close

विन्डोज वा लिनक्स, तपाईँका लागि कुन उपयुक्त ?

सुसन चापागाईं सुसन चापागाईं

बैशाख २१, २०७९ २२:३८

विन्डोज वा लिनक्स, तपाईँका लागि कुन उपयुक्त ?

काठमाडौं । तपाईँ विन्डोज चलाउनुहुन्छ कि लिनक्स ? यदि दुवै चलाउनुहुन्छ भने कुन मन पर्छ ? तपाईँका लागि विन्डोज वा लिनक्स कुन अपरेटिङ सिस्टम उपयुक्त छ भन्ने बारेमा आज चर्चा गर्छौं ।

के हो त अपरेटिङ सिस्टम ?

अपरेटिङ सिस्टमले कम्प्युटरको सबै हार्डवेयर र सफ्टवेयर रिसोर्स म्यानेज गर्ने काम गर्छ । अपरेटिङ सिस्टम हार्डवेयर कम्पोनेन्ट र युजर (User) बीचको इन्टरफेस हो ।

यसले ग्राफिकल युजर इन्टरफेस (GUI) दिने, रिसोर्स एलोकेसन म्यानेज गर्ने, इनपुट/आउटपुट ह्यान्डल गर्ने, प्रोग्रामलाई प्रोसेसमा कन्भर्ट गर्नेजस्ता काम गर्छ । साथै यसले कम्प्युटरमा चलेका सबै प्रोग्रामसँग सहकार्य गर्छ ।

अपरेटिङ सिस्टमले सबै कम्प्युटर प्रोग्रामलाई सीपीयू, मेमोरी र स्टोरेजको एक्सेस दिन्छ । विन्डोज, लिनक्स, क्रोम ओएस, म्याक ओएस हामीले प्रयोग गर्दै आएका केही अपरेटिङ सिस्टम हुन् ।

यीमध्ये सबैभन्दा बढी विन्डोज प्रयोगमा छ भने लिनक्स पनि धेरैकाे राेजाइमा रहेकाे अपरेटिङ सिस्टम हो ।  

विन्डोज अपरेटिङ सिस्टम  

विन्डोज एक लाइसेन्सयुक्त अपरेटिङ सिस्टम हो ।  यो जो कोहीले पनि चलाउन सक्नेगरी सजिलैसँग डिजाइन गरिएको छ ।  विन्डोजको युजर इन्टरफेस निकै सहज छ । टर्मिनलमा कुनै कमाण्ड प्रयोग नगरी साधराण माउस क्लिकले नै काम गर्न सकिन्छ । युजर फ़्रेण्ड्ली भएको हुनाले जोकोहिले पनि सजिलैसँग चलाउनसक्छन् ।

माइक्रोसफ्ट अफिस, एडोबी फोटोशपका साथै धेरैजसो कम्प्युटर गेमहरु विन्डोजमा मात्र चल्छन् ।  लिनक्स, म्याक ओएस अपरेटिङ सिस्टमले यी फिचर सप्पोर्ट गर्दैनन् । 

ट्रबलशुटले नै कतिपय समस्या आफैं पहिचान गरेर समाधान गर्छ । टेक र नन-टेक सबैलाई चलाउन निकै सहज हुने भएको हुनाले विन्डोज अपरेटिङ सिस्टम निकै प्रयोगमा आएको छ ।  

लिनक्स अपरेटिङ सिस्टम 

लिनक्स एक ओपनसोर्स अपरेटिङ सिस्टम हो ।  यो युनिक्स स्ट्याण्डर्डमा आधारित छ, जसले प्रोग्रामिङलाई निकै सपोर्ट गर्छ ।ओपनसोर्स भएको हुनाले यसले युजरलाई ओरिजिनल कोड मोडिफाई गर्ने अनुमति दिन्छ । यसरी कोड मोडिफाई हुँदै जाँदा लिनक्सका धेरै डिस्ट्रिब्युसन उपलब्ध छन् ।

सर्भर सेटअपका लागि लिनक्स धेरैको पहिलो रोजाइमा पर्ने गरेको छ । विन्डोज र लिनक्स दुवैको आ-आफ्ना फाइदा र बेफाइदा छन् ।

यो लेखमा हामी तपाईँलाई तपाईँको आवश्यकताअनुसार अपरेटिङ सिस्टम चयन गर्न मद्दत गर्छौ । विभिन्न फ्याक्टरमा आधारित रहेर यी दुई अपरेटिङ सिस्टमलाई तुलना गर्नेछौं ।  

फ्रिडम 

विन्डोज एक लाइसेन्स अपरेटिङ सिस्टम हो ।  तपाईँलाई विन्डोज पूर्णरुपमा चलाउन विन्डोज लाइसेन्स वा प्रडक्ट की चाहिन्छ ।   पाइरेटेड विन्डोज प्रयोग गर्नुभएको छ भने पछि समस्या आउनसक्छ ।

यता लिनक्स चाहिँ पूर्ण रूपमा ‘फ्री’ छ ।  जुनसुकै डिस्ट्रिब्युसन इन्टरनेटबाट डाउनलाेड गरेर चलाउन सक्नुहुन्छ । लाइसेन्स र प्रडक्ट ‘की’ को कुनै समस्या हुँदैन ।

विन्डोजमा  प्राइमेरी ‘की’ बाट  मात्र बुटिंग (Booting) हुन्छ  भने लिनक्समा जुनसुकै डिस्कबाट बुट गर्न सकिन्छ ।  

पर्फर्मेन्स

लिनक्स लाइटवेट हुनुका साथै विन्डोजको तुलनामा कम रिसोर्स प्रयोग गर्छ । यससँगै विन्डोजभन्दा लिनक्सको स्पिड बढी नै हुन्छ । ओपनसोर्स भएको हुनाले  लिनक्सका ड्राइभरहरु बजारमा सजिलै पाउन सकिँदैन भने विन्डोजको ड्राइभर सजिलै उपलब्ध हुन्छ ।  

डिस्ट्रिब्युसन

विन्डाेजमा तपाईँले लिनक्समा जस्तो डिस्ट्रिब्युसन पाउनुहुन्न । माइक्रोसफ्ट आफैंले समय समयमा विण्डोज अपडेट गर्ने र नयाँ भर्सन रिलिज गर्ने गर्छ।  विन्डोज ११ सबैभन्दा पछिल्लो विन्डाेज भर्सन हो ।

लिनक्स भने ओपनसोर्स भएको हुनाले जो सुकैले कोड मोडिफाई गरेर नयाँ डिस्ट्रिब्युसन निकाल्न सक्छन् । सबै डिस्ट्रिब्युसन चलाएर लिनक्सको मज्जा लिन सक्नुहुन्छ ।

फेडोरा, आर्क्क लिनक्स, कुबुन्टू, उबुन्टु मेट, प्यारोट ओएसजस्ता जुनसुकै लिनक्स डिस्ट्रिब्युसन इन्टरनेटबाट डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ ।  

सेक्युरिटी  

विन्डाेजमा माल्वेयर आक्रमण हुने सम्भावना लिनक्समा भन्दा निकै बढी छ । लाइसेन्स सफ्टवेयर भएको हुनाले सोर्स कोडमा  सीमित वर्गको मात्र पहुँच हुन्छ । विन्डोजमा डिभाइस सुरक्षित राख्न छुट्टै एन्टीभाइरस राख्नपर्ने हुन्छ ।

ओपनसोर्स भएको हुनाले लिनक्सको कोड सबै डेभलपरलाई खुल्ला हुन्छ, जसकारण सबै डेभलपरले सानोभन्दा सानो सेक्युरिटी बग पनि पत्ता लगाएर समाधान गर्छन् ।  

ग्राफिकल युजर इन्टरफेस(GUI)

युजर इन्टरफेसको कुरा गर्नुपर्दा विन्डोज लिनक्सभन्दा निकै अघि छ । अत्यन्तै सजिलो युआई भएको हुनाले सबैले चलाउन सक्छन् ।  विन्डोज चलाउन कुनै प्रोग्रामिङ ज्ञान आवश्यक पर्दैन ।

सबै फाइललाई सजिलै एक्सेस गरेर अफिस प्रडक्टको अधिकतम उपयोग निकाल्न सक्नुहुन्छ । लिनक्सले विन्डोजमा जस्तो युआईमा सहजता उपलब्ध गराउँदैन । सबैकुरा टर्मिनलमार्फत गरिने भएको हुनाले अलि अलि कोडिङ कन्सेप्ट आवश्यक पर्छ ।

प्रयोगमा सहजता 

सहजताको हिसाबले हेर्दा विन्डोज लिनक्सभन्दा निकै अघि छ । विन्डोजले राम्रो  युजर एक्स्पेरियन्स दिन्छ । नेभिगेसन र लेआउट विन्डोज अपरेटिङ सिस्टममा निकै सजिलो छ । सबैजसो कन्ट्रोल प्यानल टास्क विन्डोज सेटिङबाटै म्यानेज गर्न सकिन्छ ।  

निष्कर्ष 

दुवै अपरेटिङ सिस्टमको आ-आफ्नै लक्षित बजार छ । विन्डोज व्यवसाय र आफिस प्रयोजनमा जहाँ पनि प्रयोग हुन्छ । अफिस प्याकेजमा भएको सहजताका कारण व्यावसायिक प्रयोजनका लागि विन्डोज अरु सबै अपरेटिङ सिस्टमभन्दा अघि छ ।  

अर्काेतिर सबै प्रोग्रामरको पहिलो रोजाइ बनेको छ, लिनक्स अपरेटिङ सिस्टम । सुरक्षित र भरपर्दो भएको हुनाले धेरै आईटी प्रोफेसनलहरू लिनक्स रुचाउँछन् । कस्टुमाइजेसनमा पनि निकै फ्लेक्जिबिलिटी छ ।

उबुन्टु २२ ०४ नयाँ एलटीएससँगै यूआई पनि निकै सुधार भएको छ । तपाईँले एकपटक लिनक्सका वीट (Wit), ग्रीप(Grip) जस्ता कुरा चलाउन सिकेपछि प्रोग्रामिङमा निकै सुधार आउँछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२