close

‘असुरक्षाका कारण महिलाहरू इन्टरनेट पहुँचबाट टाढा भए’

टेकपाना टेकपाना

बैशाख १५, २०७९ १४:१८

‘असुरक्षाका कारण महिलाहरू इन्टरनेट पहुँचबाट टाढा भए’

-रोजाकिरण वासुकला

विश्वमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को क्षेत्रमा महिलाहरूको न्यून उपस्थिति रहेको तीतो यथार्थ छ । यसैलाई स्वीकार गर्दै आईसीटीको क्षेत्रमा महिलाहरूको सहभागिता उल्लेख्य रुपमा वृद्धि गर्न विश्वव्यापी पहलको रुपमा सन् २०१० मा सम्पन्न ‘आईटीयू प्लेनिपोटेनरी कन्फ्रेन्स’मा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का सदस्य राष्ट्रहरूले प्रतिवद्धता जनाए ।

त्यसै अनुरूप सन् २०११ देखि विश्वव्यापी रुपमा हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवस (इन्टरनेसनल गर्ल्स इन आईसीटी डे) मनाउन थालिएको हो ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलाहरूलाई जागरुक बनाउन विभिन्न कार्यक्रमहरूका साथै अभियानको रुपमा सञ्चालन गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सबै सदस्य राष्ट्रहरूलाई आह्वान गर्दै आएको छ ।

नेपालमा सन् २०१२ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (वर्ल्ड टेलिकम्युनिकेसन एन्ड इन्फरमेसन सोसाइटी डे) लाई नेपाल दूरसञ्चार प्राधिकरणले वमन एन्ड गर्ल्स इन आईसीटी डेको विषयमा कार्यशाला गोष्ठी सम्पन्न गर्‍यो । त्यस पश्चात औपचारिक रुपमा सन् २०१३ देखि सूचना तथा सञ्चार प्रविधिमा अन्तर्राष्ट्रिय महिला दिवस अर्थात् इन्टरनेसनल गर्ल्स इन आईसीटी डे मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघले गरेको आह्वान अनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले यस दिवसको अवसरमा विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरी सन् २०१३ देखि २०१९ सम्म कार्यशाला गोष्ठी, सेमिनार, तालिम, प्रकाशन, छात्राबीच प्रतियोगिता, ह्याकाथन र प्रभातफेरी जस्ता कार्यक्रम गर्दै आएको थियो ।

त्यस्तै, सूचना तथा सञ्चार प्रविधिमा उत्कृष्ट योगदान पुर्‍याउने महिलाहरूको सम्मान, यस क्षेत्रमा महिलाहरूलाई प्रेरित गर्न उत्कृष्ट क्षमता प्रदान गर्ने संघ संस्थाहरूको सम्मान, आदिजस्ता कार्यक्रमहरू सञ्चालन गरी महिलाहरूलाई यस क्षेत्रमा सक्रिय सहभागिताको लागि अभियान सञ्चालन गरिएको थियो ।

कोभिड-१९ ले विश्वव्यापी असर गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आफ्ना सदस्य राष्‍ट्रहरूलाई सन् २०२० देखि भर्चुअल रुपमा समेत गर्ल्स इन आईसीटी डे सम्बन्धी कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको थियो। प्राधिकरणले सञ्चालन गरेका गर्ल्स इन आईसीटी डे सम्बन्धी कार्यक्रमहरूको अनुसरण गर्दै विभिन्न संघ संस्थाहरूले भौतिक तथा भर्चुअल कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सुरुवाती अवस्थामा “क्षितिज फैलाउ, प्रवृत्ति फेर” भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधिमा महिला सहभागिताको लागि कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गर्दै आएको छ ।

यसलाई दिवसको अभियानको रुपमा मात्रै सीमित नराखी हरेक दिन यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि सन् २०१८ को इन्टरनेसनल गर्ल्स इन आईसीटी डेदेखि “हरेक दिन आईसीटीमा महिला दिवस” भन्ने नाराका साथ विश्वव्यापी अभियान सञ्चालन हुँदै आएको छ ।

इन्टरनेटको जोखिमका कारण महिला तथा किशोरीहरू त्यसको पहुँचबाट टाढा भइरहेका छन् । त्यसैलाई महसुस गरी यस वर्ष अन्तर्राष्ट्रिय दूरसञ्चार संघले पहुँचमा महिलाको लागि सुरक्षित इन्टरनेट “पहुँच र सुरक्षा” को अवधारणामा कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरेको छ । जसअनुरूप विश्वव्यापी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको सन् २०२१ को विवरण अनुसार विश्वमा ५७ प्रतिशत महिलाहरू मात्रै इन्टरनेटको पहुँचमा छन् भने विज्ञान तथा प्रविधिको क्षेत्रमा ३० प्रतिशत मात्रै महिला छन् । महिलाहरूलाई इन्टरनेटको पहुँचमा पुर्‍याउन तथा सुरक्षित इन्टरनेटको अनुभूति गराउन सके मात्रै डिजिटल क्षमता अभिवृद्धि गरी विज्ञान, प्रविधि, गणित तथा इन्जिनियरिङ विषयमा आधारित सूचना तथा सञ्चार प्रविधिमैत्री पेशामा महिलाहरूको उल्लेख्य सहभागिता जुटाउन सकिनेछ ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्र अन्य क्षेत्रको सहजिकरणमा हातेमालो गर्दै अघि बढ्न सकिने क्षेत्र भएको र महिलाहरूलाई यस क्षेत्रमा सक्रिय सहभागिता गराएमा संयुक्त राष्ट्र संघले अगाडि सारेको लैंगिक समानता, गरिबी निवारण तथा भोकमरी नियन्त्रण जस्ता दिगो विकासका लक्ष्य पूर्तिका सहयोग पुग्ने देखिन्छ ।

ब्रोडब्यान्ड नीति २०७१ को बूँदा ११.३.११ मा लैंगिक विभेद मुक्त सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने र सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ मा लैंगिक असमानता कम गर्नुका साथै लैंगिक हिंसा रोकथाम गर्ने र लैंगिक हिंसा सम्बन्धी उजुरी प्रक्रिया सहज बनाउन तथा त्यस प्रकारका घटनाहरू सम्बोधनमा समन्वय प्रबर्द्वन गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई बढाइने उल्लेख छ ।

त्यस्तै ग्रामीण क्षेत्रमा विभिन्न सरकारी एवं गैर सरकारी संस्थाहरू मार्फत युवा तथा महिलाहरूलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिने, सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत युवा तथा महिलाहरूलाई राष्ट्रिय नीति निर्माण, योजना तर्जुमा लगायतका प्रक्रियाहरूमा सहभागी गराइने र स्टार्टअप लगायत इन्क्युबेटर परियोजनाको प्रबर्द्धन मार्फत युवा तथा महिलाहरूमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उद्यमशीलता विकास गर्न नीतिगत व्यवस्था गरिने उल्लेख छ ।

त्यस अनुसार सरकारको ठोस नीति तथा कार्यक्रममा उपरोक्त व्यवस्था झल्किने सिर्जनात्मक कार्यक्रमहरू आयोजना गर्न जरुरी देखिन्छ । यसो भएमा मात्रै नेपाल सरकारले अवलम्बन गरेको डिजिटल नेपाल निर्माणमा महिलाहरुले समान सहभागिता जनाई पूर्ण योगदान पुर्‍याउन सक्ने अवस्था रहन्छ ।

सूचना तथा सञ्चार प्रविधिमा महिलाहरूको उपस्थितिलाई मापन गर्न सरकारी तथ्यांक निर्माण गर्नु पर्ने आवश्यकता समेत भइसकेको छ।

-लेखक बासुकला नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२