close

बन्द हुने भयो युट्युब गो एप

टेकपाना टेकपाना

बैशाख २१, २०७९ १२:४९

बन्द हुने भयो युट्युब गो एप

काठमाडौं । यही वर्षको अगस्ट महिनादेखि युट्युबको लाइट भर्सन ‘युट्युब गो’ बन्द हुने भएको छ । इन्टरनेट कनेक्सन कमजाेर भएकाे अथवा राम्रो नेटवर्कको पहुँचमा नभएका प्रयोगकर्ताका लागि लक्षित गर्दै युट्युबले याे एप सन् २०१६ देखि सञ्चालनमा आएको थियो ।

यसबीच यो एपमा धेरै अपग्रेड आए, जसमध्ये केहीले मुख्य एपलाई सामान्य डिभाइसमा र इन्टरनेट कनेक्सन सुस्त भएको स्थानका प्रयोगकर्ताका लागि थप प्रभावकारी रूपमा युट्युब चलाउन सहयोग गरेको थियो ।

युट्युबको टोलीले अहिले मुख्य एपमा नै नयाँ काम गरिरहेकाे छ, जसले प्रयोगकर्तालाई आफ्नो मोबाइलको डेटा कम प्रयोग गरेर पनि युट्युब चलाउन मिल्ने सुविधा दिने बताइएको छ ।

यद्यपि यो नयाँ सुविधा कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । गो प्रयोगकर्तालाई पनि युट्युबको मुख्य एप नै डाउनलोड गर्न टोलीले सल्लाह दिइरहेको छ ।

सुरुवाती चरणमा युट्युब गो भारत र इन्डोनेसियामा उपलब्ध थियो । सन् २०१७ देखि भने यसलाई विश्वव्यापी रुपमा सार्वजनिक गरिएको थियो ।

सन् २०१८ सम्म आइपुग्दा युट्युब गो १३० भन्दा बढी देशमा उपलब्ध भइसकेको थियो । अब भने कम्पनीले यसलाई बन्द गर्ने निर्णय लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२