close

आरोहीको सुरक्षाको लागि राख्ने भनिएको जीपीएस ट्र्याकरमा किन हुँदैछ ढिलाई ?

टेकपाना टेकपाना

बैशाख १४, २०७९ १७:१९

आरोहीको सुरक्षाको लागि राख्ने भनिएको जीपीएस ट्र्याकरमा किन हुँदैछ ढिलाई ?

काठमाडौं । हिमाल आरोहणको क्रममा आरोहीको सुरक्षाको लागि भन्दै पर्यटन विभागले आरोहीलाई जीपीएस ट्रयाकर मार्फत निगरानी गर्ने विषय अघि बढाएको थियो । विभागले जीपीएस ट्रयाकिङका लागि उपकरण समेत खरिद गरिसकेको छ ।

उपकरण खरिद गरेको एक वर्ष वितिसक्दा पनि प्रक्रिया अझै अघि बढ्न सकेको छैन । कोरोना महामारीको कारण काम अघि बढ्न नसकेको भन्दै विभागले यो वर्षको स्प्रिङ सिजन (बसन्त ऋतु) को आरोहणको क्रममा परीक्षण गर्ने तयारी गरेको थियो । तर यो पटक पनि आरोहीलाई जीपीएस ट्रयाकर मार्फत निगरानी गर्ने प्रक्रिया सुरु भएन ।

केही अघि मात्रै विभागका  महानिर्देशक तारानाथ अधिकारीले परीक्षण परियोजना अन्तर्गत केही सीमित आरोहीलाई उनीहरूकै सहमतिमा जीपीएस उपकरण सहित आरोहणमा पठाइने बताएका थिए । परीक्षणका लागि विभागले २० डिभाइस किन्ने भन्दै ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । आवश्यक तयारी नै नपुगेको भन्दै विभागले यो पटक पनि यो कामलाई पछि सारेको छ ।

‘यो वर्ष परीक्षण सुरु गर्ने भन्ने कुरा भएको थियो तर आवश्यक तयारी पूरा नभएका कारण काम अगाडि नबढाएका हौं,’ विभाग अन्तर्गतको पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले बताए । उनका अनुसार यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरामा केही निर्णय नै भएको छैन ।

विशेषगरी सगरमाथा आरोहणमा जानेहरुमा यो प्रविधि लागू गर्ने भनेर निर्णय भएको कारण जीपीएस ट्रयाकिङको परीक्षण अब अर्को वर्षको स्प्रिङ सिजनमा मात्र अघि बढ्ने उनले बताए ।पर्वतारोहीहरू बिरामी परेको, अलपत्र भएको लगायतका केही घटनाहरू भएपछि विभागले आरोहीलाई जीपीएस ट्रयाकर मार्फत निगरानी गर्ने विषय उठाएको थियाे ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले यस विषयमा विभागले सरोकारवालासँग कुनै छलफल नै नगरेकाे बताउँछन् । ‘हामीले पनि यो विषयमा विगत दुई-तीन वर्षदेखि सुन्दै आएका हौं । तर ठ्याक्कै के कसरी गर्ने भन्ने विषयमा केही छलफल भएको छैन,’ उनले भने, ‘यो प्रकारको प्रविधिले आरोहीलाई आरोहणको क्रममा पर्न गएको समस्याबाट धेरै प्रभावित हुन नदिने गरी समयमा नै उद्दार गर्न सघाउँछ ।’

विदेशमा पनि एक्लै आरोहण गर्ने आरोहीको हकमा यो प्रविधि प्रभावकारी भएको भन्दै नेपालमा पनि आरोहीको सुरक्षाको लागि यो आवश्यक भएको उनले बताए । समूहमा आरोहण गर्नेको हकमा भन्दा पनि एक्लै हिमाल आरोहण गर्ने आरोहीको लागि यो बढी प्रभावकारी हुने उनी बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२