close

उम्मेदवारको प्रचार गर्न ठाउँ-ठाउँमा डिजिटल बोर्ड, तत्काल हटाउन आयोगको निर्देशन

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १६:३५

उम्मेदवारको प्रचार गर्न ठाउँ-ठाउँमा डिजिटल बोर्ड, तत्काल हटाउन आयोगको निर्देशन

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक स्थलमा आचारसंहिता विपरीत प्रचारप्रसार भइरहेको भन्दै निर्वाचन आयोगले सरोकारलाई सतर्क गराएको छ ।

एक सूचना जारी गर्दै आयोगले सार्वजनिक स्थलहरूमा डिजिटल डिस्प्ले, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएकाले तत्काल हटाउन निर्देशन दिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले चैत २५ देखि निर्वाचन आचार संहिता, २०७८ लागू गरेको छ ।

तर राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि, पत्रकार लगायतले आचारसंहिता विपरीत सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायतमा गतिविधि गरेको भन्दै निर्वाचन आयोगले ध्यानकर्षण गराएको छ ।

त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयासम्म जरिवाना गर्ने आयोगले जनाएको छ ।

साथै कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको सरोकारवालाहरुलाई स्मरण गराई कारवाहीका लागि आयोगमा सिफारिश गरी पठाउन सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन पठाइसकेको आयोगले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२