close

डिजिटल नेपाल निर्माणमा सबैले हातेमालो गरौं : प्रधानमन्त्री

टेकपाना टेकपाना

बैशाख १९, २०७९ ८:२०

डिजिटल नेपाल निर्माणमा सबैले हातेमालो गरौं : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षित र विश्वसनीय डिजिटल नेपाल निर्माणको अभियानमा सबैले हातेमालो गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

चौंथो राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस २०७९ का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले सञ्चार तथा सूचना प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामहरूको रूपान्तरण गर्न सकिने विचार राखे ।

मानव जीवनलाई सहज र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिको तीव्र विकास एक महत्तवपूर्ण आयाम भइसकेकाले सञ्चार तथा सूचना प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सकिने उनकाे भनाइ छ ।

‘सञ्चार तथा सूचना प्रविधिको विकास एवं विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को विषम परिस्थितिमा सञ्चार तथा सूचना प्रविधिको माध्यमबाट कार्य अगाडि बढाउन सचेतना बढाई अधिकतम उपयोग समेत भएको छ,’ शुभकामना सन्देशमा उनले भनेका छन् ।

सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा अभिवृद्धि गर्दा सोको गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नु जरूरी भइसकेकाे समेत उनले उल्लेख गरेका छन् ।

‘सञ्चार तथा सूचना प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामहरूको रूपान्तरण गर्न, सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिन, प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन आम नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैमा आग्रह गर्दछु,’ उनले भनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२