close

अन्तर्राष्ट्रिय ब्याण्डविथ खपतमा यस्तो छ नेपालको पछिल्लो १० वर्ष

टेकपाना टेकपाना

बैशाख १५, २०७९ १५:१८

अन्तर्राष्ट्रिय ब्याण्डविथ खपतमा यस्तो छ नेपालको पछिल्लो १० वर्ष

काठमाडौं । नेपालमा आयात हुने इन्टरनेटको अन्तर्राष्ट्रिय ब्यान्डविथ निरन्तर रुपमा बढिरहेको छ । अझ कोभिड-१९ पछि ब्याण्डविथको खपत उल्लेख्य वृद्धि भएको छ । स्थानीय साथै अन्तर्राष्ट्रिय ब्याण्डविथको खपत बढ्दा कोराना महामारीको समयमा धेरैले इन्टरनेट स्लो चलेको महसुस पनि गरेका थिए ।

किनभने जति धेरै इन्टरनेट प्रयोग गरिन्छ, त्यति नै धेरै ब्याण्डविथ खपत हुने हो । हाल नेपालमा अन्तर्राष्ट्रिय ब्याण्डविथको तुलनामा राष्ट्रिय ब्याण्डविथ नै बढी खपत हुने गरेको छ । तर, पनि अन्तर्राष्ट्रिय ब्याण्डविथको आयातमा कुनै कमी भएको छैन ।

नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जालको कन्टेन्ट बाहिरबाटै आउने हुँदा पनि यस्ताे अवस्था सिर्जना भएको हो । नेपालमा सन् २०२१ को जुलाईसम्मको तथ्याङ्क हेर्न हो भने कूल ८९८ जीबी अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात भएको देखिन्छ । जुन सन् २०२० को जुलाई महिनाको तुलनामा २४ प्रतिशतले बढी हो ।

सन् २०२० को जुलाईसम्म नेपालमा ७१७ जीबी इन्टरनेट ब्याण्डविथ आयात भएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाएको छ । यसरी ब्याण्डविथ आयात गर्नेमा सबैभन्दा अघि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक रहेको छ ।

वर्ल्डलिंकले मात्रै २७० जीबी अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याएको छ । त्यस्तै दोस्रो नम्बरमा नेपाल टेलिकम छ । नेपाल टेलिकमले ११३ जीबी र तेस्रो नम्बरमा रहेको भायानेट कम्युनिकेसनले ९० जीबी ल्याएको छ । यो नियामक निकाय दूरसञ्चार प्राधिकरणको तथ्याङ्क हो ।

वर्ल्ड बैंकले हालै ‘साउथ एसिया डिजिटल अपर्च्युनिटी’ प्रतिवेनदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार सन् २०२१ को जुनसम्म नेपालमा ४९८ जीबी अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ भित्रिएको छ ।

यो हिसाबले नियामकको तथ्याङ्क र वर्ल्ड बैंकले तयार पारेको प्रतिवेदनमा ठूलो अन्तर देखिएको छ । प्रतिवेदन अनुसार सन् २०१२ मा नेपालमा अन्तर्राष्ट्रिय ब्याण्डविथ ८ जीबीमात्रै भित्रिएको थियो ।

सन् २०१३ मा आइपुग्दा उक्त संख्या बढेर १२ पुगेको थियो भने सन् २०१४ मा १९ जीबी पुगेको थियो । सन् २०१५ मा आइपुग्दा ठूलो मात्रामा बढेर ६३ जीबी पुगेको देखिन्छ ।

सन् २०१६ मा १०७ जीबी भित्रिएको अन्तर्राष्ट्रिय ब्याण्डविथ सन् २०१७ मा १५३ जीबी पुगेको थियो । सन् २०१८ मा २२८ जीबी ब्याण्डविथ आयात भएकोमा सन् २०१९ मा ३१७ जीबी पुगेको देखिन्छ ।

त्यस्तै वर्ल्ड बैंकको प्रतिवेदन अनुसार सन् २०२० मा ३८९ जीबी ब्याण्डविथ आयात भएको थियो । भने, सन् २०२१ मा ४९८ जीबी ब्याण्डविथ आयात भएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२