close

के प्रिपेड सिमलाई पोस्टपेड बनाउन मिल्छ ?

टेकपाना टेकपाना

बैशाख १९, २०७९ २१:४१

के प्रिपेड सिमलाई पोस्टपेड बनाउन मिल्छ ?

काठमाडौँ । टेलिकम कम्पनीहरूले नेपालमा विशेषगरी दुई किसिमका बिलिङ प्रणाली अपनाएका छन्, प्रिपेड र पोस्टपेड । प्रिपेड बिलिङ प्रक्रियाअन्तर्गत तपाईंले कल, एसएमएस तथा डेटा प्रयोग गर्नुभएको समयमा नै बिल तयार हुन्छ र त्यस वापतको रकम तपाईँको ब्यालेन्सबाट कट्टा गरिन्छ ।

तर पोस्टपेड बिलिङ प्रक्रियामा भने तपाईँले प्रयोग गरेका कल, एसएमएस तथा डेटाको शुल्क बिल तयार नगरी लेखांकन गरिन्छ र महिनामा एकपटक कुनै दिनमात्र बिल तयार गरिन्छ ।

प्रिपेडमा जस्तै पोस्टपेडमा पनि रिचार्ज कार्डमार्फत नै रिचार्ज गर्न सकिने भएपनि कल गर्न सस्तो र थप सुविधा हुने भएकाले पछिल्लो समय पोस्टपेड सिम प्रयोगकर्ता बढिरहेका छन् ।

नेपाल टेलिकम, एनसेल आजियाटा र स्मार्ट टेलिकमका सिमबाट भ्वाइस कल, डेटा लगायतका सेवा लिन सकिन्छ । त्यसैमा आफ्नो प्रिपेड सिमलाई पोस्टपेड बनाउन सकिन्छ कि सकिँदैन भन्ने धेरैको चासोको विषय हुनसक्छ ।

नेपाल टेलिकम:

सरकारी स्वामित्वको नेपाल टेलिकमको सिम प्रिपेडबाट पोस्टपेडमा परिवर्तन गर्न सकिँदैन । तर टेलिकम प्रयोगकर्ताले चाहेको खण्डमा आफ्नो सिमको पछाडिको पाँच अङ्क भने परिवर्तन गर्न सक्नेछन् ।

साथै नयाँ पोस्टपेड सिम लिनका लागि भने प्रयोगकर्ताले आफ्नो नागरिकताको एक प्रति प्रतिलिपि, फोटो लिएर आफू नजिकै रहेको नेपाल टेलिकमको डिलर वा कार्यालय जानुपर्छ । पोस्टपेड सिम निकाल्न पाँच सय रुपैयाँ शुल्क लाग्दछ ।

एनसेल:

एनसेलका प्रिपेड सिम प्रयोगकर्ताले पोष्टपेडमा परिवर्तन गरी सेवा लिन सक्छन् । तर पोष्टपेड प्रयोगकर्ताले भने प्रिपेडमा सिम परिवर्तन गर्न मिल्दैन ।

प्रिपेड सिमबाट पोष्टपेडमा परिवर्तन गर्नका लागि प्रयोगकर्ताले नागरिकताको एक प्रति प्रतिलिपि, एउटा पासपोर्ट साइज फोटो सहित नजिकै रहेको एनसेल सेन्टरमा गई आवेदन फारम भर्नुपर्दछ ।

आवश्यक सम्पूर्ण कागजात सहित पोष्टपेड सिम लिन चाहेको व्यक्तिले सुरुमा एक सय रुपैयाँ रेन्टल चार्ज बुझाउनुपर्छ ।

स्मार्ट टेलिकम :

स्मार्टले प्रिपेड सिम उपलब्ध गराउँदै आएको छ । तर हालसम्म पोस्टपेड सिम सेवा सुरु गरेको छैन ।

याे पनि पढ्नुहाेस् : पोस्टपेड मोबाइलमा ‘९८५१०’ नै चाहिने किन ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२