close

नेपालमा सिमकार्ड अभाव हुनसक्ने, यस्तो छ कारण

टेकपाना टेकपाना

बैशाख २२, २०७९ १३:३०

नेपालमा सिमकार्ड अभाव हुनसक्ने, यस्तो छ कारण

काठमाडौं । कोभिड-१९ सँगै विश्वबजारमा देखिएको चिप अभावको असर नेपालमा पनि देखिन थालेको छ । चिप अभावले पछिल्लो दुई वर्षमा इलेक्ट्रिक उत्पादन, दूरसञ्चार र अटो क्षेत्रमा सबैभन्दा ठूलो प्रभाव पारेको छ ।

मोबाइल निर्माता कम्पनी सामसङ, एप्पलजस्ता कम्पनीले यसअघिका वर्षहरूको तुलनामा मोबाइल उत्पादन नै कम गरिरहेका छन् । इलेक्ट्रिक गाडीको उत्पादन कम हुँदा बजारको मागलाई धान्न नसक्ने अवस्था भइरहेको छ ।

नेपालमै कतिपय ब्राण्डका इलेक्ट्रिक गाडीको माग अनुसार आपूर्ति हुन नसकेको अवस्था छ । त्यस्तै अवस्था अब सीमकार्डमा समेत आउनसक्ने देखिएको छ । विश्व बजारमा देखिएको चिप अभावका कारण सिमकार्डको उत्पादन र आपूर्तिमा पुरानो अवस्था नरहेको पाइएको छ ।

नेपाल टेलिकमका अनुसार पछिल्लो केही समययता सिमकार्ड आयातमा असर परिरहेको छ । ‘पछिल्लो समयमा मागभन्दा आपूर्ति कम भएको छ,’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने, ‘सिमकार्ड ल्याउँदा लाग्ने लागत पनि उल्लेख्य वृद्धि भएको छ । भने, प्रक्रिया पनि झन्झटिलो भएको छ ।’

उनले दुरसञ्चारका धेरै सेवामा चिप अभावको असर देखिएको बताएका छन् । सिमकार्डसँगै फाइबर इन्टरनेटतर्फ ग्राहकको घरमा राखिने राउटरमा समेत असर परिरहेको बताए ।

‘हालसम्म सिमकार्ड आपूर्ति भइरहेको भएपनि पहिलो जस्तो सहज अवस्था भने छैन,’ अधिकारीले भने, ‘हामीले भर्खरैमात्र सिमकार्ड ल्याउनका लागि नयाँ टेण्डर खालेका छौं । त्यसमा यसअघि सिमकार्ड दिइरहेको कम्पनीले पनि चिप अभावले असर पारेको भनीरहेका छन् ।’

यही अवस्था अझ थप केही समयसम्म कायम रहने हो भने सिमकार्ड अभाव हुन सक्ने अवस्था सिर्जना हुनसक्ने समेत बताएका छन् । हुन त अन्तराष्ट्रिय अध्ययनले चिप अभाव अझैपनि केही वर्षसम्म कायम रहेको बताएका छन् । त्यो हिसाबले आगामी दिनमा नेपालमा सिमकार्ड अभाव हुनसक्ने आँकलन गरिएको छ ।    ​​​​​​​

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२