close

इन्टरनेसनल स्पेस स्टेसनबाट बाहिरिँदै रुस, नासा र युरोपेली एजेन्सीसँग सहकार्य नगर्ने घोषणा

टेकपाना टेकपाना

बैशाख १८, २०७९ १२:१५

इन्टरनेसनल स्पेस स्टेसनबाट बाहिरिँदै रुस, नासा र युरोपेली एजेन्सीसँग सहकार्य नगर्ने घोषणा

काठमाडौं । रुसले इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) बाट बाहिरिने र अबदेखि नासा र युरोपेली स्पेस एजेन्सी (ईएसए) सँग कुनै सहकार्य नगर्ने घाेषणा गरेकाे छ ।

रुसको स्पेस कार्यक्रम ‘रसकसमस’ का प्रमुख दिमित्री रोगोजिनले रुसी सरकारको स्वामित्वमा रहेको टेलिभिजन (रोसिया २४) मा बोल्दै रुसी सरकारले अब आईएसएसमा कुनै सहकार्य नगर्ने बताएका हुन् ।

यस विषयमा निर्णय पहिले नै भइसकेको र अब कार्यन्वयनमा जाने उनले बताए । कहिलेदेखि रुस आईएसएसबाट बाहिरिदैछ भने उनले निश्चित मिति नभने पनि यस विषयमा निर्णय भइसकेको कुरा स्पष्ट पारेका छन् ।

यद्यपि आईएसएसबाट बाहिरिन एक वर्षको सूचना अविधि दिएर मात्र निस्कनुपर्ने हुदाँ सो नियम भने कार्यान्वयन गरिने उनले बताएका छन् ।

यो विषयलाई थप स्पष्ट गर्दै उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘रुसमाथि लगाइएको विभिन्न अवैधानिक प्रतिबन्ध हटाइएपछि भने आईएसएसमा पुनः फर्कने कुरामा सोच्न सकिनेछ ।’

संसारमा यदि रुस र अन्य पश्चिमा देशबीच कतै सहकार्य छ भने त्यो अन्तिरक्ष नै हो । विगत केही दशकमा रुसले धेरै अमेरिकी अन्तरिक्षयात्रीहरूलाई आईएसएसमा पुर्‍याउने र पृथ्वीमा फर्काउने काम गर्दै आएको थियो ।

यद्यपि यो काम पनि सन् २०२० देखि बन्द भएको थियो । यसको दुई वर्षपछि अमेरिका र रुसबीच २०२२ को फेब्रुअरीदेखि पुनः शेयरिङ फ्लाइट सुचारु गर्ने सहमति भएको थियो ।

तर रुसले युक्रेनमा आक्रमण गरेपछि यो निर्णय कार्यन्वयन हुन सकेन । अर्कोतिर पश्चिमा कम्पनीहरूले रुसमाथि प्रतिबन्ध लगाउन सुरु गर्‍यो । आफ्नो देशलाई अनावश्यक प्रतिबन्ध लगाइएको भन्दै रुसले आईएसएसबाट बाहिरिने निर्णय गरेको हो ।

यसपछि नासा र ईएसएले रुसबिना आईएसएस सञ्चालन गर्न सक्छन् वा सक्दैनन् भन्ने विषयमा चर्चा सुरु भएको छ । अहिले अमेरिका र रुस मिलेर आईएसएसलाई सञ्चालन गर्दै आएका छन् ।

यसले गर्दा रुसले आईएसएसबाट हात निकाल्दा अमेरिका एक्लैलाई पनि दबाब पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२