close

साना-ठूला व्यवसायलाई सघाउन जन्मिएको स्टार्टअप

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख २२, २०७९ १७:९

साना-ठूला व्यवसायलाई सघाउन जन्मिएको स्टार्टअप

काठमाडौं । समस्या र चुनौतीसँगै नयाँ-नयाँ अवसर जन्मिन्छन् । तर चुनौतीसँग जुधी यसलाई अवसरमा परिणत गर्ने आँट र साहस सबैसँग हुँदैन । प्रविधिले बदलेको यो दुनियाँमा मानिसको सोच पनि आधुनिक हुन जरूरी छ । व्यावसायिक सपना देख्ने नवपिँढीका लागि त झन् यो कुरा अनिवार्य नै भइसकेको छ ।

आज हामी सूचना प्रविधिमा आधारित रहेर उद्यमशीलता सुरू गर्ने ‘पसल’बारे चर्चा गर्दैछौं । वास्तवमा हामीले कुरा गर्न लागेको पसल एक ईकमर्स कम्पनी हो । २१ वर्षीय युवा सविन श्रेष्ठले यो ‘पसल’ हाँकिरहेका छन् ।

सानै उमेरमा विभिन्न व्यवसायको अनुभव सँगालेका श्रेष्ठले पाँच वर्षअघि कम्पनी सुरू गरेका हुन् । उनको व्यावसायिक सोचलाई मूर्तरूप दिन अनिल श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, सुसन नगरकोटी लगायतले साथ दिए ।

वास्तवमा स्कुल पढ्ने बेलादेखि नै सविनलाई सामाजिक सञ्जालमार्फत व्यवसाय गर्ने सोच पलाएको थियो । डिजिटल बजारको अभ्यास बढिरहँदा नयाँ किसिमले व्यवसाय गर्नुपर्छ भन्ने चेतना उनमा थियाे ।

त्यसपछि साथीहरू आशिष पोखरेल र सायक खनालको सहयोगमा वेबसाइट डिजाइन सिक्न थाले । अनि आफैंले ई-कमर्श साइट बनाउन थाले ।

उनले यसअघि केही ठाउँमा काम गरे, जसको नामपछाडि पसल थियो । त्यसैबाट प्रभावित भई उनले आफ्नो ई-कमर्शको नाम ‘पसल’ राखे ।

पाँच वर्षको अवधिमा उनले पसल ईकमर्सलाई थप परिस्कृत र व्यावसायिक बनाएका छन् । बिक्रेता र क्रेताबीचको अनलाइन मार्केटप्लेस बनेको पसलले छोटो अवधिमै सन्तोषजनक सफलता पाएको छ ।

साथै कम्पनीले हालै ‘पसल’ नामकै स्टक म्यानेजमेन्ट सिस्टम (एसएमएस) पनि बजारमा ल्याएको छ ।

‘मैले विभिन्न ठाउँमा काम गर्दै जाँदा त्यहाँ व्यवस्थापनको सन्दर्भमा धेरै समस्या देखेँ । व्यवसायमा हुने नाफा/घाटाको कुरा, खरिद-बिक्री गरेका सामानको जानकारी राख्न समस्या भएको पाएँ । त्यसैलाई वैज्ञानिक तरिकाबाट समाधान गर्न पसल एसएमएस सुरुवात गरेँ,’ उनले सुनाए ।

पसल एसएमएसका माध्यमबाट कुनै पनि साना-ठूला व्यवसायलाई वैज्ञानिक र व्यवस्थित तरिकाले व्यवस्थापन गर्न सहज हुने सविन बताउँछन् ।

उनका अनुसार यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो व्यवसायको दैनिक वा मासिक रिपोर्ट राख्नसक्छन् । साथै स्टक एनालाइसिस, बिजनेस समरी, स्क्यान गरी इन्ट्री गरेको बिल सर्च गर्ने आदि सुविधा रहेकाले ठूलाभन्दा ठूला व्यवसायमा व्यवस्थापनका सन्दर्भमा आउने त्रुटिलाई निराकरण गर्न सकिने उनी बताउँछन् ।

सेवाले पारेकाे प्रभाव

सविनले ई-कमर्सका लागि २०१७ मा पसल वेबसाइट प्रालि दर्ता गरेका थिए । उनले अन्य व्यक्तिलाई सहज होस् भन्ने हेतुले खरिद तथा बिक्री प्लेटफर्मका रूपमा पसल स्थापना गरेको बताउँछन् ।

यसका माध्यमबाट बिक्रेताले सामानहरू लिस्टिङ गरी बिक्री गर्न सक्छन् भने क्रेताले आफूलाई आवश्यक सामग्री खरिद गर्न सक्छन् ।

डेलीभरीको सन्दर्भमा भने त्यो खरिदकर्ता र बिक्रीकर्तामा निर्भर पर्छ । बिक्रीकर्ता आफैंले सामान डेलीभरी गरिदिन सक्छन् भने आवश्यक परेको खण्डमा कम्पनीमार्फत पनि डेलीभरी हुनसक्छ ।

यसमा हालसम्म २५ भन्दा बढी व्यवसायी जोडिएका छन् भने पाँच हजारभन्दा बढीले सामान खरिद गरिसकेकाे उनले जानकारी दिए ।

‘पसल स्टक म्यानेजमेन्ट सिस्टम’ सार्वजनिक भएको केही समयमा नै यसमा २० बढी ग्राहक जोडिसकेको पनि उनले जानकारी दिए ।

यो सिस्टमले व्यवसायको व्यवस्थापन सहज शैलीले गर्न सघाउने उनको दावी छ ।

कसरी दिइरहेको छ सेवा ?

‘पसल’ पूर्ण रूपमा सेवाका लागि सिर्जना गरेको सविन बताउँछन् । ‘पसल’मा व्यवसायीले आफ्नो व्यवसाय निःशुल्क दर्ता गर्न सक्छन् भने सेवा पनि निःशुल्क लिन सक्छन् ।

त्यस्तै खरिदकर्ताले सहजै आफूलाई आवश्यक सामग्री सुलभ दरमा किन्न सक्छन् । यसबाट व्यवसायीलाई आफ्नो व्यवसाय प्रविधिको प्रयोग गरी अगाडि बढाउन सकिने सविन बताउँछन् ।

त्यस्तै पसल स्टक मेनेजमेन्ट सिस्टम अर्थात पसल एसएमएम विशेषगरी व्यवसायीलाई आफ्नो व्यवसाय व्यवस्थापन गर्न सघाउने सफ्टवेयर हो । यसमा भने प्रयोगकर्ताले केही शुल्क तिर्नुपर्ने हुन्छ ।

सफ्टवेयर खरिद गर्न प्रयोगकर्ताले सुरुवातमा २० हजार शुल्क तिर्नुपर्छ । त्यसपछि वर्षैपिच्छे सेवाअनुसार तीनदेखि पाँच हजारसम्म तिरेर सफ्टवेयरको लाइसेन्स नवीकरण गर्न सकिन्छ ।

एप र सफ्टवेर दुवैमा उपलब्ध भएकाले यसलाई प्रयोगकर्ताले मोबाइल वा कम्प्युटर दुवैबाट प्रयोग गर्न सक्छन् । 

किन ‘पसल’ नै ?

सानो ठाउँमा सीमित भएका व्यवसायीले हामसँग जोडिएर देशव्यापी व्यवसाय विस्तार गर्न सक्नुहुन्छ । यसमा व्यवसायीहरूले आफ्नो व्यवसाय निःशुल्क अनलाइनमार्फत अगाडि बढाउन सक्छन्,‘ सविन भन्छन् ।

कुनै पनि एप वा साइट आफैंले बनाउनपर्‍यो भने त्यसमा लाखौं लगानी गर्नुपर्ने हुन्छ । अझ विज्ञापन गरेर व्यवसाय प्रवर्द्धन गर्दा लगानी धेरै आवश्यक हुन्छ । यी सबै निःशुल्क गर्न ‘पसल’ निकै सहयोगी हुने सविन बताउँछन् ।

त्यस्तै पसल एसएमएसका माध्यमबाट आफ्नो व्यवसाय वैज्ञानिक र व्यवस्थित तरिकाले व्यवस्थापन गर्न सकिन्छ । यसमा भएका विभिन्न फिचरहरू जस्तै सामानको हिसाबकिताब, नगद उधारो कारोबारको हिसाब राख्ने, पसलमा कमी भएका कुरा नोट गर्ने, आय व्ययका रिपोर्ट राख्न सकिन्छ ।

यसका माध्यमबाट आफ्नो व्यवसायले दैनिक, साप्ताहिक, मासिक र वार्षिक रूपमा कस्तो प्रगति गर्दैछ भन्ने कुरा सहजै निकाल्न सकिन्छ । यसबाट आफ्नो व्यवसाय कुन दिशातर्फ गएको छ भन्ने कुरा विश्लेषण गरी त्यसमा सकारात्मक परिवर्तन ल्याउन सकिने श्रेष्ठ बताउँछन् ।

मानिसलाई प्रविधिसँग जोड्ने अभियान

मानिसहरू अहिले प्रविधिसँगै धेरै नजिकिएका छन् । हरेकसँग मोबाइल फोन र कम्प्युटर छ । आफ्नो व्यवासयलाई प्रविधिसँग जोड्ने चाहना हरेकको हुन्छ । तर, सीपको कमी र नयाँ काममा जोखिम धेरै हुने भएकाले आफ्नो व्यवसाय परम्परागत तरिकाले गर्न बाध्य छन् ।

आफ्ना व्यवसायलाई निःशुल्क अनलाइन प्रविधितर्फ जोडेर समयसँगै अघि बढ्न सघाउने ‘पसल’को प्रतिबद्धता रहेको सविन बताउँछन् ।

त्यस्तै पसल एसएमएसका माध्यमबाट मानिसहरूले आफ्नो व्यवसायमा परम्परागत तरिकाले हिसाबकिताब राख्दा हुने जोखिमलाई कम गर्न सकिन्छ । आफ्नो व्यवसायलाई वैज्ञानिक तरिकाले अगाडि बढाउँदा ठूला-ठूला व्यवसायमा हुने आर्थिक हिनामिना कम गर्न सकिने सविनको भनाइ छ ।

मानिसहरूले सहजै आफ्नो फोन र ल्याप्टपबाट व्यवसायमा हुने सम्पूर्ण गतिविधिको जानकारी राख्न सक्छन् ।

चुनौती र आगामी योजना

प्रविधिमा मानिसहरूको आकर्षण तीव्र भएपनि विभिन्न कारणले गर्दा नयाँ स्टार्टअपलाई आत्मसाथ गर्न सकेका हुँदैनन् । आफूले त्यसमा अझ बढी काम गर्‍यो भने धेरैमाझ पुर्याउन सकिने उनको बुझाइ छ ।

त्यसबाहेक अर्को पक्ष हो लगानीको अभाव । लगानी कम हुँदा उत्पादनको लागत बढी पर्न जान्छ । पसलको स्टक म्यानेजमेन्ट सिस्टम साधारण व्यसायीका लागि महङ्गो छ । त्यसैले लगानी बढाउन सकियो भने त्यसलाई अझ सस्तो दरमा उपलब्ध गराउन सकिने उनी बताउँछन् ।

परम्परागत विधिलाई विस्थापित गरेर जोखिम न्यूनीकरण गर्न सञ्चालनमा आएको ‘पसल एसएमएसमा’ मानिसहरूको आवश्यकतालाई मध्यनजर गर्दै त्यसमा आवश्यक फिचरहरू बढाउँदै जाने श्रेष्ठको योजना छ । ‘साथै आफूले गरेका काममा भएका कमी-कमजोरीलाई सुधार्दै अझ प्रभावकारी रूपमा सेवा उपलब्ध गराउनेतर्फ ध्यान दिनेछु,’ उनले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२