close

ट्याब्लेट बजारमा सामसङ र एप्पलको मात्र ६० प्रतिशत हिस्सा

टेकपाना टेकपाना

बैशाख २१, २०७९ १०:५०

ट्याब्लेट बजारमा सामसङ र एप्पलको मात्र ६० प्रतिशत हिस्सा

काठमाडौं । विश्वको ट्याब्लेट बजारमा सामसङ र एप्पलको मात्र संयुक्त रुपमा ६० प्रतिशत हिस्सा रहेको पाइएकाे छ । बजार अनुसन्धान गर्ने कम्पनी स्ट्राटिजि एनालिस्टले सार्वजनिक गरेको २०२२ को पहिलो त्रैमासिकको रिपोर्टमा उक्त कुरा उल्लेख गरिएको छ ।

रिपोर्टमा अनुसार एन्ड्रोइड ट्याब्लेटको बिक्रीमा पहिलो त्रैमासिकमा सामसङका मात्र ८२ लाख ट्याब्लेट बिक्री भएकाे छ । हुन त यो संख्या गत वर्षको सोही समयको भन्दा १.२ प्रतिशतले कम हो । यद्यपि यति हुँदा पनि सामसङको बजारलाई अर्को एन्ड्रोइड डिभाइसले ओगट्न सकेको छैन ।

साथै सामसङको बजार हिस्सा पनि १.८ प्रतिशतले बढेर २० प्रतिशत पुगेको छ । त्यस्तै एप्पलको पनि आईप्याडको आपूर्ती ६ प्रतिशतले घटेर एक करोड ५८ लाखवटामा मात्र सीमित भएको छ ।

यद्यपि पहिलो त्रैमासिकमा विश्व बजारको हिस्सा हेर्दा एप्पलको हिस्सा १.७ प्रतिशतले बढेर ३९ प्रतिशत पुगेको छ । यसरी एप्पल र सामसङको बजार हिस्सा जोड्दा यी दुईको मात्र ६० प्रतिशत बजार हिस्सा रहेको छ । 

प्रयोगकर्ताको लागि मूल्यको हिसाबले सामसङले तुलनात्मक रुपमा सस्तो ट्याब्लेट बजारमा ल्याएपनि प्रयोगकर्ताबीच भने एप्पलको ट्याब्लेट नै लोकप्रिय छ ।

रिपोर्टका अनुसार अमेजनको ट्याब्लेटको बजार हिस्सा ०.८ प्रतिशतले बढेर ९ प्रतिशत पुगेको छ । आपूर्तिको कुरा गर्दा भने अमेजनको आपूर्ति यो समयावधिमा १.३ प्रतिशतले कम भई ३७ लाखमा सीमित भएको छ ।

विश्वको ट्याब्लेटको बजार हिस्सामा सबैभन्दा धेरै हिस्सा हुने अमेजन तेस्रो नम्बरमा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२