close

राइड शेयरिङ : अफलाइन यात्राले निम्त्याउँदै छ जोखिम

रन्जन कोइराला रन्जन कोइराला

बैशाख १५, २०७९ ८:२०

राइड शेयरिङ : अफलाइन यात्राले निम्त्याउँदै छ जोखिम

काठमाडौं । पछिल्लो समय काठमाडाैं उपत्यकामा राइड सेवा सामान्य बनेकाे छ । आफ्नो सवारी नहुने वा सार्वजनिक यात्राको विकल्पमा राइड शेयरिङलाई धेरैले रुचाएका छन् । सवारी नहुनेले सुविधा पाउने र हुनेले राइडर बनेर आम्दानी गर्नसक्ने यस्ताे व्यावसायिक मोडल आर्थिक उपार्जनको विकल्प पनि बनेको छ ।

पठाओ नेपालकी बजार प्रबन्धक एवं प्रवक्ता सुरक्षा हमालका अनुसार पठाओमा मात्रै पछिल्लो समय दैनिक ८० हजारको हाराहारीमा राइड भइरहेको छ । यसको अर्थ हो, दैनिक ८० हजार ग्राहक पठाओमार्फत एक ठाउँबाट अर्को स्थानमा जाने गर्छन् ।

राइड शेयरिङ एपको लोकप्रियताको यो एउटा उदाहरणमात्रै हाे । नेपाली बजारमा पठाओजस्तै अन्य राइड शेयरिङ सेवा प्रदायक पनि छन् । सबैले दिने सेवालाई मिलाउने हो भने दैनिक लाखौं एक अर्कोसँग यात्रा शेयर गरिरहेका छन् ।

यात्रा शेयर त एउटा पाटो भयो । त्योभन्दा पनि महत्त्वपूर्ण पक्ष रोजगारी र अवसर हो ।

‘राइडरले एक महिनाको अवधिमा एक लाखसम्म पनि आम्दानी गर्ने गरेका छन्,’ हमाल भन्छिन्, ‘जोसँग बाइक छ र रोजगारी छैन, त्यस्ता व्यक्तिका लागि यो एउटा उत्तम अवसर हो ।’

रोजगारी भएर पनि पार्ट टाइम गर्छु भन्नेले समेत दैनिक एक हजारदेखि १५ सयसम्म कमाउने गरेकाे उनले सुनाइन् ।

अझ कोभिड-१९ ले निम्त्याएको रोजगारीको विकराल अवस्थामा राइड शेयररिङ अवसर बनेको छ । कोभिड-१९ सँगै धेरै कम्पनी बन्द भए । कतिपय कम्पनीले कर्मचारीलाई निकाले । रोजगारी गुमेको अवस्थामा आफ्नो परिवार पाल्ने विकल्पको रुपमा पनि पठाओजस्ता राइड शेयरिङ सेवामा मानिस जोडिएको हमाल बताउँछिन् ।

उनी भन्छिन, ‘कोभिडसँगै राइडरको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हाल पठाओमा मात्रै डेढ लाखभन्दा बढी दर्ता भएर तालिम लिएका राइडर छन् । कोभिडसँगै राइड शेयरिङमा फुलटाइम काम गर्नेको संख्यमा पनि धेरै भएको छ । आज हामीसँग दर्ता भएकामध्ये ७० प्रतिशत फुलटाइम काम गरिरहेका छन् भने ३० प्रतिशत पार्टटाइम काम गरिरहेका छन् ।’

माेबाइलमार्फत् आफूले चाहेको स्थानमा राइडर बोलाउने र आफ्नो गन्तव्यमा पुग्ने सहज माध्यम बनेकाे राइड शेयरिङ सेवामा पछिल्लो समय भने नकारात्मक अभ्यास मौलाउन थालेको छ । पछिल्लो ६ महिनायता राइड शेयरिङमा अफलाइन सेवा मौलाउँदै गएको सेवा प्रदायक बताउँछन् ।

राइड शेयरिङ एपमा दर्ता भएका राइडरले चोकमा उभिएर पठाओ-टुटल सेवा दिने भन्दै बाेलाउने प्रवृत्ति माैलाएको छ । यो अभ्यास बढ्दै गएको हमाल पनि स्वीकार्छिन् । त्यति मात्रै नभएर सुरुमा अर्डर लिने र ग्राहकलाई भेटेपश्चात ‘क्यान्सिल’ गर्न लगाएर तोकिएको स्थानसम्म पुर्‍याउने गरेको घटनासमेत धेरै भएकाे उनी बताउँछिन् ।

राइड शेयरिङ सेवा सञ्ञ्चालन गर्ने कम्पनीलाई दिनुपर्ने कमिसन छल्न यस्तो अभ्यास माैलाएको हो । राइड शेयरिङ एपमा आवद्ध भएबापत् राइडरले कम्पनीलाई आफ्नो आम्दानीको निश्चित प्रतिशत कमिसन दिनुपर्ने हुन्छ । यही कमिसन नै राइड शेयरिङ सेवा प्रदायक कम्पनीको आयस्रोत हो ।

सेवा प्रदायक कम्पनीलाई कमिसन दिनु नपरोस् भनेर पछिल्लो समय मौलाएको ‘अफलाइन राइड’ को प्रचलनले यात्रु र राइडर दुवैलाई चुनौति थपेको छ । जसको ज्वलन्त उदाहरण गत माघमा भएको एउटा घटना । त्यतिबेला ललितपुरमा पठाओ राइडरको अपहरण भएको थियो ।

राति करिब ११ बजेको समयमा काठमाडौं कोटेश्वरबाट धापाखेल पुर्‍याउन गएका २१ वर्षीय पठाओ राइडर यात्रुबाटै अपहरणमा परेका थिए । प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको पल्सर मोटरसाइकल चालक पठाओ राइडर सुमन तामाङ काठमाडौं बस्ने २५ वर्षका प्रवीन राईको अनुरोधमा कोटेश्वरबाट धापाखेलस्थिति आँखीदह पुर्‍याउन गएका थिए ।

तर भाडा दिनुको साटो सोही ठाउँमा पर्खिरहेका मिनराज राईसँग मिलेर यात्रुको रुपमा रहेका प्रविन राईले पठाओ राइडर तामाङलाई कुटपिट गरे । त्यसपछि राइडरको हात पछाडिबाट र खुट्टा समेत बाँधेर मुखमा पट्टी लगाइदिए । अनि बाटोको तल झाडीमा फालिदिए ।

त्यसपछि ती राइडरको मोटरसाइकल, ब्लुबुक, सामसङ ए५० मोबाइल र धनमाल समेत लुटेर दुवै फरार भए । स्थानीयले राइडरलाई बाँधेर फालेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । यो परिदृष्य अफलाइन यात्राबाट उब्जेकाे एउटा डरलाग्दो घटना हो ।

यो घटनाभएसँगै अनुसन्धानको क्रममा पठाओ चालक प्रविन राईले अफलाइन सेवा दिएको देखिएको थियो । राईको अन्तिम राइड सामाखुसीदेखि कोटेश्वरसम्मको मात्रै थियो । उनी लुटिएको यात्राको विवरण पठाको विवरणमा देखिएन ।

पठाओका अनुसार, ‘रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको छ । कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध छैन ।’

यो परिदृष्य एउटा उदाहरणमात्रै हो । पछिल्लो समय यस्ता धेरै घटना भइरहेका छन् । यो घटनामा राइडर आफैं पीडित भएका छन् । भने, कतिपय घटनामा यात्रु नै राइडरबाट पीडित बन्नु परेको पनि देखिन्छ ।

मोबाइल एपमार्फत् राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण रेकर्डमा हुँदैन । यस्तो अभ्यासले सुरक्षा चुनाैती बढ्दै गएको सेवा प्रदायक बताउँछन् ।

हमाल भन्छिन्, ‘कुन राइडमा कस्तो मनशाय भएको व्यक्ति पर्छ भन्ने कुरा थाहा हुँदैन । त्यो हुँदा अफलाइन राइडमा आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्छन् ।’

अनलाइन राइडको हकमा कसैले गलत गरिहालेमा व्यक्तिगत विवरण, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको सिस्टममा हुने हुँदा सप्रमाण प्रहरीमा उजुरी दिन सकिन्छ र सो जानकारीका आधारमा पीडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुने हमाल बताउँछिन् ।

त्यति मात्रै नभएर पठाओजस्ता राइड सेयरिङ सेवा प्रदायकले यात्रु र राइडरको बीमा पनि सुरू गरेका छन् । यदि एपमार्फत राइड लिएको छ भने यात्राका क्रममा दुर्घटना भएको खण्डमा सेवाग्राही तथा राइडरले दुर्घटना उपचार बीमा पाउँछन् ।

सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा १० लाखसम्म बीमा दाबी गर्न सकिने हमाल बताउँछिन् । तर, अफलाइन राइड लिँदा यो बीमा सुविधा समेत पाइँदैन । त्यो हिसाबले पनि प्रयोगकर्ता तथा राइडर दुवै सजग हुनुपर्ने हमालकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२