close

सप्लायर्स र ठूला बिक्रेताको अनलाइन भुक्तानीका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सहकार्य

टेकपाना टेकपाना

पुस २१, २०७६ १६:४६

सप्लायर्स र ठूला बिक्रेताको अनलाइन भुक्तानीका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सहकार्य

लक्ष्मी बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्रालिबीच इन्भोइस डिस्काउन्टिङ सेवाका लागि ‘क्वीक भुक्तानी’ सञ्चालनमा ल्याउने सम्झौता भएको छ । नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्मको रुपमा रहेको ‘क्वीक भुक्तानी’ युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्टले तयार पारेको हो ।

सम्झौताअनुसार लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई क्वीक भुक्तानीमार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भोइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ । त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग एफवान सफ्टले गर्नेछ ।

‘क्वीक भुक्तानी’ले अनलाइनमार्फत बिभिन्न सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता, सप्लायरहरु, क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउनेछ । सप्लायरहरुले यसको प्रयोग गरी आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणीत गर्न पाउँनेछन् ।

त्यही प्रमाणित बिल बैंकमा बुझाएर तुरुन्तै रकम भुक्तानी लिन सक्ने एफवान सफ्टले जनाएको छ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शूल्क कटौती गर्नेछ र तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ । अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै लाभदायक हुने विश्वास लक्ष्मी बैंक तथा एफवान सफ्टले लिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०