको सवारीमा कुनै समस्या नआउने र यदि आइहालेमा पनि कम्पनीले एक वर्षसम्मको वारेन्टी दिइने उनको भनाइ छ ।

‘अहिले पेट्रोलियम पदार्थको भाउ अत्याधिक मात्रामा बढेको छ । धेरै प्रयोगकर्ताहरू विद्युतीय सवारीतिर आकर्षित भइरहेका छन्  । यस्तोमा विद्युतीय सवारी प्रयोग गर्न चाहने प्रयोगकर्ताका लागि हामीले पेट्रोलले पनि चलाउने मिल्ने र विद्युतीय रुपमा पनि चलाउन मिल्ने व्यवस्था गरिदिएका हौं,’ उनले बताए ।

एउटा स्कुटर मोडिफाई हुन तीन दिनसम्म लाग्ने उनको भनाइ छ । यसरी मोडिफाई गर्दा बढीमा एक लाख ३० हजार रुपैयाँ सम्म मूल्य पर्ने उनले बताए ।

बाइकको हकमा भने डिजाइनले फरक पार्ने हुदाँ हाल सबै ब्रान्डको बाइक भने मोडिफाई गर्न नमिल्ने उनले बताए । यद्यपि स्कुटरको भने सबै ब्रान्डको स्कुटरलाई मोडिफाई गर्नमिल्ने उनले बताएका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२